कविता

आश्रयहीन केटोको कहानी

२६ पुष २०८१
पूर्व सेनानी टंकबहादुर बजगाई खत्री

गरिबको कोखबाट मेरो भयो जन्म
सानै छँदा बाबा बिते खाते हुने कर्म ।
पिछडा त्यो गाउँतिर जन्मिएको केटो
गाउँ छाडी शहरमा खान हिँडेँ मीठो ।१।

शहरमा पुगेपछि हेरेँ चारैतिर
कहाँ जाने ? के हो खाने ? लाग्यो मन्मा पिर ।
घुम्दै जाँदा पुगेछु म पाटीतिर हेर !
मेरैजस्ता उमेरका भेटेँ त्यहीँनेर ।२।

सबै जना मिलीजुली प्लाष्टिक टिप्ने काम
कमाएछौँ शहरमा खाते भन्ने नाम ।
साँझ परेपछि सबै पाटीतिर बास
कुकुरले घेरा हाली मार्लान् भन्ने त्रास ।३।

तिनै साथीभाइसँग यस्तै काम्मा डुलेँ
सँगतले बिग्रिएछु तिनैसँग भुलेँ ।
जन्मिएको ठाउँलाई बिर्सिएछु मैले
सडकको माग्ने बनी बसेको छु ऐले ।४।

कस्ले खान देला भनी बस्छु बाटो ढुक्न
मेरो भेष देखेपछि कुकुर थाल्छन् भुक्न ।
साथीसँगी त्यागी आएँ धोका भयो धेरै
मनुस्यको चोला मेरो जानेभयो खेरै ।५।

खाते भनी सडकमा हेप्छन् सबैजन
एकछाक खानदिने छैन तिन्को मन ।
कति टिपौँ सडकमा फोहरका झोला
भोले बाबा ! हामीतिर हेरिदिनु होला ।६।

बनेपा–३, नाला, काभ्रे।

प्रतिक्रिया दिनुहोस्: