बाल्यकालमा मलाई दशैँ निकै रमाइलो लाग्थ्यो । यो चाडमा जेउरे (सेल) रोटी लगायत मीठामीठा खाने कुरा पाक्थे । मनोरन्जनका साधन सिँगारकोटको पिपलको बोटमा लठो, पिपलसारेमा चमहच्चा, बिनामारेमा रुइँटे पीङ र चमहच्चा हालेका हुन्थे । अन्य गाउँमा पनि यस्ता पिङहरू देखिन्थे । त्यसैमा केटाकेटी लगायत सबै रमाउँथे ।
मेरो जन्मकुल व्रत र पूजाप्रधान थियो । दशैँमा नवदुर्गाको पूजा हुने हुँदा व्रत प्रमुख हुन्थ्यो । मेरो बाबा भारतमा नोकरी गर्ने हुनाले दशैँमा बाबा घरमा भएको सम्झना छैन । मेरा लागि आमा नै बाबा पनि हुनुहुन्थ्यो । काकाबाहरू दिनैभरि जस्तै पूजा र पाठमै व्यस्त देखिनुहुन्थ्यो । मेरी आमा पनि नौदुर्गामा व्रत बस्नुहुन्थ्यो । आमालाई सधैँको असारपन्ध्र जस्तै हुन्थ्यो । यो चाड लागेपछि झनै उच्छार हुन्नथ्यो ।
दशैँ लागेपछि महिलालाई घर सिगार्ने कामको बोझ गरुङ्गो हुन्छ । माटो र ढुङ्गाले बनाइएका प्रायः घरमा रातो माटो, कमेरो अनि कालीमाटी खोजेर घरमा मिलाएर पोत्ने चलन हुन्छ । यो काम मैले पनि जन्मघर र कर्मघरमा गरेकी छु । कमेरो साह्रै चिप्लो हुन्छ । घरको माथिल्लो भित्तामा कमेरो छ्याप्दा घरको छानाबाट खस्ने डर हुन्छ । त्यसैले यो काम खतरा छ । तैपनि दशैँको वेलामा घर सिँगार्नै पर्यो । कालीमाटी र कमेरो साथै रातो माटोले पोतेर दशैँमा सबैका घर नयाँ जस्तै टल्काइन्थे ।
दिन, महिना अनि वर्ष बित्दै जाँदा उमेर बढ्दै गयो । जन्मेको ठाउँ नै छोडेर हिँडेपछि रमाइलो घट्तै गयो । जिम्मेवारी थपिँदै गए । चाडबाडका रूप पनि फेरिए । बाल्यकालको रमाइलो सम्झनामा मात्रै छ ।
हामी राजधानीमा बस्न थालेको चारदशक भयो । यी वर्षमा धेरैपटक हामी छोराछोरी लिएर पहाड घर बागलुङ गएका छौँ । सानासाना छोराछोरी बोकेर घर जान हामीलाई सजिलो थिएन । तै पनि चार, पाँच दिन लगाएर घर गइन्थ्यो ।
एकपटक दशैँमा घर जाँदाको घटना मेरो मस्तिष्कमा ताजै छ- हामी रात्रीबसमा काठमाडौबाट पोखरा गयौँ । बिहान पोखराको बसपार्कमा झरियो । त्यहाँ हामीले चिनेको व्यक्ति भेटियो । उसले हामीलाई नसोधेको सल्लाह दियो, ‘तपाईंहरू अब पुरानो बाटो नजानुहोस् । त्यो बाटोबाट घर पुग्न चारपाँच दिन लाग्छ । यो बाटो जानुभयो भने भोलि नै घर पुगिन्छ । यहाँबाट कुस्मा दुई घण्टामै पुगिन्छ । कुस्मा पर्वत जिल्लाको सदरमुकाम हो ।’
त्यो समयमा पोखरा बागलुङ राजमार्ग बन्दै थियो । हामीले उही व्यक्तिको भनाइमा विश्वास गरेर बाटो फेरियो । स्याङ्जातिरबाट जाने बाटो छोडेर निर्माणाधीन पोखरा बागलुङ राजमार्गतिर मोडियौँ । त्यस व्यक्तिले भनेअनुसार हामी एक घण्टा पैदल हिँडेपछि बसमा चढ्नुपर्ने थियो । बस पाइएन । अब के गर्ने, उल्टो बाटो हिँडियो । त्यो व्यक्ति पनि हामीसँगै थियो ।
मैले सोधेँ- ‘बस त पाइएन नि ! यो चालले त दुःख पाइन्छ । हामी त पुरानै बाटो जान्छौँ । फर्कौँ भो ।’
उसले भन्यो- ‘पाइन्छ क्या, एकछिन हिँडौँ ।’ हामीले पनि उसको भनाइ फेरि पनि पत्याएर अघि बढ्यौँ । यस्तै गर्दै धेरै बेर हिँडियो । छक्काल भइसक्यो । छोराछोरी थाके । भोकाए । खाने कुरा बाटोमा केही पाइएनँ । झोलमा बोकेको खाने कुरा पनि सकिँदै गयो । त्यो व्यक्ति कता गायब भयो । हामीले थाहा पाएनौँ । यस्तै गर्दै पहाडको ठाडो उकालोमा कान्ला, गौँडा गर्दै लुग्ले पुगियो । लुग्लेमा सानो पसल देखियो । त्यहाँ जे पायौंँ छोराछोरीलाई खान दियौँ । हामी फेरि ओरलो लाग्यौँ । साना बाबुनानीहरू लिएर पैदल यात्रा गाह्रो भए पनि पहाडी दृश्य रमणीय थिए । मोटर पाइएन । पैदल कति दिन लाग्ने हो ? कहिल्यै नहिँडेको बाटो । झन् अन्योलमा परियो । छिटो घर पुग्ने रहरमा बाटो फेरेका हामी यता न उता जस्तै भयौँ । आत्तिएर काम छैन । ओरालो झर्ने क्रममा छोराको खुट्टा मक्र्यो । ऊ हिँड्न सकेन । हिँड्ने आशा गरेको झन् उसैलाई बोक्न पर्ने भयो । दुइटी छोरी सानै थिए । झोला र सन्तानसित जसो-तसो हिँडियो । केटाकेटी भोकाए । पसल भेटिएनन् । बारीमा कहीँ बेलौती (अम्बा), कहीँ गब्बु (भोगटे) भेटिन्थे । तिनै खाँदै र खुवाउँदै हामी अगाडि बढ्यौँ । त्यो रात नयाँपुलमा बास बसियो । भोलिपल्ट फेरि हाम्रो यात्रा सुरु भयो । हामी पातीचौरसम्म पुगेका थियौँ । त्यहाँ बालुवाले भरेको डम्फर भेटियो । त्यसैमा चढ्यौँ । त्यो एकैछिन गुडेको थियो । एक जना व्यक्तिले डम्फरबाट हामीलाई झारिदियो । फेरि पैदल हिँड्न पर्यो । पोखराबाट हिँडेको चार दिन भयो । हामी उकाली-ओराली, भिर-पाखा छिचोल्दै अन्त्यमा कालीगण्डकीको तीरैतीर हिँडेर बागलुङ जिल्लाको दक्षिण भेकमा पर्ने जैदी रोहोटेको आफ्नो घरमा पुग्यौँ । यति धेरै कष्ट सहेर पनि दशैँको चाड मान्न पाइयो र मनमा आनन्द आयो ।
अहिले पनि यो बाटोमा मोटरमा चढी यात्रा गर्दा उहिले हिँडेका ती दृश्य आँखामा देखा पर्छन् र हामीलाई ती दिनको याद दिलाउँछन् ।
दशैँ हामी जनजनको मनमनमा भिजेको छ । यो महान् पर्व हाम्रो संस्कारसित जोडिएको छ । जति गाह्रो परे पनि यो चाड मनाउने रहर जाग्छ । आश्विन शुक्लपक्षको नवरात्रको प्रतिपदादेखि देवी दुर्गाको उपासना गरिन्छ । दुर्गासप्तशती चण्डी पाठ गरिन्छ । कोटहरूमा, मन्दिरहरूमा पाठपूजा चल्छन् । वलि चढाइन्छन् । घरमा पनि दुर्गास्थापना गरेर पूजा गरिन्छ । दशौँ दिनमा देवीको प्रसाद मानेर अग्रजका हातबाट टीका र जमरा लगाइन्छ । यो टीकाजमरा लगाउने क्रम पूणर्िमासम्म चल्छ ।
अहिले हाम्रो देशको अवस्था फरक छ । धेरैको घरमा सबै जहान छैनन् । कतिपय सन्तान देशदेशान्तरमा गएर आफ्नो भविष्य खोज्दैछन् । कुनै पनि चाडपर्वमा सबै परिवार भेला भइँदैन । सबै जना नभएपछि चाडपर्व लगायत जुनसुकै कार्य पनि खल्लो लाग्छ । घरबाट टाढा गएका र घरमा बसेका दुवैपक्षलाई पूरा रमाइलो त हुँदैन तैपनि हामीले सामाजिक सञ्जालबाटै चाड मनाउने कार्य गरिन्छ । यो युगको देन पनि हो ।
दशैँ लगायत सबै चाडपर्व मनाउँदा संयमित भएर काम गरौँ । यी चाडलाई महङ्गा र गरुङ्गा नबनाऔँ । सरलता नै टिकाउ हुन्छ ।
यसमा दुष्टको संहार गरेर सज्जनको रक्षा गर्ने देवी दुर्गाको महिमा धेरै छ । उनी एक शैलपुत्री, दुई ब्रह्मचारिणी, तीन चन्द्रघण्टा, चार कूष्माण्डा, पाँच, स्कन्दमाता, छ कात्यायनी, सात कालरात्री, आठ महागौरी र नौ सिद्धिदात्री बनेर नवरात्रीका नौ दिनमा पूजित हुन्छिन् । यिनको महिमा ठूलो छ । यिनै नवदुर्गा देवीले हामी सबैको भलो गरून् । जय दुर्गामाता ।
कैलासकुञ्ज, भसन्थली
बूढानीलकण्ठ-४, काठमाडौं
प्रतिक्रिया दिनुहोस्: