काठमाडौ, माघ २० गते। कवि तथा कलाकार हेम पौडेलको प्रथम स्मृति दिवसका अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकको संयुक्त आयोजनामा चित्रकला प्रदर्शनी, पुस्तक विमोचन तथा पुरस्कार वितरणको साथ मनाइएको छ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालको सभाहलमा आयोजित गरिएको उक्त कार्यक्रमको सभापतित्व प्रतिष्ठानका कुलपति नारदमणिले गर्नुभएको थियो भने नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति भुपाल राईको प्रमुख आतिथ्य तथा हेम पौडेलकी जीवनसाथी तथा प्रशिद्ध बालसाहित्यकार गङ्गा पौडेल कर्माचार्य एवं सयौंको सङ्ख्यामा उपस्थित साहित्यिक क्षेत्रका प्रवुद्ध व्यक्तित्वहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममका प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति राईले कवि तथा कलाकारका रूपमा प्रशिद्धि कमाएका हेम पौडेल एक दुरदर्शी कलाकार रहेको बताए । उनले चरालाई बिम्ब बनाएर कलाको सृजना गर्नुभनेको वातावरणीय सन्तुलनमा जीव जन्तु किटपतङ्ग आदिको प्रमुख भूमिका रहेको सत्यलाई उजागर गर्नुरहेको बताउँदै कवि तथा कलाकार पौडेल जनमनमा युगौं बाँचिरहने विचार व्यक्त गर्नुभयो।
ललितकला प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले स्वर्गीय हेम पौडेलको कृतित्व र व्यक्तित्वका बारे प्रकाश पार्दै
प्रथम स्मृति दिवसका अवसरमा चित्रकला र कविता प्रतियोगिता एकसाथ गराएर नयाँ पुस्तासँग सम्बन्ध सेतु स्थापित गर्ने रूपमा रहेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकको संयुक्त रूपमा आयोजित यस कार्यक्रममा चाहेर पनि समग्र कार्यक्रमलाई प्रतिबिम्बित पार्ने गरी बुकलेट तयार पार्न नसकिएको बताउँदै चित्रकला प्रदर्शनीको समय केही बाँकी नै रहेको हुनाले त्यसलाई व्यवस्थित गर्न सकिने बताउनुभयो ।

स्वागत मन्तव्यका क्रममा सञ्जय बान्तवा राईले एउटा सर्जक जैविक रुपमा विलिन हुन सक्छ तर प्रकृतिसँगको सामिप्यता, सिर्जनामा मौलिकता र शिल्पगत विशेषता रहेका सृजना शक्तिले अमरत्व प्राप्त गर्ने हैसियत पनि सर्जक स्वयंले निर्माण गर्ने ल्याकत राख्ने विचार व्यक्त गर्दै साहित्यिक कलाकारका रूपमा हेम पौडेल सदैव जीवित रहने बताए ।
कार्यक्रममा बालसाहित्यकारतथा प्रशिद्ध सर्जक गङ्गा कर्माचार्य पौडेलद्वारा आफ्ना दिवङ्गत श्रीमानको स्मृति सभामा उपस्थित भइदिनु हुने प्रमुख अतिथि,अतिथि लगायत आफन्त, इष्टमित्र, नेपाल ललितकला प्रज्ञा—प्रतिष्ठानप्रति आभार व्यक्त गर्दै हेम पौडेलको कतिपय चित्रकलालाई संरक्षण गर्न नसकेकोमा दुखेसो व्यक्त गर्नुभएको थियो । साथै प्रतियोगितामा भाग लिनेहरुप्रति धन्यवाद र निर्णायकहरु आभार व्यक्त गर्दै हेममा समर्पित ‘पुनर्जन्म भएपनि हजुर नै पति पाऊँ’ शीर्षकको कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा २३ जना कविहरुले सहभागिता जनाएको कविता प्रतियोगितामा क्रमशः तृतीय र द्वितीय स्थान हासिल गरेका सुन्दर ‘शिरीष’ तथा अनिता ढकालले आ-आफ्ना रचना वाचन गरेका थिए भने देश बाहिर रहेका प्रथम स्थान हासिल गर्ने अनाम ‘उपेक्षित’ को कविता वरिष्ठ कवि ललिता दोषीद्वारा सुन्दर रुपमा वाचन गरिएको थियो ।
यसैक्रममा अन्तरविद्यालय स्तरीय चित्रकला प्रतियोगितामा क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने करिना बस्नेत, चिराग राई तथा शीतल महर्जनलाई पुरस्कृत गरिएको थियो । सो अवसरमा हेम पौडेलका कविता र बहुआयामिक व्यक्तित्व कृतिको समेत लोकार्पण गरिएको थियो । कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिक पत्रिका का प्रबन्ध सम्पादक, तथा प्रकाशक निबन्ध आचार्यद्वारा सहजीकरण गरिएको उक्त कार्यक्रम भव्य एवं सभ्य रूपमा सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस्: