कविता

सुरुवात

२१ पुष २०८१
गङ्गा खड्का

अर्को जुनी लिन नपरोस् भन्थिन् आमाले रोएर
हरेक रात अनिदोमै बस्थिन् सिरानी धोएर ।

बालो थिएँ म बबुरो बुझ्दैनथेँ उनका कथा
ट्वाल्ल हेरेर बस्थेँ गर्न नसकी केही सर्बदा ।

जब जब मेरो उमेरले चढ्न थाल्यो उकालो
उनको जसरी मेरो पनि आउन थाल्यो पालो ।

सपनालाई बन्धकी राखी डोली चढेर गएँ
आफ्नै माइतीमावलमा बिस्तारै बिरानो भएँ ।

फेरियो थर माइतीको पराइको बन्यो थर
माइती भयो दाजुभाइको अर्को पराइघर ।

समयतालिका फेरियो बिहान उठ्नलाई
पाइन जुठो हात अरूभन्दा छिटो चुठ्नलाई ।

अनुशासनको साङ्लो झन् गयो बलियो बनेर
हरेक कुरामा नजानिदो खेदो पनि खनेर ।

भूमिका मेरो अनेक भए आफैंलाई नै भुलेँ
उफ् ! कस्तो अक्करे भीरमा फूल बनेर फुलेँ ।

फुङ्ग उड्यो मुहारको रङ बिर्सिएँ हाँस्नलाई
सिकेर अरूको खुशीमा आफूलाई गाँस्नलाई ।

हेर्दाहेर्दै बात्सल्यको मगमगाएर सौरभ
आमा बन्नुको स्वाद चखाउँदै भरेर गौरव ।

भरिदा अँगालो सन्तानले भुलियो दुःख, पिर
मन भुलाउने बाटो भएर उज्यालियो शिर ।

बेतलबी कामदार बनेर पोखेँ श्रमदाना
सन्तानको खुशीको लागि बुनेर अनेक ताना ।

आफ्नो जस्तो भाग्य तिनको बिग्रेला नि भन्ने भय
मनभरि लिँदालिँदै आफ्ना रहर त्यसै गए ।

जिम्मेवारीको भारीले थिचेर यात्रा तय गरेँ
आँसु दबाइ गहभरि ओठमा मुस्कान भरेँ ।

लडाइँ खेल्दै अप्ठ्यारोसँग सिकेँ मैले जिउन
आमाले जसरी लुकीलुकी आँसुधारा पिउन ।

भन्न त भन्छन् सबले युग फेरिएको कहानी
देख्थेँ होला दृष्टान्त शहरमा भए त म पनि ।

शहरमा मात्रै न्यानो घाम महिलाले तापे कि
अखबारमा गाउँको झुटो खबर पो छापे कि !

भिन्नभिन्न लिएर रूप नारी हिंसा चलेकै छ
बनाएर अनेक निहुँ नारीलाई छलेकै छ ।

मनमा उब्जे महिलाको कुरा सुनाएँ बोलेर
सज्जनवृन्द, विज्ञको सामुन्ने हृदय खोलेर ।

(लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा रचना गरिएको कविता)
बूढानीलकण्ठ, काठमाडौं

प्रतिक्रिया दिनुहोस्: