प्रज्ञा-प्रतिष्ठानद्वारा नेपालभाषाका स्रष्टा सम्मानित

११ माघ २०८१

काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान भाषा (मातृभाषा,कोश र व्याकरण) विभागको तत्त्वाबधानमा  ‘नेपालभाषाका स्रष्टाहरूलाई कदरपत्र समर्पण’ गरिएको थियोे । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले कार्यक्रमको समुद्घाटन गर्दै नेपालभाषा ,साहित्य र संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका स्रष्टाहरू तेजेश्वरबाबु ग्वङ्गः,नारायणदेवी श्रेष्ठ, प्रकाश प्रधानाङ्ग, सुवर्ण शाक्य,नवीन चित्रकार, सत्यभामा माथेमा, प्रा.डा. तुयुबहादुर महर्जन, मथुरा सायमी, अपर्णा प्रधान, सौरभ शाक्य, श्याम आशा र रामेश्वर भुजु गरी १२ जनालाई नगदसहित कदरपत्रद्वारा सम्मान गर्नुभएको थियोे। यस अवसरमा कुलपति राईले तत्कालीन राज्यसत्ता मातृभाषा प्रति अनुदार रहेको समयमा पनि नेपालभाषा र साहित्यको साधना गर्नु भनेको खास चुनौती, अभियान र आन्दोलन भएको बताउनुभएको थियोे।

नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ (विमल निभा) ले सदियौँदेखि उत्पीडनमा परेका मातृभाषाका स्रष्टाहरूलाई कदर गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै यो एक प्रतीकात्मक सम्मान रहेको बताउनु भएको थियोे ।

नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले स्वागत मनतव्यका क्रममा साधन र स्रोतको अभावले प्रज्ञा-प्रतिष्ठानका कतिपय ठोस काम गर्न कठिनाइ रहेको बताउनु भएको थियोे । उहाँले नेपालभाषामा विशिष्ट योगदान पुर्याएका स्रष्टाहरूलाई मायाको चिनोस्वरूप कदरपत्रसम्म प्रदान गर्न सकिएको बताउँदै मातृभाषाको संरक्षणमा प्रतिबद्ध रहेको बताउनु भएको थियोे ।

कार्यक्रमका सभाध्यक्ष, नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा मातृभाषा, कोश र व्याकरण विभाग प्रमुख त्रैलोक्यमान बनेपाली ‘अगिव’ ले नेपालभाषा साहित्यका ज्येष्ठ स्रष्टालाई प्रज्ञा-प्रतिष्ठानको तर्फबाट कदरपत्रले भने पनि सम्मान गरेर थप हौसला प्रकट गरेको बताउनुभएको थियोे । उहाँले यस्ता कार्यक्रमहरू सबै मातृभाषाका स्रष्टासम्म पुर्याउने बताउनु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्: