नयाँघरेको १९औँ कृति ‘आगोको बीउ’

३१ भाद्र २०८१

काठमाडौं, २८ भदौ २०८१ । निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको आगोको बीउ निबन्ध संग्रह बजारमा आएको छ । यो उनको १९औं कृति हो । यस अघि उनका ९ वटा नियात्रा संग्रह र १० वटा निबन्धका कृति आएका छन् ।

नेपाली समाजको उपेक्षित पाटोलाई आफ्नो निबन्धको भावभूमि बनाउने नयाँघरे झर्रा, ठेट र नेपाली मौलिक चरित्र र चित्र खिच्न निकै पोख्त मानिन्न्छ । यस अघि २०६५ सालमा आत्मपरक निबन्ध संग्रह ‘एक हातको ताली’ मा उनले मदन पुरस्कार पाएका थिए । त्यसको करिब १५ वर्षपछि उनले आफ्नो आत्मपरक शैलीलाई अझ परिस्कार र परिमार्जनका साथ ‘आगोको बीउ’ प्रकाशनमा ल्याएका छन् ।

आफूलाई निबन्ध र नियात्रा लेखनमा समानान्तर रुपमा उभ्याउने नयाँघरे नयाँ शैल्पिक लेखन र कथ्य कलामा विशेष छवि बनाएका लेखकका रूपमा परिचित छन् । ‘आगोको बीउ’ बारे उनले बताए, ‘समाजमा हरेक क्षेत्र अन्यौल, असहिष्णु र अस्तव्यस्त भएको छ । त्यसकै अन्तरमनलाई पर्गेलेर मैले यी निबन्धहरू रचना गरेको हुँ ।’
२६ वटा आत्मपरक निबन्धहरू समावेश यस संग्रहमा समालोचक कुमारी लामाले भनेकी छिन्, ‘नयाँघरे नेपाली निबन्धलाई एउटा शालिन र उचाई दिने बलियो निबन्धकार हुन् ।’

निबन्ध लेखेरै आफ्नो भिन्न पहिचान र चरित्र बनाएका नयाँघरेको यो सङ्ग्रह रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको हो । प्रकाशनले भनेको छ, ‘नयाँघरे पाठकले रुचाइएका र अधिक खोजी गरिने निबन्धकार हुन् । उनी भाषाको नयाँ चमक र समाज, संस्कृति चिनाउने सधैँ उद्यत निबन्धकारका रूपमा स्थापित छन् ।’

प्रतिक्रिया दिनुहोस्: