‘उजेली, ए उजेली ! हैन, कहाँ मरी यो ? वस्तुको भकारो सोर्नु, दाना पानी खुवाउनु, भाइलाई स्कुल पुर्याउनु काम कत्ति छ ? आफूलाई मेलामा जान ढिला भइसक्यो ।’ आमा कराउनु भयो ।
हस्याङफस्याङ गर्दै उजेली पधेँराबाट पानी लिएर आई । आमाले उसलाई काम अह्राएर मेलामा जानुभयो । उसले हतार हतार गरेर सबै काम सकी अनि भाइलाई विद्यालय पुर्याउँन गई । सधैँझैँ आज पनि गुरुले पढाएको कुरा उसले लुकेर सुनी । त्यो देखेर गुरु साँझपख उजेलीको घरमा पुग्नुभयो । उसकी आमालाई भेटेर भन्नु भयो, ‘उजेली टाठीबाठी छे । विद्यालय भर्ना गरिदिनुपर्छ ।’ उहाँले झर्किदै भन्नुभयो, ‘मास्टरसाप, अर्काको घर खाने छोरीको जातलाई किन पढाउने ? बरू कुलको इज्जत धान्न काम पो सिकाउने हो । राम्रो घर पाए बिहे गरेर पठाइ दिने हो ।’
गुरुले सम्झाउनु भयो, ‘अर्काको घरमा जाने छोरीलाई आत्मनिर्भर बनाउन झन् पढाउनु पर्छ नि !’
आमा र गुरूका विवाद सुनिरहेकी उजेलीले मनमनै सोची, ‘पढ्नका लागि त छोरा भएर जन्मनु पर्ने रहेछ । आफ्नो त कर्म नै खोटो !’
उसैबेला उजेलीलाई हेर्न भनेर मामाले केटो लिएर आउनु भयो । कुराकानी मिल्यो । बिहेको दिन निश्चित हुँदै थियो, केटा जुरूक्क उठ्यो र भन्यो, ‘मेरो एउटा चाहना छ, त्यो भए मात्र बिहे गर्छु ।’ आमा र मामाले भयभित हुँदै सोधे, ‘कस्तो चाहना हो ?’
उसले गम्भीर हुँदै भन्यो, ‘मेरी श्रीमती भएपछि यिनले कम्तीमा पनि स्नातकसम्म पढ्नु पर्छ ।’
गैंडाकोट–४, नवलपुर।
प्रतिक्रिया दिनुहोस्: