इडन ब्रिजमा बालदिवस र स्रष्टा सम्मान

३० भाद्र २०८१

काठमाडौं, भदौ २८ गते शुक्रबार । इडन ब्रिज एकेडेमी, टोखा-४, धापासीले ६० औँ राष्ट्रिय बालदिवसको उपलक्ष्यमा विविध साँस्कृतिक कार्यक्रमहरूका साथ आन्तरिक तथा बाह्य प्रतिस्पर्धाहरूमा विजयी विद्यार्थीहरूलाई प्रमाण-पत्र तथा तक्मा (मेडल) प्रदान गर्नुको साथै साहित्यिक स्रष्टाहरूलाई सम्मान तथा अभिनन्दन गरेको छ ।


शिक्षा विकास समन्वय एकाइ, काठमाडौंका प्रमुख विचारीप्रसाद अधिकारीको प्रमुख आतिथ्य र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको विशेष अतिथिहरूमा प्रिन्सिपल प्रेमकुमार राई, प्याब्सन काठमाडौंका उपाध्यक्ष सूर्यबहादुर भण्डारी, साहित्यकार गङ्गा कर्माचार्य पौडेल, साहित्यकार/पत्रकार उमेश पाण्डे रहनुभएको थियो । त्यसैगरी अतिथिहरूमा टोखा नगरपालिका वडा नं.४ का सदस्यहरू सरोज ठकुरी, ताराबहादुर थापा र अम्बिका आचार्य, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू मौसम राई र चिरञ्जीवी अधिकारीलगायत पत्रकार, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अधिकारीले विद्यालयले गर्ने यस्ता बालदिवसहरूको अत्यन्त महत्व रहने चर्चा गर्दै विद्यालयमा बालबालिकाहरूले पढ्न पाउने अधिकारको सुनिश्चित हुने, अभिभावकले विद्यार्थीहरूलाई गर्ने व्यवहारको मूल्याङ्कन हुने, बालमनोविज्ञानलाई ध्यानमा राखेर कक्षा कोठा सहजिकरण हुने, विद्यालयको भौतिक संरचना बालसुलभ हुने, विद्यार्थीहरूको फरक क्षमताको सम्मान हुने, विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटनमा टेका पुर्‍याउने स्थान भनेको विद्यालय हो, भन्नुभयो । उहाँले विद्यालयले साहित्यको विकास र बालबालिकाको अधिकार र हित संरक्षणमा लामो समयदेखि निरन्तर कलम चलाउँदै आउनुभएका दुईजना साहित्यकारहरूलाई उच्च सम्मानको साथ जुन सम्मान र कदर गरेको छ, त्यसको लागि सम्मानित स्रष्टाहरूप्रति म हार्दिक आभार व्यक्त गर्दछु, भन्नुभयो ।


कार्यक्रमका विशेष अतिथि प्याब्सन, काठमाडौंका उपाध्यक्ष सूर्य भण्डारीले यो बालबालिकाहरूलाई सम्झने महत्वपूणर् दिन हो, यो दिन बालबालिकाहरूलाई सम्मान गर्ने दिन पनि हो, भन्नुहुँदै यो टोखाको मात्र नभै काठमाडौंकै उत्कृष्ट विद्यालय, यसले काठमाडौंभित्रका हरेक गतिविधि र प्रतिस्पर्धामा उत्कृष्ट नतिजा ल्याउने र चर्चाको विषय बन्ने गरेको छ, भन्ने बताउनुभयो । भण्डारीले विद्यालयको सामूहिक प्रयासले यो प्रगति सम्भव भएको हो र आज विद्यालयको शिर उँचो भएको छ, भन्नुभयो । यस विद्यालयका प्रिन्सिपल तथा प्याब्सन काठमाडौंका अध्यक्ष कवि साहित्यकार प्रेम राई सर विद्यालयको व्यवस्थापनमा मात्र हैन सङ्गठनको नेतृत्व र सम्मान जनक भूमिकामा उहाँ अब्बल ठहरिनुभएको छ, विशेष अतिथि भण्डारीले भन्नुभयो ।


कार्यक्रममा उपस्थित अतिथिहरूको स्वागत गर्दै प्रिन्सिपल प्रेम कुमार राईले विद्यालयका विभिन्न गतिविधिका बारेमा समेत प्रकाश पार्नुभएको थियो । उहाँले विद्यालयले धेरै प्रतिस्पर्धाहरूमा सहभागिता जनाएर अब्बल र उच्च नतिजाहरू प्राप्त गरिरहेको छ, यो हाम्रो मात्र नभएर सम्पूणर् अभिभावक, टोखा नगरपालिका वडा नं.४ र सिङ्गो टोखा नगरपालिकाकै गौरवको विषय हो भन्नुभयो । यस विद्यालयले विद्यार्थीहरूको सर्वाङ्गीण विकासको लागि गरेको लगानी सायदै अन्य विद्यालयहरूमा भेटिन्छन्, प्रिन्सिपल राईले भन्नुभयो । उहाँले विद्यालयले मन फुकाएर गरको लगानीले नै विद्यार्थीहरूले पनि त्यही अनुसारको नतिजाले ल्याउन सफल भएका हुन्, भन्ने बताउनुभयो ।


कार्यक्रममा सम्मानित स्रष्टा बालसाहित्यकार गङ्गा कर्माचार्य पौडेलले विद्यालयले स्रष्टाहरूलाई सम्मान गर्नुभनेको विद्यालय आफै सम्मानित हुनु पनि हो, भन्दै आफ्नो सिर्जना सुनाउनुभएको थियो ।


कार्यक्रममा विद्यालयले आआफ्नो साँस्कृतिक भेषभूषामा सुसज्जित विद्यार्थीहरूलाई स्टेसनरी र मिठाई वितरण गरेको थियो । प्रमूख अतिथिबाट केक काटेर कार्यक्रम शुभारम्भ गरिएको थियो । २०८१ वैशाखदेखि भदौ महिनासम्म विभिन्न अन्तरसदन प्रतियोगिताहरूमा विजय तथा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई मेडल र प्रमाण-पत्र प्रदान गरिएको थियो ।


इडन ब्रिज एकेडेमीले हरेक वर्ष बालसाहित्यमा विशेष योगदान पुर्‍याउने स्रष्टाहरूलाई सम्मान गर्दै आइरहेकोमा यस वर्ष वरिष्ठ साहित्यकार गङ्गा कर्माचार्य पौडेललाई ‘इडन ब्रिज साहित्य रत्न सम्मान’ र साहित्यकार/पत्रकार उमेश पाण्डेलाई ‘इडन ब्रिज साहित्यिक पत्रकारिता सम्मान’ समर्पण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्: