कविता

बनाउँछु स्वर्ग

२१ पुष २०८१
कालिका त्रिपाठी पन्त

न सत्ता सम्हाल्ने तीतो तिर्सना छ
नता उच्च सम्मानको चाहना छ
म जाउँ जता जाउँ हासुँ रमाऊँ
यही माटो नेपालको बासना छ । १ ।

खनीखोस्री माटो भिजाएर बारी
म फाड्छु निखार्छु नचाहिने झाडी
रोपेर उन्नत बिउ खोजी खेतमा
विकृत ऊर्जा म फाल्छु झटारी । २ ।

ओढाएर खास्टो निखारेर जाडो
कुना कन्दरामा खनी कृषि बाटो
जगाएर युवाभरि चेतनाले
कृषि गर्न थाल्छु समाएर माटो । ३ ।

बगाएर खोलो पसिनाको बाढी
बोलाएर युवा निखारेर खाडी
मेरो जन्मभूमि बनाउँछु स्वर्ग
हलो काँध हाली उचाली कोदाली । ४ ।

म चाहन्न उल्टो जो राज्य गर्छ
पठाएर युवा अरू रास्ट्र भर्छ
जो देश बोक्छ थमाएर काँध
सबै रोक्न छेक्न बरु आफू मर्छु । ५ ।

नखानु किनी विदेशीको अन्न
फलाएर बाली झुलाएर टन्न
व्यापार घाटा घटाउन युवा
निर्यात गरौँ फलाएर टन्न । ६ ।

बनेपा, काभ्रे।

प्रतिक्रिया दिनुहोस्: