कविता

लुइटेल गुरुको सम्झना

२० पुष २०८१
डा. सत्यराज थपलिया

तेह्रथुम जिल्लाबासी पिता छविलाल ।
माताचाहिँ मनमाया, उन्नाइस साल ॥
वैशाखको त्यो नौ गते शनिश्चरबार ।
तिलकप्रसाद लुइटेल जन्मिएको सार ॥१॥

संस्कृतमा आचार्य र नेपालीमा एम.ए.।
अध्ययन गर्दागर्दै सम्झी जगदम्बे ॥
सेवा नै हो मुख्य धर्म भन्ने सिकाउन ।
समाजकै भलाइमा लगाएर मन ॥२॥

पञ्चतन्त्र, मनुस्मृति, औ चाणक्यनीति ।
अग्निपुराण, गरुडपुराण, दुर्गासप्तशती ॥
भागवत मञ्जरीको साथै चारै वेद ।
नेपालीमा अनुवाद गर्ने, खोली भेद ॥३॥

अध्यापन, लेखन र ग्रन्थ सम्पादन ।
गर्दै अनुवादतर्फ लगाएर मन ॥
कर्मनिष्ठ, बन्दै शिष्ट हाँसीहाँसी बोल्ने ।
गुरुजीको संझनाले सधैँ मुटु पोल्ने ॥४॥

अगम्यता हटाएर उनै अविनाशी ।
कृष्णतत्त्व बुझाउने सज्जनका खासी ॥
असीसाल मार्गशुक्ल पूर्णिमाको दिन ।
तिलक गुरु हुनुभयो परब्रह्मलीन ॥५॥

हामीबीच गुरुजीको देह यतिखेर ।
नभए नि’ अनुदित कृति नै छन् धेर ॥
सत्कर्मले अमर हुनुभयो लुइटेल गुरु ।
भन्छ भित्री हृदयले नरोऊ धुरुधुरु ॥६॥

लिखु – ६ , थानसिङ्ग, नुवाकोट

प्रतिक्रिया दिनुहोस्: