‘बाजे हाम्रो खेत खोई त ? पछि हामीले खेती गर्नु पर्दैन, यही एउटा घर मात्रै हो ?’ भर्खर खेलेर आएको नातिले बाजेलाई सोध्यो ।
‘बाजे ! मेरो साथी महर्जनको कति धेरै खेत छ’ नातिले भन्यो ।
बाजेले हल्का मुस्काराउँदै जवाफ दिए ‘हाम्रो पनि खेतहरू छन् बाबु ।’
‘कहाँ छन् त बाजे ?’ फेरि सोध्यो ।
‘पखन, समय आएपछि म तिमीलाई देखाउँछु है त !’ बाजेले सम्झाउने कोसिस गरे ।
एक दिन घुम्दै गइरहेका बेला बाजेले केही सम्झे जस्तो गरी नातिलाई बसको झ्यालबाट देखाउँदै भने, ‘बाबु ! अस्ति तिमीले सोधेको थियौ नि ! हाम्रो खेतहरू कहाँ छन् भनेर ? उ यो पनि हो, उ त्यो पनि हो, उ परको पनि हो, देख्यौ नि !’ नातिले आश्चार्य मान्दै भने, ‘त्यहाँ कहाँ खेत छ र बाजे ! यो स्कूल, त्यो कलेज, त्यो परको विश्वविद्यालय पो हो त !’
‘हो ठीक भन्यौ बाबु ! मैले काठमाडौंमा व्यापार गरेर कमाएको बानियाँटारको बारी, खड्कभन्द्रकालीको पाखो अनि ढलमलको खेत बेचेर सबै पैसा स्कुल, कलेज र विश्वविद्यालयमा खर्च गरेर तेरो बालाई डाक्टर र काकालाई ईन्जिनियर बनाएको हो ।’
अब तिनीहरू खेती गर्दैनन् । तिनीहरूको खेती भनेको डाक्टरी र ईन्जिनियरिङ्ग पेशा हो ।’ नाति अँध्यारो मुख लगाएर हेरिरह्यो ।
बनेपा-४, नाला, काभ्रे
प्रतिक्रिया दिनुहोस्: