धेरै दर्शनविज्ञको छ मत यो – सोचाइ होस् शोभन
राम्रो सोच लिएर नै मनुजको चोला हुने कञ्चन
सोही माफिक हे सखी ! कुटिलता, ईष्र्या, फुटानी तजी
हामी जानु छ मुक्तिको शिखरमा विश्वेशलाई भजी ।।
यो संसार सुरम्य पार्नुछ प्रिये ! राम्रो बनाऔँ जुनी
आफै भित्र हुने लवालव दया दाक्षिण्य मायाँ चुनी
आफै बाट उता सरोस् सहृदयी सद्भावना हर्हर
भित्री सुन्दरता बुझौँ र पहिले हामी बनौँ सुन्दर ।।
कोही हिँड्छ बटारिएर, उसमा सोचाइ फेरे भयो
कोही आउँछ बम्किँदै उसतिरै हेर्दै नहेरे भयो
कोही प्यार जताउला उससितै साभार बोले भयो
बोल्ने शब्द जुरेन, त्यो समयमा मुस्कान खोले भयो ।।
खस्रो बोल्नुपर्यो भने पनि उही खस्रो कुरामा पनि
राखौँ मङ्गल भावना अनि चलोस् त्यो फेरि साँचो बनी
ऐले चित्त दुखेर के ? पछि खुसी होलान् भलो पाउँदा
तीतो नीम छ किन्तु हुन्न र त्यहाँ के औषधी मौजुदा ? ।।
अर्कामा पिर पारिएछ कि भनी फर्केर हेरौँ पछि
बन्दै स्निग्ध मिठासयुक्त नउनी फर्केर हेरौँ पछि
गर्नै पर्छ विवेकवान् मनुजले आफ्नो परीक्षा स्वयम्
आत्मा नै गुरु मानिएपछि लिऔँ त्यै बाट दीक्षा स्वयम् ।।
हाम्रो सुन्दर सो चले स्वजनमा सद्भावना आउला
त्यस्तै भाव फिँजारिएर भवमा आनन्द सर्साउला
आत्मा हो सबमा हुने हृदयको चैतन्य सत्ता भने
हाम्रो उच्च विचारले पनि उही अस्तित्वलाई छुने ।।
होला बाउँडिने परिस्थिति, कथा अर्कै बनी आउला
आफ्ना व्यक्ति बिभिन्डिएर घटना चर्कै बनी आउला
त्यो वेला पनि धैर्यधारण गरौँ चिम्लेर आँखा सखी !
मान्छे हुन्छ सुखी उही जुन सदा होला स्वयं – पारखी ।।
अर्काको कुभलो हुने विषयमा कैल्यै गएनौं दुवै
वैरीको मतमा गई स्वजनको वैरी भएनौ दुवै
हाम्रो यो मतमा विभाजित भई कोही निकाल्लान् ढुसी
हामी ढुक्क भई विवेकपथमा लागी कमाऔँ खुसी ।।
चाहे पैदल नै चलौं कि बसमा यद्वा नभोयानमा
चाहे यो घरमा रहौं कि अथवा एकान्त उद्यानमा
जाऔं बैठकमा कि भोजघरमा, राम्रो बनाऔँ दिल
जस्तै वृक्ष हओस् वसन्त ऋतुमा बोल्ला मिठो कोकिल ।।
प्रतिक्रिया दिनुहोस्: