मसांसमा लक्ष्मीजयन्ती तथा शुभकामना कार्यक्रम

१६ कार्तिक २०८१

काठमाडौं, कात्तिक १५ गते । मनमैजू सांस्कृतिक समाज (मसांस) ले भीमप्रसाद खकुरेलको प्रमुख आतिथ्य र समाजका अध्यक्ष लोकगायक ध्रुवराज खड्काको सभापतित्वमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ जन्मजयन्ती तथा संस्थाको २९ औँ वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचनको कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा उपस्थित अतिथिहरूमा स्वागत मन्तव्य राख्दै मसांसका संस्थापक सदस्य तथा पूर्व कोषाध्यक्ष बद्रिप्रसाद खकुरेलले संस्थाको इतिहास र संस्थापनाकालमा समाजले भोगेका दुःख र अप्ठेराहरूका बारेमा बताउनुभएको थियो ।
त्यसैगरी सदस्य ज्ञानहरि ढकालले संघसंस्थाहरूले व्यहोर्नुपर्ने कठिनाइहरूका बारेमा आफ्ना धारणा राख्नुभएको थियो ।
पत्रकार श्रीराम पुडासैनीले संस्थाका सबै सदस्यहरू क्रियाशील भए मात्र संस्थाले प्रगति गर्नसक्ने भएकोले सदस्यहरूको एकता र सहभागितामा जोड दिनुपर्ने बताउनुभयो ।

साहित्य समिति प्रमुख डा.घनश्याम पुडासैनीले महाकवि देवकोटाको योगदानको बारेमा प्रकाश पार्दै महाकविका बारेमा लेख्ने केही लेखक, समीक्षकहरूले उहाँका वास्तविक घटनाका बारेमा गलत ब्याख्या गर्ने गरेको बताउनुभयो ।
कार्यक्रमका सभापति लोकगायक ध्रुवराज खड्काले संस्थाका सबै सदस्यहरूको सहयोग, एकता र सहभागिताले मात्र संस्था बलियो हुनेभएकोले संस्थाका सम्बन्धित सबैले यसतर्फ विचार पुर्‍याउनुपर्छ, भन्नुभयो ।

त्यसअवसरमा साहित्यकार/पत्रकार उमेश पाण्डे, कवि भवानी मैयाँ पन्त, साहित्यकार दिलकुमारी डंगोलले सिर्जना वाचन गर्नुभएको थियो भने गायक विष्णुकुमार जोशी, गायक रामकुमार के.सी.ले विभिन्न लोकगीतहरू गाएर सुनाउनुभएको थियो ।

कार्यक्रममा रामेश्वर ढकाल, इन्दु तुम्वाहम्फे र कलाकार सरिता सिल्पकार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: