कविता

अतिथि सम्पादकहरूद्वारा सम्पादित कविताहरू

२६ पुष २०८१

यसपटकको अतिथि सम्पादकमा ज्योतिकुञ्ज एकेडेमी, लिखु–६, कालीमाटी, नुवाकोटका छात्रछात्राहरू मनिषा डंगोल (कक्षा : ७), सम्पन्न पाण्डे (कक्षा : ६) र दीपिका पाठक (कक्षा : ६) रहेका छन् । यस अङ्कमा सोही विद्यालयका भाइबहिनीहरूका विभिन्न रचनाहरू सङ्कलन गरी उनीहरूले नै छनोट तथा सम्पादनसमेत गरेका हुन् ।

आमा
विशाखा थापा
कक्षा : १
ज्योतिकुञ्ज एकेडेमी

बिहानै उठी धेरै काम गर्छिन् मेरी आमा
दुवै हात जोडी गर्छु सधैंभरि प्रणाम ।
आमा नै हो मेरो लागि सारा संसार
कोटि कोटि हजुरलाई गर्छु नमस्कार ।

मेरो बुबा
क्यालिसा श्रेष्ठ
कक्षा : २
ज्योतिकुञ्ज एकेडेमी

परदेश मै बित्यो बाबा जिन्दगानी
सन्तानलाई राम्रो बाटो देखाउँछु भनी
भोक प्यास केहि नभनी काम गर्न पर्नी
घर फर्की सुत्न भयो मरो बाबा पनि ।

छोराछोरी सम्झी सम्झी बसेऊ परदेश
परदेशमा बसी बसी फुले तिम्रा केश
धन कमाउँछु भन्दाभन्दै बस्नुपर्‍यो एक्लै
एक्लाएक्लै बस्दाबस्दै जिन्दगानी बेग्लै ।

शिक्षा
प्रशिका न्यौपाने
कक्षा : ३
ज्योतिकुञ्ज एकेडेमी

शिक्षा हो ज्ञान छर्ने प्रकृया
निर्देशनद्वारा सिक्ने र सिकाउने
बुद्धि, विवेक अनुभवहरूले
मानवीय गुण झल्काउने प्रकृया ।

नवीन सिर्जना र रचनाको
देश विकास गरौं सबै जनाले
उर्वर यो मातृभूमिलाई
गरौं हातेमालो दाजुभाइ ।

रमाइलो
मनिता श्रेष्ठ
कक्षा : ४
ज्योतिकुञ्ज एकेडेमी

साना नानी हाटमा
आऊ बस खाटमा
नखेल है माटामा
नभुल है बाटामा ।

मिलिजुली खेलौँला
हाँसी हाँसी बोलौँला
पारी पाखा घमाइलो
हामी खेल्दा रमाइलो ।

हत्तेरिका लाज भयो नि !
शिवराम थापा
कक्षा : ५
ज्योतिकुञ्ज एकेडेमी

सधैं साँझमा गृहकार्य सकेर
म रातमा आनन्द लिएर सुत्थेँ
बिहान सधैं जाँगर लिएर उठ्थेँ
आज ढिलो उठेँ र मलाई लाज भयो नि !

म सधैं नबिर्सी हात मुख धुन्थेँ
नुहाउँथेँ नयाँ कपडामा चट्ट हुन्थेँ
आज उठेर दाँत माझ्न बिर्सेछु त !
लौन नि कस्तो लाज भयो हत्तेरिका ।

राम्रो मान्छे बनौँ
स्मृति भण्डारी
कक्षा : ६
ज्योतिकुञ्ज एकेडेमी

मेरा साथी सबैजना एउटा कुरा सुन
सबैलाई सहयोग गरौँ राम्रो मान्छे हुन ।
सानालाई माया गरौँ, ठूलालाई आदर
मिहिनेती, ज्ञानी बनी पूरा गरौँ रहर ।

गुरु अनि बा, आमाको कुरा सुन्नुपर्छ
आफ्नो काम समयमै पूरा गर्नुपर्छ ।
साथीभाइ सबैलाई आफू जस्तै ठानौँ
राम्रा राम्रा कुराहरू सिकाऊँ र जानौँ ।

बाल अधिकार
सलिना श्रेष्ठ
कक्षा : ७
ज्योतिकुञ्ज एकेडेमी

बालबालिकाको हितका लागि बाल अधिकार
पढिलेखी ज्ञानी भई भविष्यका कर्णधार
बालश्रम नगराऊँ यिनीहरूले पढ्न पाउनुपर्छ
बालबालिका देशको भविष्य हुन् थाहा पाउनुपर्छ ।

बालअधिकार सुनिश्चित गर्नु सबैको कर्तव्य
राम्रो ज्ञान दिनसके राम्रो हुने छ बाल भविष्य
लेख्न, पढ्न पाउनुपर्ने हाम्रो छ अधिकार
नहराओस् कतै हाम्रो बाल अधिकार ।

मेरो गाउँ
रोजिना आले मगर
कक्षा : ८
ज्योतिकुञ्ज एकेडेमी

नुवाकोट जिल्ला हजुर थानसिङको ठाउँ
कक्षा आठमा पढ्छु हजुर रोजिना हो नाउँ
चारैतिर हरियाली सुन्दर छ  ठाउँ
त्यै भएर ज्योतिकुञ्ज पढ्न हजुर आऊँ ।

प्रकृति
सन्जिव राई
कक्षा : ९
ज्योतिकुञ्ज एकेडेमी

जता हेर्‍यो उतै राम्रो प्रकृतिको उपहार
वसन्तको आगमनले ल्याउने छ वहार
प्रकृतिलाई जोगाउन गरौँ है त सिँगार
सफा, सुन्दर बनाउनसके हरेक दिन तिहार ।

गजल
शिक्षक, शिबराम पुडासैनी
ज्योतिकुञ्ज एकेडेमी

कोरीबाटी चट्ट भई पढ्न आउँछे मेरी परी
देखेपछि लोभ लाग्यो आज म त त्यतै सरीँ ।

मान्छे हेर्दा सुन्दर लाग्छ क्याम्पस पढ्छु भन्थी
मेरो मन चुँडी लगी आज म नि त्यतै सरीँ ।

दुवै आँखा जुधाइ जुधाइ नबसौँ है फेरि
तिमीलाई पाउने मोह बढ्यो म त त्यतै सरीँ ।

कोरीबाटी चट्ट भई पढ्न आउँछे मेरी परी
देखेपछि लोभ लाग्यो आज म त त्यतै सरीँ ।

प्रतिक्रिया दिनुहोस्: