पारामाउण्टमा किड्स प्यारेन्स डे र श्रीपञ्चमी पूजा

२२ माघ २०८१

काठमाडौं, माघ २१ गते सोमबार । श्रीपञ्चमीको पावन अवसरमा टोखा–८, बनियाँटार स्थित पारामाउण्ट एकेडेमी/पीए कलेजले किड्स प्यारेन्स  डे, सरस्वती पूजा, अक्षरारम्भ, विविध सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरण कार्यक्रमको आयोजना गरेको छ ।

विद्यालयका प्रिन्सिपल मुकुन्दप्रसाद पाण्डेको सभापतित्त्व र संविधान सभाका सदस्य तथा नेपाली काँग्रेसका नेता जगदीश्वरनरसिंह के.सी.को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नर्सरीदेखि ३ कक्षासम्मका विद्यार्थी भाइबहिनीहरूले गीत, सङ्गीत, नृत्य, कविता, भाषण, फेशन शो, लोकदोहोरी आदि विविध प्रस्तुतिहरू प्रदर्शन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जगदीश्वरनरसिंह के.सी.ले पारामाउण्ट यस क्षेत्र खास गरी टोखामा रहेका विभिन्न विद्यालयहरू मध्येमा उत्कृष्ट रहेको बताउँदै तपाईं अभिभावकहरूले आफ्ना बाबुनानीहरूलाई भर्ना गर्न ल्याउँदा अन्यत्रका विद्यालयहरूमा बुझेर ल्याउनुभए हुन्छ, तर यो कुनै स्कुलभन्दा कमी छैन, भन्नुभयो । के.सी.ले विद्यालयमा ल्याएर भर्ना गरिदिएर मात्र अभिभावको जिम्मेवारी नसकिने हुँदा बारम्बार आफ्ना नानीबाबुहरूको पढाइप्रति चासो राखेर विद्यालयमा आएर शिक्षक, प्रिन्सिपल, व्यवस्थापन समितिसँग सम्पर्क राख्ने र विद्यार्थीहरूसँग दैनिक सोधपुछ गर्ने गर्नुपर्छ, भन्ने बताउनुभयो । उहाँले विद्यालय, विद्यार्थी र अभिभावको त्रिकोणात्मक सम्बन्धबाट मात्रै विद्यालयको परिणाम राम्रो आउँछ, विद्यार्थीहरूको भविष्य सुन्दर बन्छ र अभिभावकको लगानी र भविष्यको भरोषा पूरा हुने कुरा बताउनुभयो ।

प्रिन्सिपल मुकुन्दप्रसाद पाण्डेले विद्यालयले नाफा कमाउने उद्देश्य मात्र राखेर काम नगरेको भन्दै अभिभावक र विद्यार्थीहरूको हित र सुविधालाई ध्यानमा राखेर विद्यालयले पठनपाठनलाई अगाडि बढाइरहेको छ, भन्नुभयो । उहाँले विद्यार्थी सफल भए मात्र विद्यालय सफल हुने हो, शिक्षक सफल हुने हो भन्ने कुरालाई ध्यान दिएर आफ्ना योजना, कार्यक्रमहरू बनाइरहेको कुरा बताउनुभयो ।

कार्यक्रममा टोखा नगरपालिका वडा नं.८ का सदस्य अनुप राई र नगरपालिका शिक्षा शाखाका अधिकृत खगेन्द्रसिंह धामीले पनि विद्यालयहरूका समसामयिक विषयका बारेमा प्रकाश पार्नुभएको थियो ।

त्यसअघि पण्डित डा.सत्यराज थपलियाले सरस्वती पूजा, वन्दनाको साथ ससाना बाबुनानीहरूलाई अक्षरारम्भ गराउनुभएको थियो । त्यस अवसरमा ४० जना विद्यार्थीहरू भर्ना भएको र आफूसँग ५० जनाभन्दा बढीको सिट क्षमता नभएको कुरा प्रिन्सिपल मुकुन्दप्रसाद पाण्डेले बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्: