कविता

विजयादशमीको शुभउपलक्ष्यमा कालीमातालाई वन्दना

१३ आश्विन २०८१
Mukunda Sharma Chalise
मुकुन्द शर्मा चालिसे

म कालीमाताको पदकमलमा मुग्ध भुमरो
खरोले अत्यायो अनि नजिकमा आउनुपर्‍यो ।
चमेली-बेलीका वरिपरि नजाऊँ मनपरी
म आमाछेवैमा भुनभुन गरूँ जीवनभरि ॥१ ।

ललाटैमा टीका, मणिमुकुटमा चन्द्रशकल
गलामा हीराका असल गहना हार झलल
लगाएकी सारी रँगबिरँग पारी खुजमुजे
म काखैमा बस्दा जननि ! सजिएका मणि बजे ॥२।

भवानी माता हे ! स्तनयुगलको पान नमिले
फुल्याएको भाषासित मधुरमुस्कान नमिले
डुबोस् तिम्रो छोरो नयनसरिताको लहरमा
त्यसैमा झुल्कौली अमृतकर लाएर शिरमा ॥३।

कुनै हुन्छन् ढोँगी जुनिभर दरिद्री र दुखिया
कुनै बन्छन् भोगी गलत धन पाएर मुखिया
मलाई ता तिम्रो स्मरणभरि डुब्ने मन भयो
जहाँ तिम्रो आश्वासन र ममता बिम्बिन गयो ॥४।

कराली हे ! जिभ्रो लपलप निकाली गगनमा
जुधेकी पापीको रगत पनि थापी वदनमा
महाकाली भन्थे मकन त उज्याली बनिदियौ
अहो ! दायाँबायाँ मकन अति माया पनि दियौ ॥५।

प्रशंसा वा निन्दा फगत मनका भूलभरम
नराम्रो राम्रोको नजरपर सत्ता छ परम
म आफ्नै धन्दाको सुखमधुरिमाको वरणमा
उनै नित्यानन्दी अमर कविताको शरणमा ॥६।

कैलासकुञ्ज, भसन्थली
बूढानीलकण्ठ-४, काठमाडौं

प्रतिक्रिया दिनुहोस्: