मुक्तक

मुक्तक

२६ पुष २०८१
रत्नप्रसाद अनामणि श्रेष्ठ

पैतालमा गएर कोरिदेऊ ए काँढा हो !
संझना नआओस् छेकिदेऊ ए डाँडा हो !
दुःख जति गरे पनि किन केही हुँदैन यहाँ ?
गरीबको सधैंभरि भरिदेऊ ए भाँडा हो ! ।१।

नभन्नु कसैले पनि ऊ बिनामाया जिएको छ ।
नदेख्नु कसैले पनि ऊ बिनाछाया जिएको छ ।
आफै सम्हाल्न खोज्दै छु अरूको सहायता बिना
बायाँ मुटुको कोठा पनि बिनादायाँ जिएको छ ।२।

तालमा ताल मिलाएर सबैसँग नाच्नु साथी
मिलीजुली एकअर्काको सहयोगी भै बाँच्नु साथी
हेर समाजमा सबैको मन एकैखाले हुँदैन
व्यभिचारीलाई केही नहेरी खुट्टा भाँच्नु साथी ।३।

नतन्काउनु धेरै आशाको रबर, टुटिसक्यो सानु !
वस्त्र खोल्नुको पनि सीमा हुन्छ, आँखाले लुटिसक्यो सानु !
कसैले पनि आफ्नो जवानीको भेललाई थुन्न सक्दैन
हेरी हेरी कति बस्नु आँखाले, धैर्य फुटिसक्यो सानु ! ।४।

बनेपा–४, नाला, काभ्रे
हाल : टोखा–९, गोंगबुँ, काठमाडौं

प्रतिक्रिया दिनुहोस्: