कविता

महाकवि देवकोटासँग

१६ कार्तिक २०८१
ड़ा गार्गी शर्मा

धेरै दिनदेखि अस्तव्यस्त छ
मेरो देश
कहिले पानीपानी बनेर
डुब्न खोज्छ
कहिले सुख्खा जर्जर हुन्छ ।
हिमाल पग्लिरहेछ
हिमताल फुट्दोछ
हत्या, हिंसा बढिरहेछ
टायर बलिरहेछ
नेरोहरू मुस्कुराइरहेछन् ।

यसबेला हामी
तिमीलाई संझिरहेछौँ
सरस्वतीका वरदपुत्र
कवि महाकवि
तिम्रो कुटिल व्यङ्ग्य
‘प्रभुजी ! भेडो बनाऊ’
झन्झन् साकार बन्दैछ,
कठै ! भेडा, जनता भेडा
भाषण र मीठो आश्वासन
अनि पोषणको घाँसमा
मख्ख परिरहेछन्
सत्य असत्य
नीति नियम बिर्सेर
अनि अर्कोतिर
केही जब्बरसेठ साँढे
अमियोवा झैं एकबाट
हजार बनेका छन्
बाटो, बार, पुलपुलेसा
भत्काउँदै छन्
हाम्रो साझा फूलबारी
हिंसामय बनाउँदै छन्
डर लागिरहेछ, मन दुःखिरहेछ
कुनै दिन यो
फूलबारी मासिने त हैन !

यसैले कविजी ! हामीलाई
तिम्रो सहारा चाहिएको छ,
फर्की आऊ
हामी तिम्रो बाटो हेरिरहेछौँ ।
बरु अब आउँदा
अनङ्ग जस्तो
उठ बाबु भने उठिदिने
बस बाबु भने बसिदिने
लुते भएर हैन,
दुष्यन्त जस्तो
छाडा भएर पनि हैन,
प्रेम विह्वला मदन अथवा
मुना भएर पनि हैन, अथवा
गम्बोजी जस्तो पनि हैन,
अनि सजायँ भोगी लुत्रुके
प्रमिथस भएर पनि हैन,
अब आउँदा
बिहानीको किरण भएर आऊ
निर्माणको सौगात लिएर आऊ
उत्साह र उमङ्गको
किरण बोकेर आऊ,
हिमाली स्वच्छता लिएर आऊ,
सङ्घर्षको युग डोर्‍याउने
सारथी भएर आऊ ।
अब हामीलाई
अन्याय, अत्याचार सहने
सुलोचना अनङ्गको
युगल जोडी चाहिन्न ।
कसैको झोले चाहिन्न ।
आफ्नो अधिकारको लागि सङ्घर्ष गर्ने
आफ्नो बाटो आफै बनाउने
सशक्त नारी चाहिएको छ ।
प्रेमको नाममा
मृत्युवरण गर्ने कुञ्जिनी,
मुना अथवा सुलोचना जस्ताबाट
हाम्रो फूलबारी समालिँदैन ।
अन्याय विरुद्ध लड्नसक्ने,
नाङ्गो तार जस्तै
छोयो कि करेन्ट लाग्ने
करेन्ट लिएर आऊ ।
हामी स्वागत गर्छौं
स्वागतम् स्वागतम् …….!

म्हेपी, काठमाडौँ।

प्रतिक्रिया दिनुहोस्: