जीवन विशेष कुराकानी 
डा.सत्यराज थपलिया
नेपाली साहित्यको कविता विधामा सिद्धहस्त र एउटा बेग्लै सोच र शैली बोकेर आफ्नो पहिचान बनाउन सफल साहित्यिक व्यक्तित्त्व हुनुहुन्छ डा.सत्यराज थपलिया । बाबु कोशराज र आमा लीलावतीको कोखबाट वि.सं.२००४ साल वैशाख १४ गते नुवाकोट जिल्लाको थानसिङमा जन्मनुभएका थपलिया हाल सामाखुशी, काठमाडौंमा बस्तै आउनुभएको छ । आफूमा आमाबाबुको हेरचाह र पालनपोषण उत्तम रह्यो भन्नुहुने डा.थपलिया नुवाकोट जिल्लाकै गेरागाउँ, कोटथोक निवासी मच्छिन्द्र पाण्डेकी माइली छोरी रमादेवीसँगको वैवाहिक जीवनमा रहँदै आउनुभएको छ भने जहानको साथ, सहयोग पनि राम्रो रहेको बताउनुहुन्छ । उहाँका दुई छोरा (मधुसूदन र विष्णु) र तीन छोरी (उमा, कल्पना र राधिका) छन् । चारजना घरव्यवहारकै काममा छन् र कान्छी छोरी डा.राधिका भने स्वास्थ्य मन्त्रालयमा सहसचिव छिन् । आयुर्वेदाचार्य डा.थपलिया लामो समय स्वास्थ्य सेवाका काम गरी हाल सेवा निवृत्त हुनुहुन्छ भने उहाँको यतिखेरको रुचि साहित्य सिर्जना र अध्ययन रहेको छ । ‘बाल्यकालमा आफ्नो स्वभाव चञ्चल भए तापनि उच्छृङ्खल थिएन भन्नुहुने थपलिया घरमा खान, लाउनको दुःख थिएन तर पनि अहिले जस्तो विद्यालय जाने प्रचलन नभएकोले प्रायः घाँस–गोठालो, कृषिकर्म, मेलापात गरेर काल्यकाल बित्यो’, यसलाई सुखदुःख के भन्ने ? डा.थपलिया भन्नुहुन्छ, ‘युवावस्थामा पढ्नु पनि पर्नेरहेछ भन्ने सोच आयो । विद्या प्राप्त गर्न अनेक अभाव र समस्यासित सङ्घर्ष गर्दै अगाडि बढ्नुपरेको थियो ।’ आफ्नो वयस्क उमेरका बारेमा उहाँले बताउनुभयो कि, वयस्क उमेरमा पारिवारिक भरणपोषण गर्नुपर्ने जिम्मेवारी ममा थपियो । अर्थोपार्जनार्थ स्वास्थ्य सेवामा प्रवृत्त भएँ र तदनुरूप मेरो व्यवहारमा पनि परिवर्तन आउने नै भयो र आयो पनि ।
उहाँको साहित्य लेखन २०१४ सालदेखि नै सुरु भएको र पहिलो रचना ‘लेकाली कौवाको सवाई’ थियो, तर प्रकाशनको अभावमा त्यतिबेलाका कतिपय हस्तलिखित कृतिहरूलाई सुरक्षित राख्न नसकिएको थपलिया बताउनुहुन्छ । थपलियाको पहिलो पुस्तकाकार कृति २०४५ सालमा प्रकाशित ‘प्रणय सन्देश’ हो । भन्नुहुन्छ, ‘म समय र परिस्थिति अनुसार लेखनका उपयुक्त विषयहरू छनोट गर्छु ।’ लेख्नको लागि उहाँको कुनै निश्चित र निर्धारित समय छैन, भन्नुहुन्छ, भाव स्फुरण भएका जुनसुकै समयमा पनि लेख्न सक्छु । तर प्रायः बिहानको समयमा बढी लेख्ने गर्छु । मुख्य विषय कविता लेख्नुहुने डा.थपलिया सबैले सजिलै बुझ्नसक्ने सरलभाषामा लेखिएको यथार्थपरक शिक्षाप्रद कुराले लेखनलाई सुन्दर बनाउँछ, भन्ने धारणाबाट अभिप्रेरित भई सिर्जना कार्यमा सक्रिय रहनुहुन्छ । साहित्यले व्यक्ति या समाजलाई दिने मुख्य कुरा भनेको ज्ञान हो र आफ्ना ज्ञान, भावना र अनुभव समाजसम्म पुर्याउन साहित्य लेख्नपर्छ भन्ने मान्यता छ, कवि थपलियाको । अबको योजना के भन्ने हाम्रो प्रश्नमा थपलियाको उत्तर छ, ‘ज्ञानयुक्त सरल र सुबोध पारामा लेखिएका र अब लेखिनेसमेत साहित्यिक सिर्जनाहरूलाई क्रमशः प्रकाशित गर्दै जाने ।’
समयले भ्याएर शरीरले सकेसम्म घरको काम गर्न पछि नपर्ने कवि थपलियालाई जाँगर लाग्ने काम तरकारी केलाउने र खाना पकाउने हो । व्यवहारमा अनुपयोगी काम गर्न भने उहाँलाई अल्छी लागेर आउँछ, भनौँ त्यस्ता कामहरू गर्नुहुन्न । खाना कस्तो मीठो लाग्छ नि ? हामीले सोध्यौँ– उहाँले ‘भोजनभन्दा भोक मीठो हुन्छ । खानको लागि बाँच्नुभन्दा बाँच्नको लागि खानु बेस हुन्छ, भन्नुहुँदै मलाई शाकाहारी/सात्त्विक साधारण नेपाली खाना मीठो लाग्छ’, भन्ने उत्तर दिनुभयो । खाना त यी भए । लाउन कस्तो मन पर्छ नि ? हामीले अर्को प्रश्न राख्यौँ डा. थपलियालाई । उहाँको सरल उत्तर थियो– मलाई भोटो/कछाड, कमिज/सुरुवाल वा दौरा/सुरुवाल र कोट, टोपी मन पर्छ । हामीले त्यसैसँग सम्बन्धित भएर सोध्यौँ, जीवनमा मनले चाहेको जस्तो खान, लाउन नपाएको कुनै क्षण थियो कि ? गरिबीकै कारणले त्यस्तो क्षण त जीवनमा अहिलेसम्म नआएको बताउँदै जागिरको क्रममा घटेको एउटा त्यस्तै त्यस्तै घटना सुनाउँदै भन्नुभयो, ‘कर्णाली अञ्चल आयुर्वेद औषधालयको प्रमुख हुँदा २०३७ साल भदौमा मुगुबाट कालीकोट निरीक्षण भ्रमणमा जानेक्रममा तीनदिनसम्म निबुवाको बोक्रा र पानीको भरमा भोकै हिड्नुपरेको थियो ।’ यसलाई के क्षण भन्ने ! तर यो जीवनमा बिर्सिन नसकिने एउटा घटना हो । प्राकृतिक सौन्दर्ययुक्त पहाडी र हिमाली क्षेत्रमा घुम्न रमाइलो लाग्ने थपलियालाई आफूसँग मन, मस्तिष्क (विचार) मिल्ने शाकाहारी सात्त्विक साथीहरू विशेष मन पर्छन् । भन्नुहुन्छ, तर त्यस्ता साथीहरू भेट्नै मुस्किल छ ।
सारमा मान्छेको जीवन ‘ईश्वरको वरदान हो’ भन्ने थपलिया शास्त्रीय मान्यतानुसार ८४ लाख योनिमध्ये सर्वोत्कृष्ट मानवदेह पाएकोमा यो जीवनप्रति सन्तोष मान्नैपर्छ, भन्नुहुन्छ । यो जगत् भनेको, ज = जन्मनु र गत् = जानु अर्थात् जन्मेपछि मर्नैपर्ने हुँनाले संसारलाई जगत् भनिन्छ । यो अलिदिन बास बस्ने पाटी जस्तै हो । यहाँ आएपछि जानैपर्छ । यही सत्य हो, उहाँको बुझाइ छ । जन्मको बारेमा कविको बुझाइ यस्तो छ, प्राणीका स्वभाव र आवश्यकता अनुसार न्यूनतम मास पूरा भएपछि आमाको गर्भबाट बाहिर निस्कने काम नै जन्म हो । र, मृत्युलाई यसरी बुझेका छन् डा.थपलियाले, ‘शरीर र इन्द्रियदेखि आत्माको वियोग हुनु नै मृत्यु हो ।’ उहाँको विचारमा मानवीय लक्ष्य अर्थात् उद्देश्य सधैं राम्रो, सर्वकल्याणकारी, परोपकारी र उच्च हुनुपर्छ । निःस्वार्थ भावले गरेमा प्रेममा धोका हुँदैन भन्दै कुनै व्यक्तिको रूप, गुण र स्वभावप्रति मनमा उत्पन्न हुने आकर्षण नै प्रेम हो, उहाँको परिभाषामा । माया, प्रीति, प्यार, कृपा, अनुराग, दया र आत्मीयता पनि प्रेमकै पर्यायवाचि शब्दका रूपमा आएका छन्, भन्नुहुन्छ । डा.थपलियाको विचारमा आशा नै दुःख हो । दुःखकी जननी असन्तोष हुन् । सन्तोषी भएमा दुःख हटाउन सकिन्छ । प्रश्नहरूकै क्रममा सुख के हो ? भनेर सोध्दा थपलियाको उत्तर थियो– ‘शारीरिक र मानसिक आनन्दको अनुभव नै सुख हो । निरोगी हुनु सबैभन्दा उक्तम सुख हो । सधैं सुख मात्रै खोजेर पाइन्न । जिन्दगी सुख र दुःखको दोभान हो । दुःखमा आँत्तिनु र सुखमा मात्तिनु हुँदैन । दिनपछि रात र रातपछि दिन आए जस्तै सुखपछि दुःख र दुःखपछि सुख पनि अवश्य आउँछ भनेर धीर भएर आफ्नो प्रारब्धका भोग गर्दै अर्काको देखासिकी हैन आफ्नो घाँटी हेरेर हाड निल्ने बानी बसाले सुख पाउन सकिन्छ ।’ कसैको बिगार अथवा परिहासमा निस्कने हँसाइलाई हाँसो भनिन्छ, भन्नुहुने डा.थपलिया हाँस्नु स्वास्थ्यको लागि हितकर हुन्छ । जहाँसम्म जिन्दगीको खेल खेलिन्छ, त्यहाँसम्म हाँस्नु राम्रो हो तर त्यसप्रकारको हाँसोचाहिँ म हाँस्न रुचाउन्न भन्नुहुन्छ । डा.सत्यराज खुशीको परिभाषा यसरी दिनुहुन्छ, ‘आफ्नु परिस्थिति अनुरूप पूरै सन्तुष्टि भएको अवस्था नै खुशी हो ।’ खुशी प्राप्त गर्ने सूत्र महाभारतमा यस्तो छ–
‘जे मिल्नसक्छ त्यै खोज, जे मिल्यो त्यै मिठो भन ।
इच्छै नल्यौ नमिल्नेको, यसरी नै खुशी(सुखी) बन ॥’
डा.थपलियालाई लाग्छ– रुने भाव, काम वा किसिमलाई रुवाइ भनिन्छ । यसमा तन अथवा मन दुवै दुखेर आँसु आउँछ । बालखको बल नै रुवाइ भएकोले त्यति बेला धेरै नै रोइएछ क्यारे । बुझ्ने भएपछि आँसु नै आउन छोड्यो । त्यसैले रुनु परेको छैन । मन रोए पनि तन रुँदैन । रुवाइले स्वास्थ्यलाई फाइदा गर्दैन भन्ने लाग्छ । उहाँ भन्नुहुन्छ– ‘कुनै काम, कुरो वा व्यक्तिप्रति हुने आस्था वा पत्यारलाई विश्वास भनिन्छ ।’ चाणक्यले नङ्ग्रा, दाह्रा, सिङ हुने, राजा (शासक) र नारीको विश्वास नगर्नू भनेका छन् । विश्वासीलाई मात्र विश्वास गर्नुपर्छ । सबैलाई विश्वास गर्दा धोका हुनसक्ने थपलियाको बुझाइ छ । डर के हो त ? हाम्रो प्रश्न यस्तो थियो । थपलिया, कुनै भयङ्कर वस्तु देखेर मनमा उत्पन्ने त्रासलाई डर भनिन्छ, र आफ्नू कारणले अरूलाई बाधा पर्ला कि ! भन्ने पो डर लाग्छ, भन्नुहुन्छ । धर्म, कानुन, ईश्वर र समाजको डर नमान्ने मान्छे अवश्य दुःखको खाडलमा पर्छ, उहाँको निचोड छ । अनि समयलाई कसरी बुझ्ने नि ? यसमा डा.सत्यराजको सीधा उत्तर थियो– ‘समय भनेको काल हो । यो ज्यादै बलियो हन्छ । सबैलाई आफ्नो वशमा पार्छ र आफूमै मिलाउँछ कुनै दिन ।’ डा.थपलियाले भन्नुभयो, कुनै व्यक्तिको अधिकारमा रहेको अल अचल वैभवलाई सम्पत्ति भनिन्छ । बाँच्न र आफ्नो घरव्यवहार चलाउन आवश्यक र पुग्ने जति सम्पत्ति चाहिन्छ । बढी सम्पत्तिले पनि शान्ति हुँदैन । उहाँको बलियो पक्ष आत्मविश्वास हो र धूर्तहरूको कुरामा पनि विश्वास गर्नु मेरो कमजोर पक्ष हो, भन्नुहुने डा.थपलियाले अनौपचारिक शिक्षा सानै उमेरमा घरपरिवारबाट पाए पनि पौचारिक शिक्षा भने उहाँले युवा उमेरपछि मात्रै प्राप्त गर्नुभएको रहेछ । जीवनप्रति उहाँमा त्यही एउटा गुनासो रहेको छ । कवि थपलिया ‘समग्रमा मेरो जीवन आजसम्म सामान्य रहेको छ, असफल भएको छैन’ भन्नुहुन्छ । हामीले भन्यौँ, आफ्नै बारेमा राम्रो/नराम्रो, असल/खराब, सहयोगी/असहयोगी केही भन्नुपर्दा कस्तो लाग्छ ? आफ्नो जिन्दगीको आफैं मूल्याङ्कन गर्दा डा.थपलियाले भन्नुभयो, ‘मैले आफ्नै बारे भन्नुपर्दा राम्रो, असल र सर्वसहयोगी भन्न नसके पनि नराम्रो, खराब र पूर्ण असहयोगी म हैन । किन कि ? महाभारतमा लेखिएको छ :
‘सबैलाई खुशी पार्न सकिँदैन जति गर ।
जो सुकैका पनि हुन्छन् शत्रु, मित्रु बराबर ॥’
गाउनको लागि रचिएको लयात्मक र सुललित पद्य रचना नै गीत हो, भन्नुहुने थपलिया गीत पढ्न आउँछ, गाउन आउँदैन भन्नुहुन्छ । उहाँको विचारमा स्वर तानयुक्त मधुर गायन नै सङ्गीत हो । थपलिया शङ्ख, घण्ट र डमरु बाहेक अरू बाजा बजाउन मलाई आउँदै भन्नुहुन्छ । ‘खासगरी अङ्ग सञ्चालन, ताल, लय र भावमा आश्रित नाचलाई नृत्य भनिन्छ’, साहित्यकार थपलियाको जवाफ छ, ‘मलाई त नाच्नै आउँदैन । पहिला सिकिन, अब सिक्न पनि सकिँदैन ।’ स्वास्थ्य सेवाका जानकारी तथा आयुर्वेदाचार्य थपलिया भन्नुहुन्छ, स्वास्थ्यको लागि खेलकुद र व्यायाम अति आवश्यक छ । अघि खेती गर्दा डोको, नाम्लो, कोदालो, कोदाली, घाँस, दाउरा, मेलापात, भारोपर्म गर्दा शारीरिक व्यायाम नै व्यायाम हुन्थ्यो भने ३६ वर्ष चिकित्सकीय सेवा गर्दा लेखा तथा प्रशासनसमेत चलाउँदा मानसिक व्यायाम हुन्थ्यो । अब त शरीरले नै सक्दैन के को व्यायाम गर्नुर ! ‘२०२४ सालसम्म जात्रामात्रा, मेलापर्व खुबै गइन्थ्यो, त्यसपछि पढाइ, जागिर, खेतीकै काममा व्यस्त हुनुपर्यो र खासै कतै गइएन’, डा.थपलिया भन्नुहुन्छ, ‘आफ्नो धर्म, संस्कृति रक्षाको लागि जात्रामात्रा, मेलापर्वको पनि आवश्यकता छ र जात्रा, मेलाबाट मनोरञ्जन पनि प्राप्त हुन्छ, जुन स्वास्थ्यको लागि हितकर छ ।’ संस्कृत भाषाका अध्येता र विद्वान पण्डित पनि हुनुहुन्छ सत्यराज थपलिया । उहाँलाई हामीले धर्म के हो ? व्रत किन बस्ने ? पूजा किन गर्ने ? तपाईं व्रत बस्ने, पूजाआजा गर्ने गर्नुहुन्छ ? भनेर एकैसाथ केही प्रश्नहरू गर्यौँ । यी जिज्ञासाहरूमा थपलियाको उत्तर थियो– सदाचार नै धर्म हो । व्रतले जठराग्नि बलियो हुन्छ । खाएको पच्छ । खानामा रुचि बढ्छ । शान्ति पाउन पूजा गरिन्छ । ‘डोको बोकेर धन र भोको बसेर धर्म हुँदैन’ भनेर म व्रत बस्तिनँ । चित्त बुझाउन पूजापाठचाहिँ गर्छु ।

समाजबाट पाउने साथ र सहयोगप्रति खुशी छु तर यही समाज आज स्वार्थी बन्दै गएको देख्दा भने दुःखी छु, भन्ने डा.सत्यराज थपलिया देशको राजनीतिमा कुनै प्रशंसायोग्य काम भएको देख्नुहुन्न तर यही राजनीतिमा भ्रष्टाचार बढ्दै गएकोमा उहाँलाई घृणा लागेर आउँछ । उहाँलाई शिक्षक बनेर पवित्र ज्ञान बाँडेको, करिब ३६ वर्ष आयुर्वेदिक चिकित्सक भएर देशका दरदराजका विरामीहरूको उपचार गरेको, कहिले वाचक बनेर पुराण प्रवचन गर्दै धेरैलाई हँसाएको/रुवाएको जीवनका राम्रा कामहरू लाग्छन् । जीवनमा राम्रा कामहरू धेरै गर्न नसके पनि नराम्रो कामचाहिँ केही गरेँ जस्तो उहाँलाई लाग्दैन । उहाँलाई थोरै भए पनि स्वास्थ्य सुझाव र आध्यात्मिक ज्ञान मैले समाजलाई दिएको छु भन्ने लाग्छ । अनि भन्नुहुन्छ, ‘समाजबाट मैले जीवनका हरेक क्षणमा साथ र सहयोग पाएको र पाइरहने छु ।’ जीवनमा के गुमाइयो भन्ने प्रसङ्गमा डा.थपलियाको दार्शनिक उत्तर छ, जीवनले बाल्यावस्था, कैशोरावस्था, युवावस्था र प्रौढावस्थासमेत गुमाइसक्यो भने अब आफ्नो जीर्णशीर्ण शरीर गुमाउनु मात्र बाँकी छ । उहाँ आफंैलाई लाग्छ, उहाँको यो लामो जीवनले आजसम्म कमाएको कुरा मान, सम्मान र नाम हो । आज समाज विकृत छ, विसङगतिपूर्ण छ, समाजमा चोरी, हिंसा, लुट, छलछाम, बलात्कार, अराजकता, अस्थिरता व्याप्त छ । आजको यस्तो समाज कस्तो बन्नुपर्छ त ? भन्नेमा उहाँको विचार छ कि ‘सहयोगी, परोपकारी र दयालु समाज उत्कृष्ट एवं आदर्श मानिन्छ ।’ त्यसैले सुनाखरी र ऐजेरु जस्तो परपीडक नभई आफ्नै श्रमभोगी आदर्श जीवन बिताउन सके व्यक्ति र समाज सबैको कल्याण हुनसक्छ, डा.थपलिया भन्नुहुन्छ । साहित्यकार थपलियाको जीवनको यो लामो भोगाइ र हामीसँगको बसाइको निचोड थियो, ‘सत्कर्म नै धर्म हो । दुःख नै गुरु हो । ईश्वर प्राणीभित्रै छ । परपीडा नै पाप हो भने परोपकार नै पुण्य हो ।’ उहाँको आदर्श भनाइ छ ‘हिंसारहित कर्म नै ईश्वरको पूजा हो’ भन्ने मानेर कर्म गर्दा नै जीवनमा सदा सुख, शान्ति र आनन्द मिल्दछ ।
प्रस्तुति
शिक्षिका : शान्ति सिलवाल
विद्यार्थी : रुविशा रिजाल (कक्षा : ७)
सृष्टि वराम (कक्षा : ९)
सेई बोर्डिङ्ग स्कुल
लिखु–६, छहरे, नुवाकोट
सम्पर्क : ९८५१०७३७५१/९८४२९५५६१५

                                    
                                    
                                    
                                    
प्रतिक्रिया दिनुहोस्: