कविता

झरना

२५ भाद्र २०८१
ड़ा. दामोदर पुडासैनी किशोर

जिन्दगी हो
सधैँ शिखरमा मात्र बसिरहन कहाँ पाइन्छ
कहिलेकहीँ झर्नुपर्छ
झर्नुको अर्थ स्थिर रहिरहनुपनि त होइन।

फैलनुछ सागरसम्म
उडदै उडदै भेट्नुछ पुन: पहाडकै उचाईलाई
म त
झर्नेबेलामा इज्जतसाथ झर्छु
पहाडहरूमा सुन्दर कविता कोर्दै झर्छु।

म एक्कासी फाल हालेको बेला
ठान्यौ होला अब यो सकियो !

म ओर्लनुको अर्थ
आकाश बनेर अग्लिनु हो
वायु बनेर फैलिनु हो।

आक्रोश फाल्न चाहन्छु
चिच्याउँन चाहन्छु सुनाउँन संसारलाई
झर्न त को झरेको छैन यो संसारमा
जो झर्छ उही जुरूक्क उठ्छ धर्तीबाट
नझर्नेहरू उठ्न र ब्युँतन सक्तैनन्।

म झरेको देखेर
तिमी मुस्कुराउँदै हेरिरहेछौ
तिम्रो र मेरो मुस्कान च्यापेर
गीत गुनगुनाउँदै कुदिरहेछु संसार जित्न।

आऊ
सँगै झरौँ
सँगै उक्लौँला सबैभन्दा उचाईमा।

२०८१ भाद्र २२ शुक्रवार

प्रतिक्रिया दिनुहोस्: