संस्मरणात्मक निबन्ध

संसाक परिवारका साथ बितेका केही उल्लासमय क्षणहरू

२७ माघ २०८१
ड़ा गार्गी शर्मा

संसाक (संस्कृति, साहित्य र कला) मासिक पत्रिकाका सम्पादक तथा साहित्यकार उमेश पाण्डेसँग प्रथम परिचय २०६२ तिर भएको थियो र त्यो परिचय आजसम्म पनि सुमधुर रूपमा निरन्तर चलिरहेको छ । पत्रिकाको नामाकरण अनुसार यसले साहित्यलाई मात्र अँगालेको छैन, साहित्यकारहरूको विभिन्न रुचि र आवश्यकतालाई पनि ध्यानमा राखेर हाम्रो संस्कृति र कलाप्रति पनि रुचि बढाउनु पर्छ भन्ने उद्देश्यले कविता वाचन, खेलकुद, विभिन्न चाडवाड तथा केही स्थलगत यात्रा पनि समावेश गरिएका छन् । साहित्यकार भन्ने बित्तिकै मूलतः साहित्य अर्थात् कविता, कथा, निबन्ध, नाटक आदि लेखेर मात्र बस्ने हुन् भन्ने सोचलाई सुधार गरेर साहित्य सँगसँगै हामी हाम्रो संस्कृति र कलातिर पनि लाग्नुपर्छ भन्ने विचार मलाई पनि निकै राम्रो लाग्यो । साँच्चिनै हो कुनै पनि साहित्यकार केवल आफ्नो लेखमा मात्र डुबिरहनुभन्दा विभिन्न चाडवाड, संस्कृति, खेलकुदहरूमा संलग्न हुनसके मन, मस्तिष्क स्वस्थ र उर्वर हुन्छ, सिर्जना पनि राम्रो हुनसक्छ । यही उद्देश्यले संसाक पविारले हाम्रो समाजमा चलिआएका केही महत्वपूर्ण चाडपर्व मनाउने गरिरहेको छ । वि.सं. ले सुरु गर्ने नयाँ वर्षले डोर्‍याउँदै ल्याउने असार १५, साउन १५ अनि तीज, दशैं, तिहार मनाउने, न्वागी खाने, घ्युखट्टे खाने, पुवा खाने, माघेसङ्क्रान्तिमा घिउ, चाकु, तरुल खाने आदि पर्व मनाउन संसाक कहिल्यै बिर्सन्न । यी पर्वहरू कविता वाचनसँग जोडेर मनाइने लहरमा पनि लहरिँदै गएकी छु । हो, संसाकले यी सबै कार्यक्रम एकै र एकलैबाट नगरी संस्थागत रूपमा विभाजन गरेर अध्यक्षको भार पनि सबैमा दिएको छ ।

तर विभिन्न संस्थागत रूपमा विभाजित भए पनि आखिर सबै कर्ता भर्ता एकै परिवार र एकै भान्छाका भएको झैँ लाग्ने यो परिवारमा कुनै बेला कतै पनि मनमुटाव आएको छैन र आउने पनि छैन भन्ने लाग्छ ।

वैशाख तथा हाम्रो नववर्ष नयाँ ऋतु वसन्तले स्वागत गर्दै भित्र्याएको हुन्छ । हेमन्त ऋतुले हाम्रो रुख, बिरुवा सबै सुकाएर उराडलाग्दो बनाएको बेला वसन्तको प्रवेशले मानव जगत् मात्र हैन सबै पशुपक्षी जगत्‌मा पनि उल्लास भरिन्छ । कोइलीको सुमधुर स्वर, रुखरुखमा पलाउने नयाँ मुजुरा, जाइजुही आरु आदि फुल्नाले हाम्रो नववर्ष साँच्चि नै उल्लासमय हुन्छ । यही उल्लासमा संसाक वसन्तकाव्य गोष्ठी मनाउन कहिल्यै बिर्सन्न ।

नेपाल कृषिप्रधान देश हुनाले हामी सबै कृषकहरू धानदिवस असार १५ गते खुब उत्साहपूर्वक मनाउँछौँ । यस बेला पनि संसाक परिवारको आयोजनामा पौडी खेल्दै काव्य वाचन गरेर दही–च्युरा खान खुब रमाइन्छ । हुन त धान दिवस हो तर धान रोप्न सबैको सहजता नभएर होला पौडी खेल्दै कविता वाचन र दही–चिउराको प्रचलन अपनाएको छ संसाकले । यो पौडी खेल्ने निम्ता मैले पाउँदा प्रथमपटक म अवाक् भएँ । जीवनमा कुनै दिन स्वीमिङ पुलमा पसुँला र पौडी खेल्ने प्रयास गरुँला भन्ने सपनामा पनि सोचेको थिइन । तर तारा के.सी., भगवती रोकाहा भूमिका, रेणु अधिकारी आदिले दिदी हामी छौँ लौ डराउनु पर्दैन भन्दै प्रोत्साहन दिएपछि म पनि उक्त पुलमा र्ओलन सुरिएँ । छोरीहरूले पनि ममी ! स्वीमिङकष्टम लगाएर खेल्नोस्, जीवनमा अब रमाइलो नगरे कहिले गर्ने ! भन्दै घरैदेखि उक्साएका थिए ।

पौडिन त के जान्नु तर पोखरीको छेउ छेउ समाउँदै पाइला चाल्दै गएँ । निश्चय नै यो पल मेरा लागि निकै रमाइलो र नौलो थियो । बरू फोटो देख्नेहरू पो जिल्ल पर्दै भन्न लागे …. वा …गार्गी पनि ….! अर्को रमाइलो क्षण साकथोन दौडमा पनि भाग लिन खुशीसाथ अग्रसर भएँ । बाँसबारीदेखि बूढानीलकण्डसम्म दगुर्न हामी संसाकका सारा साहित्यकारहरू तयार भयौँ । उमेशजी, शैलेन्दुप्रकाश नेपाल, तारा के.सी. आदिको भनाइ थियो, ‘सक्ने दगुर्ने, नसक्ने जति बिस्तारै हिड्ने ।’ म, भगीरथ काफ्ले तथा अन्य केहीले सकेजति लम्कियौँ, नसकेपछि बिस्तारै हिड्यौँ । अझ नसक्ने कति त बस चढेर पनि पुगे । यस्तो कार्यक्रममा म कहिल्यै कतै सहभागी हुन पाएकी थिइन । संसाक बाहेक अरू साहित्यिक संघसंस्थाले यसरी दौड कार्यक्रम चलाएको अझै पनि मलाई थाहा छैन ।

संसाकका सदस्यहरूबीच अर्को अति रमाइलो क्षण मनाउने रहर चल्यो– दशैंको टीका । साहित्यकारहरूबीचको यो टीका पनि संसाकको महत्वपूर्ण सूझ हो । अझ मेरो लागि यो टीका युगान्तकारी र अविश्मरणीय टीका बनेको छ । साँच्चै भनुँ भने, पवित्रा आमा (मेरी यशोदा आमा) २०२९ सालमा ब्रह्मलीन हुनुभएपछि हाम्रो घरमा दशैंले कहिल्यै रौनक ल्याउन सकेको थिएन । दशैं भन्यो त्यही सानो चार पाँच जनाको परिवारबीच टीका लगायो सकियो । परन्तु २०७७ सालले साहित्यकार अर्थात् संसाक परिवारले दशैंको रौनकमा नयाँ उमङ्ग र उत्साह भरिदियो मलाई । अब म माइती मावली नभएकी एक्ली चेली भइन, धेरै भाइबहिनीहरू पाएँ । दिदी बनेर टीका थाप्ने भाइबहिनी पाएँ । तारा के.सी., यशोदा अधिकारी, मौनता अधिकारी, उमेश पाण्डे, रत्नप्रसाद अनामणि श्रेष्ठ, शैलेन्दुप्रकाश नेपाल, राजेन्द्र घिमिरे आदि ।

केही समय अगाडि मैले स्कुलमा दशैं शीर्षकको बाल नाटक लेखेकी थिएँ र त्यही नाटकको पूरकको रूपमा आज हामीले साँच्चिकै रमाइलो दशैंको टीका मनायौँ । यस्तो दशैं संसाकले सधैं सधैं मनाइरहोस् भन्ने मेरो हार्दिक शुभकामना !
दशैं तिहारको बेला पिङ खेल्नु हाम्रो एउटा संस्कृति पनि हो । तर मैले कहिल्यै पिङ खेलेकी थिइन । एक्ली सन्तान हुनाको कारणले यस्ता कुनै पनि खेल खेल्न आमाले दिनुहुन्नथ्यो । कठै उनकी एक्ली सन्तानलाई पिङ खेल्दा केही भयो भने भन्ने सधैं उनको पिरलो हुन्थ्यो । आमा नभएपछि पनि मेरो यस्तो कुनै रहरै भएन । तर यसपालि दशैंपछि हामी सत्रजना मिलेर झोरमा पिङ खेल्दै तिहारको पूर्वसन्ध्या मनायौँ । मैले र भगीरथ काफ्ले त पिङ के खेल्नु यसो बसिटोपल्यौँ । उद्घाटन गर्‍यौँ । डराउने र नजान्ने त हामी मात्र रहेछौँ । अरू त ‘स्काई वाक’ भन्दै कतिको घरको धुरी नै छुन पुग्नुभयो मच्चिएर । अहा ! जीवनमा बहार धेरै तरिकाले दिने रहेछ । समय साथसाथै हिड्न र लिन जान्नुपर्ने रहेछ ।

दशैं जस्तै यो साल (२०७७) को तिहार पनि अविश्मरणीय भएर रह्यो । यसपटकको तिहार पनि धेरै वर्षपछिको रमाइलो तिहार बन्यो मेरो लागि । यिनै संसाक समूहले भैली खेल्ने आयोजना गरेर टोखाको पारिजात पार्टी प्यालेसको आँगनमा भैली खेल्न जम्मा भयौँ । उक्त आँगनमा सबै साहित्यकारहरू भैलिनी बनेर नाच्दै गाउँदै भैली माग्ने, अनि भगीरथ काफ्ले र मचाहिँ घरपति बाबाआमा बनेर भैलिनी र देउसेहरूलाई नाङ्लोभरि सेलरोटी र दक्षिणा भरेर बीचमा दियो बालेर दियौँ । हाम्रो नेपालका अनेक संस्कृतिमध्ये यो बिर्सिंदै गएको संस्कृति अति रमाइलोसँग मनाइयो । साहित्यकार हुनुको अर्थ कतै एकान्त कुनामा बसेर जीवन जगत् र आफ्नो समाजको दुःखसुखको भोगाइ सोच्नु र लेख्नु मात्र होइन । साहित्यकारको दायित्व आफ्नो धर्म, संस्कृति र समाजमा रमाएर प्रस्तुत गर्नु हो ।

तिहार सकिने बित्तिकै धार्मिक साहित्यिक यात्रा स्वरूप प्रकृतिको काखमा रमाउन कुशेश्वर महादेवको दर्शन गर्ने अर्को योजना आयो । सुनकोशीको काखमा रहेको कुशेश्वर महादेवको जोतिर्लिङ्गले हाम्रो मनमष्तिस्कमा अपार शान्ति छायो । आहा ! सुनकोशीको प्रवाह, वरिपरिका डाँडाकाँडा, पाखापखेरा देख्दा लाग्छ, नेपालमा के कमी छ ! प्रकृतिले भरिपूर्ण देश हो नेपाल, हिमाल–पहाड–तराईको देश हो नेपाल, विश्वशान्तिको देश हो नेपाल । प्रकृतिको काखमा अपार शान्ति छ । प्रकृतिको काखबाट भागेर शहरको रङ्गीन सपनामा भुल्नखोजे पनि त्यो क्षणिक हुन्छ । प्रकृतिको काख सुख शान्तिको अद्वितीय स्रोत हो । प्रकृति आमा हुन्, रोगीको लागि रामवाण औषधि दिने अचुक स्रोत हो ।

अविरल बग्दै गएको सुनकोशी देख्दा लाग्यो हामी पनि समय–गङ्गामा अविरल रूपमा बग्दैछौँ । आमाको गर्भबाट शुरु हुने जीवनको बहाव मृत्युमा पुगेपछि मात्र टुङ्गिन्छ । समय पनि कहिल्यै नसुक्ने सुनकोशी हो । जसरी सुनकोशीमा कतिपटक उत्ताल छाल आउँछ, बाढी आउँछ, छेउछाउका हजारौँ बस्तीहरूलाई उजाड गराएर बगाउँछ, डुबाउँछ, त्यस्तै समयले पनि हामीहरूलाई गहिरो भूमरीमा खसाल्छ । कहिले दुःखको चट्टानैचट्टानमा लगेर घाउचोट र असह्य पीडामा कोचिदिन्छ र अन्त्यमा यमलोक पुर्‍याउँछ । तैपनि जसरी सुनकोशी छ र त हामी यसको काखमा उत्फुल्ल हुन्छौँ, धार्मिक आस्थाले यसको जलबाट आफूलाई अभिसिञ्चन गर्दछौँ । आफैलाई बिर्सन्छौँ । त्यस्तै जीवन छ र त जस्तोसुकै दुःख, व्यथा र कठिनाई सहेर बाँच्न चाहन्छौँ । यसको स्याहार–सुसार गर्नसक्छौँ । जीवनमा जस्तै बाढी आए पनि भन्ने गर्छौं, ‘जीवन छ र त बाढी आउँछ नत्र कहाँ आउँछ !’ हाय ! जिन्दगी ।

कुशेश्वर मन्दिरसँगै सुनकोशीको किनारमा एउटा सानो गुफाभित्र विश्वामित्रको पूजा गरिने मन्दिर रहेछ । तारा के.सी., उमेश पाण्डे, रेणु मौनता, राजेन्द्र घिमिरे आदि सबै प्रफुल्ल भएर पूजा ध्यान गर्नुभयो । मैले पनि दर्शन गरेँ । तर विश्वामित्र नामसँगै आउने मेनका र शकुन्तलाको कथाले मलाई निकै दुःखी गराउँछ । त्यसैले विश्वामित्रप्रति मेरो आस्था छैन, घृणा छ । विचरा शकुन्तलाको के दोष छ र जन्मे बित्तिकै नदी किनारमा फ्याँकिनुपर्ने । हो, मेनका त इन्द्रले चालिने गोटी थिइन्, आफ्नो केही शक्ति नभएकी तर विश्वामित्र त शक्तिशाली थिए । मेनकाले छोडे पनि नवजात शिशुलाई कुनै तरिकाले स्याहार्न सक्थे । पितृत्व दिनसक्थे । तपस्याको नाममा मेनकासँग भुलेर शकुन्तला जन्माउनसक्ने तर जन्मेपछि नदीकिनारमा फ्याँक्न सक्ने !

अब आयो फागुन २३ गतेको मेरो जन्मदिन अनि चैत्र २३ गतेको भगीरथ काफ्लेको जन्मदिन । संसाक परिवारले अब सपरिवारको गते अनुसार जन्मोत्सव मनाउने नयाँ योजना बनाएकोले शुरुवात मेरैबाट भयो । जीवनमा कहिल्यै केक काटेर जन्मदिन मनाएकी थिइन । मेरो मात्र हैन मेरा छोरीहरूलाई पनि यसरी मनाउन लगाएकी थिइन । तर योपालि मैले नाइँ नमनाउने भन्न पनि सकिन । यसरी मेरो उत्तरार्धजीवनमा धेरै उल्लासमय रमाइला क्षणहरू भोग्न पाएँ । कहिल्यै कहिल्यै नबिर्सिने क्षणहरू पाएँ । कहिले काहीँ भन्दथेँ ‘साहित्यमा लागेर मैले के पाएँ र !’ तर यसो भन्नु मेरो ठूलो भूल रहेछ । अबदेखि म सधैं भन्ने छु, ‘साहित्यले जीवन दिन्छ, जीवन हिडाउन सजिलो बाटो बनाइदिन्छ ।’ यसर्थ सम्पूर्ण साहित्यकारहरूमा, नेपाली भाषा साहित्यप्रति म आभारी छु । जय संसाक परिवार ! जय साहित्य !

म्हेपी, काठमाडौं। 

प्रतिक्रिया दिनुहोस्: