छात्राहरूको छन्दकविता वाचनप्रतियोगिता

६ फाल्गुन २०८१

माघ १५, काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाको सहयोगमा अभिनव साहित्य समाजको आयोजनामा महिला साहित्यिक जागरण अभियानअन्तर्गत कक्षा १० सम्मका छात्राहरूको छन्दकविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरूमा शास्त्रीय छन्दमा रुचि जगाउन आयोजना भएको उक्त कार्यक्रममा काठमाडौँका ४१ ओटा स्कुलका ७९ जना विद्यार्थीले भाग लिएका थिए । यस कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगरप्रवक्ता एवं गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष नारायणबहादुर सुवेदीको प्रमुख आतिथ्य तथा महाकाव्यकार सीता भट्टराईको विशिष्ट आतिथ्य रहेको थियो ।

कार्यक्रममा छन्दकवि ओमप्रसाद कोइराला, उत्तम विचार र प्रेक्षा लम्सालको सुमधुर कवितावाचनले रौनकता छाएको थियो । विद्यार्थीहरूलाई छन्दकविता वाचनको प्रशिक्षण महाकाव्यकार गोविन्द घिमिरेले दिनुभएको थियो भने निर्णयकको भूमिकामा छन्दकवि शान्ति सापकोटा, मेनका पोखरेल आचार्य एवं परशुराम पराशर रहनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नारायणबहादुर सुवेदीले यस्तो प्रभावकारी कार्यक्रममा नगरपालिकाले सहयोग गरेको कुरा बताउनुभयो । विद्यार्थीहरूमा नै छन्दसम्बन्धी जानकारी र लयको बोध गराउन सके साहित्यले नव पुस्तालाई समेट्ने बताउनुभयो । सुवेदीले यस्ता कार्यक्रमले धेरैमा प्रभाव पार्ने हुनाले समयसमयमा गरिरहनुपर्ने बताउँदै अभिनवले यस किसिमका कार्यक्रम गरेकोमा गोकर्णेश्वर नगरपालिकाको तर्फबाट शुभकामना व्यक्त गर्नुभयो ।

यस छन्दकविता वाचनप्रतियोगितामा सरस्वती मा. वि, भेनस पब्लिक स्कुल, लड्स लाइट एकेडेमी, उत्तर बाहिनी बोर्डिङ स्कुल, गोकर्णेश्वर महादेव इङ्लिस सेकेन्डरी स्कुल, इडनब्रिज एकेडेमी, लर्डबुद्ध सेकेन्डरी स्कुल, ग्लोबल पब्लिक स्कुल, टाइमलाइन स्कुल, सेन्टिनियल मा. वि, मनकामना मा.वि, इष्टपोल मा. वि., महेन्द्र बौद्ध मा.वि, अरुणिमा शिक्षा सदन, नव अरुणिमा मा. वि, कुमारी आवासीय मा.वि, महान् सिद्धार्थ हाई स्कुल, काठमाडौँ इन्टरनेसनल स्कुल, बालसंसार मा. वि, साङ्ग्रिला पब्लिक स्कुल, बालविकास बोर्डिङ हाइस्कुल, जेनिसिस एकेडेमी, स्वर्ण शिक्षा, आकाशदीप मा. वि, एलिड ग्रान्ड स्कुल, सुनौलो भविष्य बोर्डिङ स्कुल, बौद्ध इङ्लिस सेकेन्डरी स्कुल, सुसंस्कार एकेडेमी, रिपुमर्दिनी सैनिक मा. वि, चार्ल्स डार्विन मा. वि, नवसुन्ताखान एकेडेमी, प्रोग्रेसिभ सेकेन्डरी स्कुल, त्रिकोण पब्लिक स्कुल, मानास्लु वर्ल्ड स्कुलले भाग लिएका थिए । करिब १७० जना छात्राहरूको भव्य उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा काठमाडौँ इन्टरनेसनलकी आर्या घिमिरेले पहिलो, टाइमलाइन स्कुलकी प्रशंसा भुजेलले दोस्रो, मनास्लु वर्ल्ड स्कुलकी युनिका दाहाल तेस्रो र एलिड ग्रान्ड स्कुलकी आर्याश्री चौलागाईँ र बालविकास बोर्डिङ स्कुलकी दिछेन तितुङले प्रोत्साहन पुरस्कार प्राप्त गरेका थिए । पुरस्कृत छात्राहरूलाई पुरस्कारस्वप नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो । यस कार्यक्रममा विद्यार्थीलाई मनोरन्जन दिनका लागि बिचबिचमा विभिन्न खेल खेलाई खेलमा विजयीलाई पुरस्कारसमेत दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्: