उच्च शिखरमा विद्वत् रत्न प्रा.डा.गार्गीको गरिमा ग्रन्थ प्रकाशित हुने

१४ पुष २०८१

सुउरेचौर, नुवाकोट, २०८१ पुस १४ गते । वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर गार्गी शर्माको जीवनी र व्यक्तित्त्व झल्काउने– ‘उच्च शिखरमा गार्गीको गरिमा’ नामक विशेष ग्रन्थ प्रकाशित हुने भएको छ । संसाक मासिक र ईसंसाकको संयुक्त आयोजनामा आज आयोजित साहित्यकारहरूको भेलाले सो निर्णय गरेको हो ।

सो अवसरमा उपस्थित साहित्यकारहरू डा.दामोदर पुडासैनी किशोर, डा.शैलेन्दु प्रकाश नेपाल, साहित्यकार/पत्रकार उमेश पाण्डे, कवि तारा के.सी. र पार्वती पुडासैनीले सो ग्रन्थ प्रकाशनका सम्बन्धमा आआफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो ।
संसाक तथा ईसंसाकका सम्पादक उमेश पाण्डेले गार्गी शर्माजस्तो सादा जीवन र उच्च विचारकी धनी विद्वत् रत्न गार्गी शर्मा विषयको ग्रन्थ प्रकाशनको जिम्मेवारी पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

विद्वत् रत्न गार्गी शर्माले यस किसिमको कृति निस्कने खबर सुनेर यो क्षेत्रमा लाग्न थप हौसला मिलेको बताउनुभएको थियो ।

सो अवसरमा उपस्थित साहित्यकारहरूलाई शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज र सुइरेचौरको भ्रमण गराइएको थियो भने नुवाकोटका लिखु, पञ्चकन्या र शिवपुरी गाउँपालिकाका चौघडा, थानसिङ, कविलास, भेँडाबारी, चुहानडाँडा, फुर्केसल्ला, भदु्रटार, काउले, महाकाली, समुद्रादेवी, अर्खौले, गुरुङगाउँ, सुनखानी, गेरुवागाउँ, काफलडाँडा, थापागाउँ लगायत लिखु र तादी क्षेत्रको अवलोकन तथा चिनारी गराइएको थियो । साहित्यकारहरूले गणेश हिमाल, दोर्जे ल्हाक्पा हिमाल, जुगल हिमाल र लामटाङ हिमालय खण्डको दृश्यावलोकन पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: