साहित्य
१. आउन त आयौ हालखबर बुझे र फर्क्यौ
एकैछिनको साथ माग्दा पनि झनक्क झर्क्यौ
पहिला छहारी भएर शीतल दिने तिमी
अहिले उखरमाउलो गर्मी भएरचर्क्यौ
२. लुकाउँदै पिर व्यथा सन्तानका सामु हाँस्न सक्ने
कहिल्यै नचुडिने गरी प्रीतिको डोरी गाँस्न सक्ने
बुबाआमा जस्ता त कोही भेटिन्नन् यस संसारमा
मन दुखाइदिँदा नि मायाले छातीमा टाँस्न सक्ने ।
३. लाटो सोझो भई बाँच्दा फूलले नि घोच्दो रै’छ
अभागीको भाग्य लेख्दा विधाता नि सोच्दो रै’छ
अरूको त के कुरा गरीसाध्य छ र हजुर !
कागको गुँडमा कोइलीले फुल कोच्दो रै’छ ।
४. आफू पन्छिन अरूलाई घान हाल्नेहरूलाई
ठुला कुरा गर्दै निर्धोको मुख टाल्नेहरूलाई
बोल्नेको मात्रै त कुराको सुनुवाइ भएपछि
के भन्नु र खै मनमा कपट पाल्नेहरूलाई ।
प्रतिक्रिया दिनुहोस्: