‘अविरल यात्रा’मा कवि तिमल्सिनाका कविता गुञ्जिए

१४ माघ २०८१

काठमाडौं, माघ १२ गते शनिबार । राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले ‘अविरल जनसाहित्य यात्रा’को ९५ औँ शृङ्खलामा साहित्य सिर्जना, सरकारी तथा अर्धसरकारी वा गैरसरकारी सेवा, विभिन्न सङ्घसङ्गठन एवम् संस्थाहरूमा नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेका काठमाडौँका अग्रज एवम् सशक्त प्रगतिवादी स्रष्टा देविका तिमिल्सिनाका एक दर्जन कविता गुञ्जिए ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहको अध्यक्षता राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालका अध्यक्ष राम विनयले गर्नुभएको थियो भने अविरल जनसाहित्य यात्रा परिचालन समितिका सदस्य ज्ञानु विद्रोहीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

डा.हरिप्रसाद सिलवालले कविनायकको परिचय दिनुहुँदै वि.सं.२०११ भदौ २ गते चाबहिल, काठमाडौँमा माता शुभद्रा तिमल्सिना र पिता रघुनन्दन तिमल्सिनाका सुपुत्रका रूपमा जन्मिएका देविका नन्दन तिमल्सिना साहित्यमा देविका तिमल्सिनाका नामबाट कलम चलाउनुहुन्छ । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा सनातकोत्तरसम्मको शिक्षा हासिल गर्नुभएका उहाँले २०३० सालमा ‘खियाऊ हातका नङ्ग्रा’ शीर्षकको कविता छपाएर नेपाली साहित्यमा प्रवेश गर्नुभएको र ‘मृत्यु दोस्रो पुस्ताको’ २०४४, ‘सीमाहीन सीमा’ २०५१ र ‘पृथ्वी आफ्‌नै कक्षमा घुमिरहेछ’ २०७४ जस्ता कथासङ्ग्रह प्रकाशित गराउनुभएको छ । त्यसैगरी ‘अन्त्य कहाँबाट सुरु हुन्छ ?’ कवितासङ्ग्रह २०८० पनि उहाँको प्रकाशित भएको छ । पौने एक दर्जन साहित्यिक तथा अन्य पत्रपत्रिकाको सम्पादनसमेत गर्नुभएको थियो, भन्नुभयो ।

समारोहका अध्यक्ष राम विनयले आजको यो विशेष समारोहमा हाम्रो आमन्त्रण स्वीकार गरी उपस्थित भइदिने कविनायक, प्रमुख अतिथि, अतिथिहरू तथा स्रष्टाहरू सबै सबैलाई हार्दिक स्वागत गर्दछु भन्नुहुँदै स्पष्ट विचारका साथ सामाजिक रूपान्तरणका पक्षमा सन्देश सम्प्रेषण गर्दै सहित्यको सिर्जना गर्नुपर्ने हाम्रो मान्यतालाई आत्मसात गर्ने यिनै कुशल स्रष्टाका एक दर्जन कविता र ती कवितामाथिको समीक्षा आज हामी सुन्ने छौँ, भन्नुभयो ।

कविनायक देविका तिमल्सिनाले कविता सिर्जनाको रचनागर्भका बारेमा जानकारी गराउँदै आफूले कविता सिर्जनाबाटै साहित्ययात्राको थालनी गरेको र निरन्तर साधना एवम् आफ्‌नो क्षेत्रबाट सामाजिक रूपान्तरण अभियानमा केही न केही योगदान गर्नुपर्छ भनेर जीवनपर्यन्त क्रियाशील रहँदै आएको बताउनुहुँदै रचनागर्भको जानकारीसहित ‘कसको कविता सुनाऊँ’, ‘दोहन जारी छ’ ‘अझै रात असुरक्षित छ’, ‘लोकतन्त्र र समाजवाद’, ‘बाटै बिर्सियो !’, ‘मान्छे अर्थात् जनता’, ‘प्रकृति र मान्छे’ र ‘आआफ्‌नो अधिकार’ शीर्षकका अत्यन्त उत्कृट, सशक्त एवम् सुन्दर वैचारिक आठओटा गद्यकविता वाचन गर्नुभएको थियो । त्यसैगरी सहयोगी कविहरू डम्बर पहाडी ‘एकलाक’ले ‘भुइँमान्छे’ शीर्षकको गद्यकविता, दिवा तिमल्सिनाले ‘लेटाङ ! तिमीलाई सम्झिरहेको छु’ शीर्षकको, मन ढुङ्गाना तिमल्सिनाले ‘रारा र म’ शीर्षकको र शार्दूल भट्टराईले ‘श्रमिक र समृद्धि’ शीर्षकको कविता गरी चारओटा त्यस्तै सुन्दर, शालीन तर सशक्त वैचारिक कविता वाचन गर्नुभएको थियो ।
वाचित एक दर्जन कवितामाथि टिप्पणी गर्नुहुँदै समीक्षक वरिष्ठ स्रष्टा उमेश उपाध्यायले अविरल जनसाहित्य यात्राको यो सोद्देश्यमूलक अभियान ९५ औँ शृङ्खलामा पुगेको छ । यो अभियानमा उपस्थित भएर आज कुशल एवम् अग्रज स्रष्टा देविका तिमल्सिनाका एक दर्जन कविता सुन्ने र ती कवितामाथि टिप्पणी गर्ने अवसर पाउँदा खुसी पनि लागेको छ । गहन दर्शन र चिन्तनलाई कविले काव्यमा वाणी प्रदान गरेको हुन्छ । कविको शाश्वत चिन्तन कवितामा उतारिएको हुन्छ । कवितामा काव्यात्मकता, लालित्य, विम्ब, प्रतीक र अलङ्कार चाहिन्छ सोझो अभिवयक्ति कविता हुनसक्तैन । आजका कविले आफ्‌नो जीवनको विगतको चालिस वर्षको अवधिका कविता सुनाउनुभएको छ । सुनिएका सबै कविता भावनात्मक गहिराइ र विम्बात्मक उचाइका रहेका छन् । कवितामा मानवीय पक्ष, प्रकृतिको पक्ष तथा लथालिङ्ग वर्तमानको समेत जीवन्त रूपमा चित्रण गरिएको छ । आम मान्छेको आबाज, समाजमा विद्यमान विभेदको चित्र र असमानताप्रतिको आबाज कवितामा मुखरित भएको पाइन्छ । सबैभन्दा बढी पसिनाको शोषण र विभेद मानिसले गरेको यथार्थलाई कवितामा उजागर गरिएको छ, भन्ने धारणा राख्नुभयो ।

प्रमुख अतिथि प्रेमनाथ अधिकारीले अविरल जनसाहित्य यात्राको यो पञ्चानब्बेऔँ शृङ्खलामा आज सक्रिय, सशक्त एवम् अविश्रान्त प्रगतिवादी अग्रज कवि देविका तिमल्सिनालाई सुनियो । रूपान्तरणको पक्षमा सशक्त विचारसहितका कविता हामीले सुन्यौँ । अहिलेका हाम्रा सिर्जनामा मान्छेले तलसम्म बुझ्‌ने विषय र पक्षधरता आवश्यक छ । आजका कविताले त्यो धर्म निर्वाह गरेका छन्, भन्नेसमेतको धारणा राख्नुभयो ।

समारोहमा हाम्रो आमन्त्रण स्वीकारी उपस्थित भइदिनुभएका प्रमुख अतिथि, अतिथिहरू, साहित्यानुरागी व्यक्तित्व तथा समारोहका कविनायक तथा परिवारका सदस्यलाई धन्यवाद दिँदै सङ्घका उपाध्यक्ष रमेश पोखरेलले अब हामी फागुन महिनामा ९६ औँ ‘अविरल जनसाहित्य यात्रा’मा नेपाली प्रगतिवादी साहित्यमा निरन्तर क्रियाशील रहिरहेका स्रष्टा दिल पौडेललाई प्रस्तुत गर्ने छौँ, भन्ने जानकारीसहित कार्यक्रमको समापन गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्: