हट्यो मेघ कालो धरा जग्मगायो
फुल्यो फूल लाली गरा मग्मगायो
चमेली जुनेली उजेली छ कस्ती
छ रातै पहेँलै शरद् गाउँ बस्ती ॥१।
बने गाउँ सेता कमेरो घसेर
दशैँ भन्छ आओ युवा हो रमेर
उकाली भिराली कुरी बस्न थाले
उषा खुल्न लाग्यो उठौ भन्छ भाले ॥२।
विदेशी धराका सबै बन्धु आऊन्
दशैँ मङ्गलै होस् खुशी भै’ रमाऊन्
चढी रेल गाडी नदी तर्न नाउ
लगाएर टीका घुमून् गाउँ गाउँ ॥३।
पुजून् शक्ति माता भवानी र दुर्गा
बनून् बन्धु ढिक्का कुनै कष्ट पर्दा
हिमाली, पहाडी, मधेशी खुशी हुन्
सबै एक बन्दै दशैँ पर्व मानून् ॥४।
हओस् पूर्ण इच्छा सबैको दशैँमा
मिलोस् दाल रोटी नहून् क्वै सुदामा
सबै पूणर् होओस् दशैँमा सदिच्छा
सबै बन्धुलाई दशैँको शुभेच्छा ॥५।
भुजङ्गप्रयात छन्द
पाउँदीबजार, लमजुङ
सम्प्रति : विष्णुदेवी आवास, सतुङ्गल
प्रतिक्रिया दिनुहोस्: