नियात्रा

ननुहाउँदा झनै राम्री

२७ पुष २०८१
ड़ा. दामोदर पुडासैनी किशोर

हेर्दा हेर्दै नुहाउन थाल्यौ तिमी । नुहाउनु आफैमा रोमाञ्चक काम हो । नुहाएको हेर्नु अरू कौतूहलकारी । प्राणको खोज हो स्नान । प्रतिष्ठाको अभियान हो स्नान । परिवर्तनको प्रतिध्वनि हो स्नान । धरती स्नानमा धम्मरधुस गर्दा पिपिराउँदा रहेछन् सर्बैत्र सिर्जनाका सुइराहरू ।

हरेक बिहान झिसमिसेमा अलिअलि वर्षन्थ्यौ । घामसँग आँखा जुधेपछि थामिन्थ्यौ । लगातार छैठौं दिनसम्म तिमीले नुहाउन छोडेकी छैनौं । रात होस् वा दिन झमझम, स्याँ स्याँ, सुइँइँ समुद्री स्वरलहरी च्यापेर नुहाइरहिछ्यौ तिमी । म तिम्रो नुहाइलाई ओल्टाइ कोल्टाइ नजिकबाट चियाइरहेछु ।

उर्जाको उपज हो वर्षा । अनुभूतिको उत्पादन हो वर्षा । रूप र रङ्गका मिहिन चित्रहरूमाथि अमूर्त कोलाज बनाउँछ वर्षा । आँसु वर्षनु वा हर्षाश्रु झर्नु दुवै परिवर्तनका पराकाष्ठा हुन् । मुटुमा फैलिएका बादल र वसन्तका सजीव बाडुलीहरू हुन् । तिमी परिवर्तनको लागि वर्षिरहिछ्यौ र बजाइरहिछ्यौ बलशाली विणाहरू । वर्षा अवतीर्ण छ नीला रेशाहरूमा । वर्षाले प्रच्छन्न छन् मानव रजगज ।

तिम्रो अङ्ग अङ्गमा वर्षिरहेथ्यो पानी । पानीभन्दा बढी वर्षियो ठण्डी । त्योभन्दा अझ धेरै वर्षिरहेछ जीव र वनस्पतीको कुँजोपन । तिमीले घुम्लुङ्ग कुहिरो ओडिरहिथ्यौ । सक्कली ढाकाको बर्को सर्‍याक सुरुक गरेझैं कुहिरोले कहिले यताको र कहिले उताको अङ्ग छोप्दैथ्यो । कुहिरोले छोपेको मौका पारेर मजाले नुहाउँदिरहिछ्यौ तिमी । तिमी उदाङ्ग भएर नुहाएको हेर्न चाहिरहेथें मैले । तिमीले भने छोपिंदै, नुहाउँदै मतिर नजर घुमाइरह्यौ । तिमी त नुहाउँदा यतिविधि लाज मान्नेरहिछ्यौ भने दिदी बहिनीहरूले किन कलेजी अनुहार नबनाउँन् बरा । आखिर लजाउने सिको त तिमीबाटै सिके होलान् मान्छेहरूले ।

नुहाउँदा नुहाउँदै तिम्रो कुहिरे बर्को बिलायो । म हुत्तिएर कोठाबाट बाहिर निस्कें । वाह ! हुम्ला तिमी त अर्कै भइसकेकी रहिछ्यौ । सेताम्य भैसकेछ तिम्रो कलेवर । सिमकोट मास्तिरको डाँडा होस् वा पञ्चमुखी हिमाल तलतिरको कछाड होस् वा स्याँडा गाउँको शिर होस् वा कर्णालीको काँध र किनार, जतासुकै हिउँ, जतासुकै कपासको तङ्गिन । अस्तिसम्म मर्निङ्गवाकमा जाने गरेको हुमाने खोलाबाट बगिरहेछन् नौनी धाराहरू । डाँडाहरूमा बाक्लो लेप लागेको छ नौनीको । हिल्दूम र बुरांउसेका काँधदेखि कम्मरसम्म पुरै नौनी भण्डारले भरिइरहेछन् । पूर्व उत्तरको रल्लिङ त झन् चाँदीकै चुली बाहेक केही देखिंदैन । दीपेन्द्रजी र मैले भुइँमा जमेका हिउँडल्ला बार्दलीमा सजायौँ र जस्ते छानामा लहरा बनेर झुण्डिरहेका हिउँ धारामा मन रङ्गिन पार्‍यौँ ।

पुराना बासिन्दाहरूले भने– ‘हुम्लामा यतिछिट्टै यतिधेरै हिउँ परेको थाहा थिएन ।’ कार्तिकदेखि मात्र पाइतालासम्म हिउँमा डुब्थ्यौ रे तिमी । यसपालि राम्रै गर्‍यौ, म भेट्न आएको बेलामा तिमीले वास्तविक स्वरूप देखायौ ।

पत्र पत्रका खात लागेका छन् हिउँका । भावुक मन उच्छल बनेर फैलिरहेछ कुहिरोका कणहरूमा । हिउँ बाहेक केही नदेखिँदा बदलिएझैँ लाग्दैछ संसारको परिभाषा । हिउँको अथाह भण्डार हुँदाहुँदै किन हिउँका कण कणलाई कमाइमा रुपान्तरण गर्न सकेनौँ हामीले ? एउटा प्रश्न पहाड बनेर उभियो मेरो सामु । हुम्लाको जत्तिकै हिउँ छ रसियाको मस्कोमा । हिउँको ठूलो दरबार बनाइएको छ गार्बुस्कामा । ठूला ठूला ढोका र झ्यालहरू छन् । आकर्षक कोठाहरू छन् । झाड फानुसभन्दा सयौँ गुना आकर्षक ढङ्गमा चम्किरहेछन् आकर्षक दीपहरू । नीला, राता र पहेंला बत्तिहरूले मोतिभन्दा चम्किरहेछ दरबारका खण्ड खण्ड । ढोकामा सिपाहीहरू पहरा दिइरहेछन् । दरबारका चोक चोकमा धूपीहरू चम्किरहेछन् । भालुका बथान हिंड्न खोज्दैछन् हिमसंसारमा । त्यो सबै बनाइएको रहेछ हिउँबाट । हिमकलाको त्यो उच्छट्ट सुन्दर दृश्य हेर्ने जमातमा मैले पनि उभिने मौका पाएको थिएँ एकपटक । त्यो चिसोको उच्छलनमा भोडकाको ताप समेट्दै नाच्नेहरूको भीड थियो त्यहाँ । हाम्रा हिमालहरूमा पनि त्यस्ता हिमकला सजाउन सके के छुन्थ्यो होलार हामीलाई दरिद्रताले । यी हिमालहरूमा हिउँकै मूर्ति, हिउँकै होटल बनाउन सके पैसाको खनरो नलाग्ने कुरै थिएन । हुम्लामा पनि हिमकलाका सङ्ग्राहालय सजाउन सके अलि सार्थक रूपमा खुल्थ्यो कि त्यतातिरको जीवन सौन्दर्य । केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा–सम्मेलनहरू गराउन सक्ने हो भने ह्वात्तै अरू बढ्थ्यो हाम्रो हिममहकता ।

हिउँ खनिइरहेछ, झरीको लहरा छुटिरहेछ । पाउँबाडा, लादेबाडा, सिमकोट, तल्लोगाउँ, हिल्दुम, बुराउँसे सबैै गाउँहरूले धूवाँ ओकलिरहेछन् । बेला बेलामा कुहिरोले सबै कुरा पूरै ढाक्छ र केही देखिँदैन । एकै क्षणमा कुहिरो फाट्छ । लहरहरूमा सेताम्य समुद्र लडिबुडी खेलेजस्तो लाग्छ । धूपीका काप कापमा हिउँको आलिङ्गन छ, फापरबारीमा हिउँ र फापरको फूलले गुलावी सारीको सप्को लथालिङ्ग भएझैं भइरहेछ । शत्रुले बेस्मारी भकुरेपछि लखतरान हुँदै बल्लतल्ल उभिएको सिपाही जस्तो बनिरहेछन् चिनो र कागुनुका पाटाहरू । सूर्यनै नदेखेपछि मोहनी हराएकी प्रेमिका बनेकी छे सूर्यमुखी । हिउँले उच्छन्न पार्न खोज्दैछ सूर्यमुखी र स्याउको रङ्ग । कच्याककुचुक पार्न खोज्दैछ हिउँले पातको अस्तित्त्व । एउटा महामारी फैलिएको छ पातहरूलाई र रुखहरूलाई । कोणधारी पातहरूले चुमिरहेछन् हिउँलाई देवदारका पोथ्राहरूले । अस्ति अस्ति कल्याङकुलुङ गर्ने चराका जमात रातारात श्रीनगर वा कालिका गाउँका समथरतिर बसाइँ सरे कि ? कसैको केही चहलपहल छैन । घोर्ले कागहरू भने भोटे कुकुर भुकेझैं हिउँ प्रलयसँग धावा बोल्दै बस्ती बस्ती चहारिरहेछन् ।

हिमधूनको मूर्च्छना सुन्ने जीव, जन्तु र मान्छेको चहल पहल लेदो बनिरहेछ बस्ती बस्तीमा । अघिल्लो दिन सिमकोट बजारको कुनाकानी नजर छरेँथेँ । सुनसान थियो सिमकोट बजार । आकासबाट हिउँ समुद्र झरिरहेथ्यो । जमिनमा जतासुकै खहरे लडिबुडी गरिरहेथ्यो । पानीको गाढले खुट्टा टेक्ने ठाउँ कतै थिएन । बाटामा मान्छेहरूको उपस्थिति शून्यप्रायः थियो । हिँडिरहेका केही मान्छेहरू बिजुली पानीको उर्जाले ‘आन्द्रा लागे छुत्ति खेल्न तिघ्रा लागे काम्न, सक्तिन महाराज यो ओहदा थाम्न’ भनेंझैं लडखडाइरहेथे । वसन्त चोकको ओरालोबाट एयरपोर्टतिर ओर्लंदै थिएँ । एक दाइले गाउँ नै थर्काउने गरी झ्यालबाट चिच्याए, ‘ए सार क्यान चिसोमा हिँडेको आ बारु आराक खाएर जा ।’ दाइलाई नशाले सुरो बनाएको थियो । तैपनि मप्रति उनले सुकिलो स्नेह फिँजाएका थिए ।

माटे एयरपोर्टमा खोलो पसेछ । खोलोले खोल्सी खन्दै खोंच बनाइसकेछ दिनभरमा । झरी छिचोल्ने आँट नगरेर नेपालगञ्जबाट प्लेन नआएको छ दिन भैसक्यो । एयरपोर्टमै भल पसेर चिरा चिरा पारेपछि त्यसलाई पुरपार गर्न अझ कति दिन लाग्ने हो । त्योभन्दा पनि तिमीले नुहाइसक्ने पो कहिले हो हुम्ला । तिमीले नुहाइ नसकि यहाँ कसैले केही शुरु गर्नेवाला छैन ।

हुम्ला अस्पतालबाट फर्केका एकजना शिक्षक भेटेथेँ अस्ति । पेट दुखेर अजार बजार गर्दैथे बिचरा । हुम्ला अस्पतालका हेल्थ असिष्टेन्टले उनको पेटमा पत्थर जमेको आशङ्का गरे तर अस्पतालमा एक्सरे मेशिन नभएकोले यकिन गर्न सकेनन् । तुरुन्त नेपालगञ्ज जाने सल्लाह त दिए स्वास्थ्यकर्मीले तर, उता जाने साधन छैन । एक्कासी ठूलै व्यथा शरीरमा पस्यो भने त भगवान् भरोसा भन्नु बाहेक केही उपाय रहेनछ हुम्ला तिमीमा । हुम्ली साथीले हिजो भन्दैथे– गत वर्ष नेपालगञ्ज घर भएका एक सहलेखापालको ठण्डी लागेर हुम्लामै निधन भयो । कयौँ दिन हेलिकप्टर, प्लेन केहीको आवतजावत भएन । नेपालगञ्जका उनका आफन्त हुम्ला पुग्न नसक्ने, लाश नेपालगन्ज लान नसकिने । एक्काइस दिन कुर्दा पनि बायुयान हुम्लामा पदार्पण गर्न नसकेपछि कर्मचारी साथीहरूले हुम्लामै सद्गत गरिदिए उनको । आफन्त वियोगको खबर पाउँदा कयौं दिन प्लेनको पखेंटा नदेखेर कोकोहोलो हाल्नेहरू पनि धेरै भेटिए ।

दशैं नजिक आइसकेको छ । सिमकोट एयरपोर्ट चिराचिरा भएर खहरे सुसाइरहेछ । झरी थामिने कहिले ! एयरपोर्ट मर्मत–संभार हुने कहिले ! ‘लौ अब यसपालिको दशैं पनि तिमीसँगै मानिने भयो कि कसो’, मनमा एउटा उद्वेग उचालियो । एयरपोर्टको छेउमा उभिएर हेरेँ, एयरपोर्टको पश्चिम भागमा पूरै सेतो चलमल गरिरहेछ कुहिरो लेपसिएझैं । त्यो त भेडा च्याङग्राको बथान रहेछ । हिउँका गुजुल्टा झरिरहेछन् तर भेडाहरू एयरपोर्टमा घाँस चिमोट्दैछन् । तिनीहरूलाई हिउँले चिमोटेको छैन, झरीले चिस्याएको छैन, जाडोले जिरिङ्ग पारेको छैन । भेँडाहरू कुहिरो जस्तै कुलुङमुलुङ फैलिन्छन्, पहाड जस्तै सीधा र साहसी हुन्छन्, जमातभन्दा बाहिरी संसार उनीहरूको लागि पाच्य छैन । विचराहरू नून बोक्छन्, चामल बोक्छन् । कहिले हिल्सातिर हुत्तिन्छन्, कहिले मुगु र कालिकोटतिर हानिन्छन्, हुम्लाभित्रकै गाउँहरूमा त कति हो कति । यो सुधो र साहसी प्राणी पनि नभेटेका भए अझ कति कष्टकर बन्थ्यो होला त्यताको जीवन । जिन्दगीमा कसैलाई पनि सुख छैन । पिठ्युँमा दुईतिर पुटुक्क पोको बोकेर उकालो ओरालो गर्दागर्दै काटिन्छन् । प्लेट प्लेटमा बाँडिन्छन् । दाँत र पेटलाई साम्य पार्दछन् । तैपनि जिन्दगी पाउँन जत्तिको खुशी केही छैन जीवनमा । दुःख नभए कसरी मिल्थ्यो र सुखको अनुभूति । दुःख बाहेक जिन्दगीमा अरु सुख छैन । बु्रक ब्रुक उफ्रँदै, भ्याँ भ्याँ र भुँ भुँ गर्दै, जुध्दै, थाकलका काँडाहरू र घँघारुका मुनाहरू चिमोट्दै खुशी साटिरहेका भेडाहरूले दुःखै दुःख माझ अलिकति खुशीको टुक्रा च्यापिरहेझैं लाग्छ ।

एयरपोर्टको पूर्वी कुनामा झुमा र झुपाहरू चरिरहेछन् । हिमालभरी हिउँले ढाकेकाले पाँच छ महिना अघिदेखि हिमालका खर्क र पाटनका चरनहरूमा चराउन छोडिएका झोपा, झुमा, घोडा, खच्चर र गधाहरूलाई गाउँलेहरूले घर–बस्तीतिर ल्याएकाले एक्कासी सिमकोट बस्तुभाउमय बनिरहेछ । बस्तुभाउको सिलिङमिलिङ छ, ड्वाँ ड्वाँ र डुँ डुँ छ । डाँडाकाँडा, पाटा, खोल्सा, उकालो, ओरालो जतासुकै बस्तुभाउ सल्बलाइरहेछन् । हिउँमा भिज्दै हिउँमाथि चल्मलाउने बस्तुभाउ हिउँलाई जित्दै जवानी प्रस्तुत गरिरेरहेछन् । ‘चिसोतातो त बहाना मात्र हो अवरोध होइन’, यही बुझिँदैछ बस्तुभाउका ब्रुक ब्रुकबाट ।

घरी घरी कमिलाको ताँतीमा असरल्ल लडिरहेका फट्याङ्ग्रा बनेका छन् सिमकोटे घरहरू । मोटा र काला कुकुरहरू चौरभरी दौडादौड गरिरहेछन् । अविरल झरी उनीहरूकोलागि परवाहको विषय होइन । गोठालाहरू पोलिथिन सिटले टाउको जोगाउँदै लडालड गर्दैछन्, घुस्सरपञ्जा गर्दैछन् । उनीहरूको अनुहारमा असन्तोषका रेखाहरू छैनन्, अभावका चित्रहरू च्यातिंदैछन् । थोरैमा धेरै महसुस गर्नु जिन्दगीको अर्को मजा देखिइरहेछ । मार्चपास गरिरहेका सिपाहीको जत्था जस्तो कुहिरोमा लुकामारी खेल्दै साथी साथीमा लडभीड गर्नु जिन्दगीको अरू आनन्द खुलिरहेछ ।

बिहान रोकायबाडाका पुसे रोकायासँग भेट भएथ्यो । हिउँले छिया छिया पारेको रहेछ उनको अनुहार । अभावको कालो कुहिरोले पचास वर्षे उनको चाउरीको खोल्सा ढाकिरहेथ्यो । ‘हम त मर्ने भो सा’व, यसपालि गाउँ गाउँमा धेरै मान्ठा गैजाने भया’, पुसेले पातपतिङ्गर बिहीन पुसे स्याउको बोटजस्तै अनुहारमा बोले । ‘यो झरीले चिनो, कागुनु, कोदो सबै जमिनमै सुते, फापर र मार्से इलिमिली भो’ अब कसरी बाँच्ने ? कहिन हुने त हिल्सा जालान् राशन ल्याउँदा हुन् नहुनेले क्या कर्नु’, अवसाद विषादको कालो बादलले बेसरी रिङ्गाइरहेथ्यो पुसेलाई । पुसेको कुरा सुन्दा केही दिन अगाडि नेपालगन्जमा भेटेका एक नेतालाई सम्झें । उनी भन्थे, ‘हुम्लामा हिउँ र पानीले उच्छट्ट गर्छ । पानी परेपछि हुम्ली आफंै हिउँ बन्छन् र घाँस खान्छन् ।’ दिउँसो बुराउँसे निवासी नेपाली काँग्रेसका जिल्ला सभापतिले पनि त्यसै भने । तिमीले नुहाउँदा अनाजहरू झर्दा रहेछन् । बालीनाली ढल्दा रहेछन् । बरु, हुर्कन, फक्रन र फुल्न थाल्दा रहेछन् कुटूकी, जटामशी, यार्शागुम्बा, बाजडी र अरू के के हो के के जरीबुटीहरू । तिनै जरीबूटी र वनस्पतीहरू पनि नभेटिने हो भने कसरी प्राण धान्थे होलान् विचरा हुम्लीहरूले ।

साँझपख तिमीले नुहाइसकिछौ । जो सुकैले पनि नुहाइसक्नु आफैंमा सौन्दर्यको प्रकाश प्रष्फुटित गर्नु हो । त्यसमा पनि तिमी मेरी प्रेमिका, मेरी पूजा र मेरी आराधना । मन परेकाले नुहाइदिनु आफ्नै मन सफा स्निग्ध र चञ्चल हुनु हो । तिमीले बिस्तारै कुहिरे खास्टो तान्दैतान्दै लुकायौ । बादलु घुम्टोलाई कच्याककुचुक पारेर कता हुत्यायौ कता । र, भन्यौ, ‘चिन्यौ मलाई ?’ सपना हो कि विपना, म आफैंमा हर्षले बेहोस् बनिरहेथेँ । अस्तिसम्म तिम्रा केही अङ्ग काला थिए, केही अङ्ग फुस्रा र खस्रा देखिन्थे, कतै झुकेकी थियौ, कतै फुकेकी थियौ, भएका अलिअलि चिमाल र धूपीका पोथ्राहरू पनि ठण्डी खप्न नसकेर बिरामी थिए । त्यसैमा पनि अत्यन्त लोभलाग्दी थियौ तिमी । आज त मैले कुनै हालतमा तिम्रो सौन्दर्यको बयान गर्न सक्तिन । नुहाइसकेर उभिँदा तिमी नौनीकी मूर्ति बनिछौ । हिउँकी रानी बनिछौ । फटिकको मूर्ति जसरी उभिएर काखैमा च्यापेकी छ्यौ मलाई । सर्वाङ्गलाई श्वेत बस्त्रले ढाकेर घरी घरी श्वेत पवनको साथमा तिमीले शालीन श्वेतगीत गाउँदा फिका फिका लग्दा रहेछन् मान्छेले सिर्जेका चुड्का, ख्याली, असारे बालन, झ्याउरे, रक, पप, ज्याज, विथोवन र मोत्सार्ट धूनहरू ।

तिमीले सिर्जेको असीम शीतल खप्न नसकेर, असीम सौन्दर्य थेग्न नसकेर लुकेका छन् गुँड गुँडमा शीत्कार निकाल्दै मान्छेहरू ।
प्रकृतिको अत्यधिक सौन्दर्य खप्न नसकेर अप्ठेरोमा पो होमिदा रहेछन् कहिलेकाहीँ मान्छेहरू ।
हे शीताद्रि !
म तिम्रा कुन अङ्ग चुमु, कुन अङ्ग अँगालुँ त्यसै त्यसै तिम्रो महकमा मातिइरहेछु ।

मान्छेहरूले एउटा ललनी गाउँन थालेका थिए, ‘जाडो बढ्यो, चिसो चुलियो ।’ म तिम्रो माया र सौन्दर्यमा मातिएर भित्रभित्रै तातिरहेछु । तिमी कतै पूरै चिनीको राश बनेर उचालिँदै छ्यौ, कतै दूधधारा बनेर बग्दैछ्यौ, कतै दौडन ठिक्क परेको अरवी घोडाको पिठ्युँ जस्तो छिर्केमिर्के बनिरहिछ्यौ । वन बुट्यानका जराहरू बिरामी पातहरूलाई तिलाञ्जलि दिन तम्सेर नयाँ पात फेर्ने उम्मिदमा तिमीलाई आमन्त्रण गरिरहेछन् । गाउँ बस्तीका बहादुरहरू तिम्रो स्वागतमा हतार हतार जोगोमेसो मिलाउँदैछन् । आखिर परिवर्तनको अनुभूतिनै त रहेछ जिन्दगीको रमाइलो पनि । कयौँ दिनरात कोठाभित्र कागजे जिन्दगी बाँच्दैछु म । कागजको खेत, कागजको बारी, कागजको पहाड, कागजको खोँच सबैै सबैैबाट अनुशीलन गर्दैछु आर्थिक अनुशासनको । घोडमच्चा चिया, फापर र कोदोको रोटी र बन्दाको तरकारीले उज्यालो बनाउँदैछ प्राणलाई ।

कहिलेकाहीँ कुहिरो खुलेको बेला वारिपारिका गाउँहरूमा धूँवाको जुलुश उठेझैं देखिन्छ । अँगेनाको आडमै ब्युँतिरहेछन् कार्यालयहरू ।

भैगो आजलाई नुहाउन पुग्यो हुम्ला । आऊ, आज रातभर तिमी र म हिउँ खेल्दै तातौं र हाम्रो माया दूर दराजसम्म पुर्‍याऔँ ।

हुम्ला तिमी नुहाउँदा राम्री, ननुहाउँदा झनै राम्री । तिमीले नुहाउँदा म अँगेनाभरिको आगोलाई मेरो मायाको चास्नीमा घुलाएर तिमीलाई सेकिरहनेछु ।

डस्न सक्तैनन् ठण्डी र आगोले मायाका मिहिन मुहुनाहरूलाई ।

गोंगबुँ, काठमाडौ।

प्रतिक्रिया दिनुहोस्: