‘बुबा ! हुन त यस्तो बेलामा तपाईंलाई अनेकथरी कुरा सोधेर अझै दुःखी बनाउनु त मेरो उद्देश्य होइन तर पनि मेरो मनमा एउटा जिज्ञासाले नराम्ररी डेरा जमाउँदै छ भन्या ।’
सुरेन्द्रको कुरा सुनेर सुरेशले भने, ‘त्यस्तो के कुरा हो, धक नमानीकन भन्दा हुन्छ ।’
सुरेशले झनै अँध्यारो अनुहार लगाएर सोधेपछि सुरेन्द्रले दबिएको बोलीमा भने, ‘खोइ ! भनूँ कि नभनूँ ।’
‘मोही माग्नु छ भने ढुङ्ग्रो किन लुकाउनु ? कतै तिमीलाई घर आएको बेलामा भाइसँग अंशबण्डा गरेर जाने मन त लागेको होइन ?’
आफ्नो बाको आशंका मिसिएको प्रश्नले सुरेन्द्रलाई झसङ्ग बनायो । उनले हडबडाउँदै भने, ‘त्यसो होइन बा ! आमा बिरामी हुँदा आउन नपाए पनि बित्नुभएपछि बिदा मिलाएर आएँ र सबै काजकिरिया राम्रोसँग गरेँ । गर्नुपर्ने दानपुण्य पनि राम्ररी नै गरेँ तर हजुर मसँग कताकता चिढिनुभएको जस्तो अनुभूति हुँदै छ मलाई ।’
सुरेशले बररर्र आँसु खसाल्दै भने, ‘बाँचुन्जेल भेट्ने चाहनाले तड्पिएकी आमालाई भेट्न बिदा मिलाउन नसक्ने मान्छेले मरेपछि मिलाएको बिदा र गरेको दानको के अर्थ ?’
बूढानीलकण्ठ, काठमाडौं।
प्रतिक्रिया दिनुहोस्: