‘टिकट रद्द नगर मलाई पठाइ देऊ’ भन्दै एक प्रौढ महिला युवकसँग हिड्दै थिई । जाडोको मौसम निकै चिसो बढेको थियो । सुतीको सारी लगाएकी, दुई थरी रङ्गको दुईटा पछ्यौरा खप्ट्याएर ओडेकी थिई । केटो भन्दै थियो, ‘आमा हो एक्लै पठाउने कुरो आएन । कोही साथी पाए पठाउँला, नपाए टिकट रद्द गरीसँगै लगौँला ।’ हामी आन्तरिक टर्मिनल भवनबाट अन्तराष्ट्रिय टर्मिनल भवनतिर जाँदै थियौँ । को रहेछ भनी अलि ठूलो पाइला गरी अगाडि गएर सोधिहालेँ, ‘के भयो ?’ यति मात्र के भनेकी थिएँ, महिलाले हर्षित भएर भेटेँ भनी, झ्याप्प समाउन आइन् । मैले महिलालाइ समाउँदै भनेँ, ‘के भयो ?’ छोरोले भन्यो, ‘आमालाई नेपाल पठाउन एक जना नेपाल जाने विद्यार्थी भाइलाईसँगै लान भनेको थिएँ, त्यो भाइ अहिलेसम्म आइपुगेन ।’ ‘हुनदेऊ न त ! हामीसँगै लगौँला’ भनेपछि आमा धेरै खुशी भई । आमालाई हाम्रो साथमा छोडेर छोरो फर्क्यो ।
आमा माहिला छोरोको बिहेको लागि आएको रहिछन् । छोरोले बुबा त हुनुहुन्न भएको एउटी आमालाइ पनि नबोलाई कसरी बिहे गरुँ भनी आमालाई नेपालबाट झिकाएको रहेछ । बुहारी नेपाली भाषा नबुझ्ने आमा अंग्रेजी नबुझ्ने । दुवै छोरा र बुहारी काममा जाने । दिउँसो आमासँग बोल्ने कोही नहुने रहेछ ।
नेपालमा बिहान मन्दिर जाने, पूजाआजा गर्ने, आफ्नो दौतरीहरूसँग कुराकानी गर्ने, सामाजिक परिवेशमा दिन बिताई छोराबुहारी, नातिनातिनीसँग बसिराखेकी उनलाई विदेश बस्न साह्रै गारो भयो । विदेशमा आफ्नो इच्छा अनुसार काम गर्ने वातावरण मिलाउन गारो हुन्छ । भाषा नबुझेपछि मनका कुरा व्यक्त गर्ने ठाउँ पाइँदैन । आफू कतै जान सकिँक्तैन । उनलाई आफू पखेटा काटिएको चरा जस्तै लाग्दो रहेछ । सफा, सुग्घर सम्पन्न सुविधायुक्त ठाउँमा बस्न पाए पनि उनको मन रम्न सकेन । उनलाई कसरी नेपाल आइपुग्ने भन्ने लागेको थियो, भन्थिन् । आफू अनुकुलको वातावरण नभए गारो हुँदो रहेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा जहाज अवतरण गरेपछि लामो सुस्केरा हालेर भनिन्, ‘बल्ल आइपुगे ।’
हाल : नयाँबानेश्वर शङ्खमूल
काठमाडौं
प्रतिक्रिया दिनुहोस्: