यो पुष्पको याम भयो सवारी ।
फुल्छन् अनेकौँ मन-मुग्धकारी ।
गोदावरीले ढकमक्क बारी ।
लाइन् धराले सुकुमार सारी ।१।
आयो दशैँ यो शुभ चाड हाम्रो ।
देखिन्छ चारैतिर दृश्य राम्रो ।
बास्ना छरी पुष्प यसै रमाए ।
मानौँ गुमेको अधिकार पाए ।२।
घण्टा बजे शङ्ख बजे बिहान ।
छन् गेह यी मन्दिरकै समान ।
पूजा तथा पाठ गरेर साथ ।
आराधना हुन्छ बिहान साँझ ।३।
सन्तान फर्के परदेशबाट ।
बस्छन् रमाई परिवार साथ ।
चीची र पापा परिकार नाना ।
खान्छन् मिलाई सँगमा जहान ।४।
यो चाडले रौनक थप्छ नौलो ।
हो मेलको चाड बडो सुनौलो ।
दुर्गा भवानी वरदान दिन्छिन् ।
सन्ताप सारा निफनेर लिन्छिन् ।५।
थापिन्छ टीका गुरु मान्यबाट ।
देखिन्छ रातै सबका ललाट ।
आशीष मिल्छन् ममता प्रगाढ ।
दुर्गा पुजेको विजया प्रसाद ।६।
आपत् विपत् जे छ हरेर लिन्छिन् ।
दुर्गा भवानी सुख शान्ति दिन्छिन् ।
आराधना भक्ति, उपासनाले ।
कल्याण वर्षा गर मङ्गलाले ।७।
विपन्नता, कष्ट टरेर जाओस् ।
सद्भाव फैलोस् सहकाल आओस् ।
पूरा बनोस् जे मन चाहना छ ।
मेरो सबैमा शुभकामना छ ।८।
(इन्द्रवज्रा छन्द)
टोखा-१०, गोँगबुँ, काठमाडौ
प्रतिक्रिया दिनुहोस्: