कविता

उच्च आस्था जगाऔँ

२३ आश्विन २०८१
उत्तम विचार भेटुवाल

आयो आयो घरघर दसैँ चाड बोकेर हर्ष
टाढै राखी बकुल मनका दुःख पीडा विकर्ष ।
नेपालीका हर हृदयमा उच्च आस्था जगाओस्
साझा होस् यो सकल जनमा पर्वले स्थान पाओस् ॥१॥

कालोमैलो सब पर हटे व्योम धोए समान
आभा छर्दै त छ ऋतु शरद् साँझ होस् वा बिहान ।
होलान् सास्ती हर मनुजका चाड आई लगारून्
नेपालीका अमुक सपना पूणर् साकार पारून् ॥२॥

राम्रा लाई शिशु वय रमून् खान स्वादिष्ट पाई
हाँसो छाओस् गरिब जनमा चाडको होस् बढाइँ ।
टार्नै गाह्रो अतिशय दशा दीनमा त्यो नलागोस्
बोकी ल्याओस् रमझम दसैँ वेदना दूर भागोस् ॥३॥

माता दुर्गा घरघर पुगी प्रेम बर्साउने छिन्
अम्बे काली असुर बधमा शक्ति दर्शाउने छिन्
थाप्छन् टीका अनुज भगिनी मान्यका हातबाट
राख्ला कोही किन मनुजले रिक्त आफ्ना ललाट ॥४॥

कोही खेलून् पिङ लहडमा तास जूवा नजाती
रक्सी खाई अधिक मदमा मात्नु बेकार साथी ।
आफ्ना छुट्टै चलन घरका रीत होलान् तथापि
जानीजानी गलत नबनौँ मिल्न गाह्रो छ माफी ॥५॥

चल्दा हावा सरर गतिमा बग्छ रोकिन्न पानी
ढल्दै जान्छन् जबजब निशा हुन्छ नौलो बिहानी ।
हाम्रा आफ्नै विविध रङमा पर्व यो पोतिने छ
नेपालीका अलग पनमा विश्व नै अल्झिने छ ॥६॥
(मन्दाक्रान्ता छन्द)
लिखु-६, थानसिङ, नुवाकोट

प्रतिक्रिया दिनुहोस्: