अनि पो आउँथ्यो दशैं

८ आश्विन २०८१
तारा केसी

संस्मरण-

शरद्ऋतुको आगमनसँगै रामलाल काकाका जोईपोइ पिठ्युँमा हातेकल बोकेर ‘च्याने खोला’ तर्थे । र खेतको बाटो हुँदै गाउँ पस्थे । अनि दशैं आए जस्तो लाग्थ्यो हामी केटाकेटीहरूलाई । नयाँ लुगा लाउने रहरमा अनुहारभरि खुशी फुल्थ्यो ।

रामलाल काका आएपछि आमाले आँगनमा ठूलो सुकुल हालिदिनुहुन्थ्यो । त्यही सुकुलमा बसेर उनीहरू लुगा सिलाउँँथे । उनीहरू बिहानको खाना, खाजा हाम्रै घरमा खान्थे । बेलुकालाई भनेर आमाले चामल, तरकारी दिनुहुन्थ्यो । आमाले दिएको चामल तरकारी उनीहरू रूमालमा पोको पारेर लान्थे । अरू घरको पनि यस्तै नियम थियो ।

अहिले हामी बजारबाट किनेर रेडिमेन्ट लुगा लगाउँछौँ । बूटिकमा गएर राम्राराम्रा डिजाइनका लुगा सिलाएर लाउँछौँ । त्यतिबेला दर्जीले बाहेक अरूले लुगाँ सिलाउँदैनथे । उनीहरूलाई दशैं आउँदा भ्याइनभ्याइ हुन्थ्यो । बजारबाट थानको लुगा किनेर सिलाउनु पर्थ्यो।

दर्जीले लुगा सिलाए बापत बिष्टहरूले बाली भर्नुपथ्र्यो वर्षमा । उनीहरू सिजनसिजनका बाली लिन आउँथे । धान, मकै, गहुँ लिएर जान्थे । बाले दशैंमा खसी काटेपछि रामलाल काकालाई केही मासु छुट्ट्याएर राखिदिनुहुन्थ्यो । ठूलेले भाँडा बनाउँथे । उनलाई खसीको गर्धन भाग राखिदिनुपर्थ्यो । उनी पनि वर्षमा बालीमा काम गर्थे । यस्ता भागहरू उठाउन अरू पनि आउँथे । वर्षभरि पानी, असिना, हुरी रोकेर बाली राम्रो बनाउँछन् र रेखदेख गर्छन् भनेर लामा दाइलाई पनि भाग छुट्ट्याइएको हुन्थ्यो । नाउ आउँथे हातखुट्टाको नङ् काट्न । हातखुट्टा राताम्मै पारेर रङ् लगाइदिन्थे । उनलाई पनि भाग दिनुपर्थ्यो । त्यतिखेर हाम्रा बाउबाजेले कृषि कर्मबाट धेरैलाई पालेका रहेछन् ।

म अहिले सम्झँदै छु, चालीसका दशकतिरका दशैंहरू । रामलाल काका घामताप्दै आँगनमा बसेर लुगाको नापो लिँदै काट्दै सिलाउँथे । उनकी श्रीमती उनले सिलाएको लुगामा खिप, टाँक हाल्ने, टाँक घर बुन्ने, तुना हाल्ने, कपडाको छेउ टिप्ने काम गर्थिन् । बेलाबेलामा उनीहरू हाँसीमज्जाका, सुखदुःखका कुराहरू गर्थे । उनीहरूको कुरामा साथ दिनुहुन्थ्यो आमा, हजुरआमाले ।

प्रायः जस्तो दशैंमा स्कुलको ड्रेस सिलाइदिन्थे । रामलाल काका घरभित्र पस्दैनथे । त्यस्तै दशैं ताका उनीहरूसित बसेर खाने भनेर भाइले रोएर हैरान बनायो । पछिसम्म पनि रामलाल काकाले जिस्काइरहे भाइलाई । त्यतिबेला छुवाछूत र उचनीचको विभेदले गाउँमा ठूलै पकट जमाएको थियो ।

दशैंको चपेटा धेरै हुने गर्थ्यो  गाउँमा । अहिले कम छ । अहिले सबै चीज बजारमा किन्न पाइन्छ । दुःख गर्नु पर्दैन । उहिले दशैंको लागि लत्ताकपडा, मर्मसला बजारबाट किनेर ल्याउनु पर्थ्योभने अरू सबै घरमै तयारी हुन्थ्यो ।

खसीको जोहो घरमै हुन्थ्यो । पुरानो धानको चामल कुटिन्थ्यो मिलमा लगेर । नयाँ धान काटेर, उसिनेर रातभरि पानी तारेपछि, बिहान झिसमिसमै उठेर गाउँभरिका आमा, भाउजू, दिदीहरू चिउरा कुट्न, तोरी पेल्न बनेपा शाल्मीकोमा जान्थे । मर्मसला जाँतोमा पिसेर राख्नुपर्थ्यो । यसरी दशैंमा खाने चीजको जोरजम्मा गरिन्थ्यो ।

शरद् ऋतुको याममा दशैंको सुगन्ध बोकेर प्रकृति मुस्कुराउँथ्यो । धानका बालाहरू झुल्थे खेतका गराहरूमा । पहेँलै भएर बारीभरि तोरी फुल्थे । नजाडो, नगर्मीको मौसम हुन्थ्यो त्यतिबेला । कृषि कर्म गर्नेलाई पनि त्यो समयमा फुर्सद मिल्थ्यो । देशविदेशबाट दशैं मनाउन घर फर्किनेहरूको घुइँचो लाग्थ्यो । मान्छेको चहलपहल बढ्थ्यो गाउँमा । अनि पो दशैं आउँथ्यो ।

वर्षा सकिएर सफा भएको वातावरणमा दशैंको आगमन । रातो माटो, कमेरोले चिटिक्क पारेर लिपेको घर । झ्यालमा एभरेडी ब्याट्री फुटाएर लगाएको कालो रङ्ग । आज पनि सम्झनामा आउँछ । रमाइलो त त्यतिबेलै रहेछ, अहिले व्यवहारले बोझिलो बनाएर थिचेको छ दशैंलाई ।

बाले मेरो लागि भनेर छुट्टै पिङ हालिदिनुभएको थियो, पिँढीको दलिनमा । बिहान उठ्ने बित्तिकै म पिङ खेल्न थाल्थेँ । चिसो हावाले कपाल फुर्रफुर्र पारेर उडाउँदै लान्थ्यो । आनन्द महसुस हुन्थ्यो । न कुनै चिन्ता, न कुनै डर ! आमाले दशैंलाई कुटेको चिउरामा तातो दूध हालेर ल्याइदिनुहुन्थ्यो । म पिङ खेल्थे, दूध चिउरा खान्थेँ । ती यादहरू मेटाउन कहिलेकाहीँ दूधचिउराको तल्तल लागेर आउँछ आज पनि । केटाकेटी भैदिन मन लाग्छ ।

बारीमा बसेर केटाहरू चङ्गा उडाउँथे । नीलो आकाश छुने रहरमा विभिन्न रङ्गका चङ्गाहरू उड्थे । आकाशतिर हेर्दै चङ्गा चेट भन्दै केटाकेटीहरू हल्ला पनि गर्थे ।

घटस्थापनाको दिन बिहान उठेर बाले पुण्यमतीमा स्नान गरेर खोलाको बालुवा ल्याउनुहुन्थ्यो । त्यही बालुवामा जौ, गहुँ मिसाएर जमरा राख्नुहुन्थ्यो र दिनुहुँ चण्डीपाठ गर्नुहुन्थ्यो । स्कुलहरूमा दशैंको बिदा हुन्थ्यो । स्कुल बिदा हुनुअघि स्कुलमा साथीहरू पोष्टकार्डमा विजयादशमीको शुभकामना लेखेर पोष्टकार्ड आदानप्रदान गरिन्थ्यो । अनि पो दशै आए झैँ लाग्थ्यो ।

फूलपातीको दिन बेलुका काठमाडौंबाट लगेको फूलपाती भित्राएपछि दशैं घरभित्रै आए झैँ लाग्थ्यो । त्यही दिन बाले चुरा लगाउन दिनुभएको पैसाले खड्पुमा गएर चुरा लगाउँथ्यौ हामी ।

अष्टमीको बिहान खड्कलामा पानी तताउँदै खसी काट्ने तरखरमा जुटेको हुन्थ्यो पूरैगाउँ । हिंसा र काटमार सानैदेखि मन नपर्ने भएर म मासु खाने थिइन । मलाई र हजुरआमाको लागि अरू नै तरकारी पाक्थ्यो भान्सामा ।

दशैंको रमाइलो पक्ष पिङ खेल्नु पनि हो । भीमसेन डाँडा र लाकुरीको बोटमा पिङ खेल्न जान्थ्यौँ । पसलमा लङ्गुरबुर्जा खेल्थ्यौँ । अनि पो आउँथ्यो दशैं ।

फूलपाती, अष्टमी, नवमी सकिएपछिको दिन विजयादशमी । बिहान मन्दिरहरूमा भीड लाग्थ्यो । नवदुर्गाको आराधना गरिन्थ्यो । रेडियोबाट शुम्भ, निशुम्भ बधको नाटक आउँथ्यो । रेडियोमा मालश्री धुन बज्न थालेपछि अनि केटाकेटी मनमा दशैं आएको महसुस हुन्थ्यो ।

विजयादशमीमा (टीकाको दिन) अबिर, अक्षता, दही राखेर दुर्गा भवानीको प्रसाद स्वरूप ठूलाबाट क्रमशः टीका लगाइन्थ्यो । हजुरआमाले सबैलाई टीका लगाएपछि, बाले टीका लगाइदिनुहुन्थ्यो । पुरूष र महिलालाई दिने आशिषको फरकफरक मंन्त्रहरू पढ्नुहुन्थ्यो बा ।

घरको टीका सकेर मामाघर, आफन्तहरूकोमा जाने आउँने क्रम सुरू हुन्थ्यो त्यसपछि । निधारमा रातो टीका, शिरमा जमरा लगाएर घुम्न खुव रमाइलो लाग्थ्यो । एकका, दुईका, पाँचका नोटहरू देखाउँदै हामी केटाकेटी पैसा कति भयो भनेर गन्न बस्थ्यौँ ।

दशैं तिहारको पैसा जम्मा पारेर स्कुलबाट लाने शैक्षिकभ्रमणमा खर्च गर्थें म । पछि ठूलो हुँदै जाँदा भने ती दक्षिणा पाएको पैसाबाट साहित्यिक कृति किनेर पढ्न थालेँ । पहिलो किताबचाहिँ मैले मुनामदन किनेको थिएँ । केही दिन स्कुलमा दशैंको पैसाले अमिलो तितौरा, भुटेको चना, बरफ खान पनि पुर्‍याउँथ्यौँ हामी ।

त्यो जुनेली रातमा अबेरसम्म पनि आफन्तहरू टीका लगाउन आउँथे । बाले सबैलाई टीका लगाएर आशीर्वाद दिनुहुन्थ्यो । मेरो बा गाउँको कान्छो मुखिया । सबैले आदर गर्थे । सम्मान गर्थे । घरमा मान्छेहरू आउँदा रमाइलो लाग्थ्यो मलाई ।
बारीभरि पहेँलै भएर तोरी फुलेको, खेतभरि पहेँलै भएर धानको बाला झुलेको । बिहान बेलुकाको चिसो हावामा बहेली खेल्नआउने बतास सम्झिँदा आज पनि मन उडेर चौकोट पुग्नेगर्छ ।

डप्फाडप्फामा विभाजन भएर गैरीगाउँबाट स्कुल जान झरेका विद्यार्थीहरू । आकासे रङ्गको शर्ट र नीलो फ्रक लगाएर दुईचुल्ठी रातो रिबनले कपाल बाँटेका ती साथीहरू । सम्झनाका तखताभरि जीवितै छन् ।

२०८१ सालको दशैंको आगमनमा छु । तर चालीसको दशकतिरको दशैं फेरिफर्केर जीवनमा कहिल्यै आएन ।

विजयादशमी तथा शुभदीपावली २०८१ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

पनौती, काभ्रे
हाल : टोखा-८, गोँगबुँ, काठमाडौँ

प्रतिक्रिया दिनुहोस्: