वनमा बसोबास गर्ने वन्यजन्तुहरूले सिंहको अध्यक्षतामा भेला आयोजना गरे ।
समसामयिक समस्याहरूका बारेमा छलफल गर्न भेलाको आयोजना भएको थियो । सिंहले आआफ्ना गुनासा र समस्या खुलस्तसँग राख्न आव्हान गर्यो ।
एउटी बाख्रीले भनी, ‘हुन त म घर पालुवा स्त्री जनावर हुँ । तपाईहरूको राज्यमा चर्न भनेर आएकी थिएँ । ऊ त्यो उन्मत्त पुरुष जनावरले मलाई बलत्कार गर्यो । म अन्यायमा परेँ । क्षतिपूर्तिसहितको न्याय चाहियो !’
लगत्तै स्यालले पनि भन्यो, ‘मेरै जातिको धूर्त स्यालले मेरो छोराको अपहरण गर्यो । उसले फिरौती मागेको छ !’
यत्तिकैमा हरिण उभियो र आफ्नो कुरा भन्न थाल्यो, ‘त्यो छट्टुले मेरो छोरालाई वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर परिपञ्च गर्यो । लोभ देखाएर ठगी गर्यो । साह्रै अन्यायमा परियो !’
यसैगरी अन्यले पनि हत्या, आतङ्क, चोरी तस्करी, वातावरण प्रदूषण लगायतका समस्याहरूको उठान गरे !
सबैको कुरा सुनिसकेर सिंहले एकपटक टाउको हल्लायो ।
सबैको ध्यान सिंहतिर गयो । सिंहबाट हुने निर्णयको पर्खाइमा थिए सबै ।
अन्तमा सिंहले ती पीडकतिर हेरेर गम्भीरतापूर्वक भन्यो, ‘तिमीहरूले अपराध बमोजिमको सजाय त पाउँछौ नै ! त्योभन्दा ठूलो कुरा त, मानिसहरूको बानी, व्यहोराको सिको गरेकोमा पहिला तिमीहरूलाई दण्ड दिने घोषणा गर्दछु !’
वन्यजन्तुहरू मजाक मानेर धेरैबेर हाँसिरहे !
बागमती–११, कर्मैया, सर्लाही
प्रतिक्रिया दिनुहोस्: