
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (अनुवाद) विभाग र अनुवादक समाज नेपालको सहकार्यमा विश्व अनुवाद दिवसको अवसर पारेर ‘पाठ्यपुस्तक र पाठ्य सामग्रीमा अनुवादको प्रयोग’ विषयक अन्तर्क्रिया प्रतिष्ठानकै देवकोटा सभाकक्षमा आयोजना गरिएको थियोे ।
प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर अन्तर्क्रिया कार्यक्रमको समुद्घाटन गर्दै अनुवादको प्रभाव भाषाका पाठ्य पुस्तकको अध्ययन अध्यापनमा त्यतिकै रहेको छ र यो स्वयम् ज्ञान र सञ्चारको माध्यम हो ।कुनै पनि रैथाने भाषाभाषीमा अनुवादको माध्यमले प्राथमिक तहदेखि नै प्रभाव पारेको हुन्छ । यसको महत्त्वलाई सबैले स्वीकार्नु पर्ने बताउनु भएको थियोे।
प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले नेपालको अनुवाद विधासम्बन्धित नीतिको अभावमा अनुवादकार्य र पठनपाठनमा अन्योल परेको बताउनु भएको थियोे । उहाँले भाषा शिक्षणविधिमा प्रत्यक्ष अनुवादको प्रभाव रहेको बारे चर्चा गर्नु भएको थियोे।
प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (अनुवाद )विभाग प्रमुख हंसावती कुर्मीले उक्त अन्तर्क्रियाको सभाध्यक्षता गर्नुभएको थियोे । उहाँले अनुवादको माध्यमले ज्ञान आदानप्रदान गर्न सहज हुने बताउँदै शिक्षामा अनुवादको संस्कृतिले पठनपाठनमा दिगो असर पार्ने बताउनु भएको थियोे । आजको विश्वमा अनुवादको दह्रो माध्यम भाषान्तर रहेकोमा जोड दिनु भएको थियोे ।
उक्त अन्तर्क्रियामा अनुवादक समाज नेपालका महासचिव डा.ऋषिराम अधिकारीले कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै नेपाली पाठ्य सामग्रीमा अनुवादको महत्त्व बारे बताउनु भएको थियोे।
अन्तर्क्रियाको प्यानलिस्ट छलफलमा डा.प्रकाश तिवारी, अजम्बरजङ्ग लिम्बू (अमर तुम्याहाङ) र करुणा नेपालले भाग लिनु भएको थियोे । प्यानलिस्ट अन्तर्क्रियाको सहजीकरण चन्द्रबहादुर लामाले गर्नुभएको थियोे ।
यस अन्तर्क्रियामा डा. प्रकाश तिवारीले अनुवाद ज्ञान धारणका लागि महत्त्वपूर्ण माध्यम भएको बताउनु भएको थियो । यसैगरी अमर तुम्याहाङले अनुवादको सैद्धान्तिक पक्ष मात्र नभई व्यवहारिक पक्षमा ध्यान दिनु आवश्यक रहेको बताउँदै भाषा शिक्षणमा अनुवादको प्रभाव प्रवल रहेको चर्चा गर्नु भएको थियोे । साथै उहाँले बहुभाषिक अनुवाद कार्यक्रम लागू गर्नुपर्नेमा जोड दिनु भएको थियोे । करूणा नेपालले अनुवाद दैनिक जीवनबाट सुरु हुने बताउँदै अनुवादसँग भाषान्तर मात्रै नभई प्रत्यक्ष संस्कृति र समाज पनि जोडिन आउने उल्लेख गर्नुभएको थियोे।
प्रतिक्रिया दिनुहोस्: