
काठमाडौं, माघ १६ गते । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको व्यवस्थापनमा तुलसीलाल स्मृति प्रतिष्ठानको च्यासल स्थित खुला मैदानमा महासङ्घद्वारा प्रकाशित र आर.सी.न्यौपानेद्वारा सम्पादित ‘जबजको सौन्दर्यशास्त्रीय विमर्श’ कृतिको लोकार्पण तथा सहिद दिवसको उपलक्ष्यमा ‘स्रष्टा आवाज’ विशेष समारोहको आयोजना गरियो ।
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रमुख अतिथि रहनुभएको उक्त विशेष समारोहको अध्यक्षता महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले गर्नुभएको थियो भने अमृत खातीले सञ्चालन गर्नुभएको थियो । प्रा.डा.जीवेन्द्रदेव गिरी, लक्ष्मण रायमाझी, राम विनय, डा.विजय सुब्बा, डा.तिलक आचार्य, गोपाल शाक्य, विनोद पाण्डे, प्रेम दङ्गाल, माधव ढुङ्गेललगायत दर्जनौँ व्यक्तित्व अतिथि रहनुभएको उक्त विशेष समारोहमा आकाश थापा तथा साथीहरूले ‘धर्तीलाई माया गर्नेहरू’ बोलको गीतबाट स्वागत गर्नुभएको थियो ।
शोभा थापाले देउडा गीत गाउनुभउको थियो भने जीतेन्द्र चौधरी, सूर्यमणि आचार्य, मनोज धामी, ओम श्रेष्ठ, माधव प्रधानले सहिदको सम्मानमा गीत गाउनुभएको थियो । त्यसैगरी रवीन गुरुङ तथा साथीहरू र नारायण परिश्रमी तथा साथीहरूले पनि सहिदकै सम्मानमा गीत गाउनुभएको थियो । नन्दु उप्रेती र रूपक अलङ्कारले कविता वाचन गर्नुभएको थियो । समारोहमा जे.बी.टुहुरेका कालजयी गीत पनि बजाइएको थियो ।
समारोहका प्रमुख अतिथि ईश्वर पोखरेल, अध्यक्ष प्रेमनाथ अधिकारी, गोपाल शाक्य, प्रधान सम्पादक आर.सी.न्यौपाने, डा.विजय सुब्बा, प्रा.केशव सुवेदी, प्रा.डा.षडानन्द पौड्याल, लक्ष्मण रायमाझी, राम विनय, माधव ढुङ्गेल, प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’, रमेश पोखरेल, डा.हरिप्रसाद सिलवाल, यशोदा अधिकारीले संयुक्त रूपमा ‘जबजको सौन्दर्यशास्त्रीय विमर्श’ कृतिको लोकार्पण गर्नुभएको थियो ।
प्रधान सम्पादक आर.सी.न्यौपानेले ‘जबजको सौन्दर्यशास्त्रीय विमर्श’ कृतिको प्रकाशनको उद्देश्य, महासङ्घ तथा विद्वान व्यक्तित्वबाट प्राप्त भएको सहयोगसमेतका बारेमा प्रकाश पार्दै काम गर्दै जाँदा गहन कृति प्रकाशन गर्न सकिएको जानकारी दिनुभएको थियो ।
प्रमुख अतिथि ईश्वर पोखरेलले जनताको बहुदलीय जनवाद भनेको आफैँमा दर्शन हो, इतिहास हो, मानवजीवन हो र कार्यनीतिक सिद्धान्तसँग गाँसिएको कुरा हो । त्यसैले जबज एमालेको मार्गदर्शक सिद्धान्त हो । नेताको नामसँग गाँसिएको मात्र होइन जबज कम्युनिस्ट आन्दोलनको इतिहासको वस्तुनिष्ठ निष्कर्ष पनि हो, अन्तर्राष्ट्रि कम्युनिस्ट आन्दोलनको पनि निष्कर्ष हो । जबज एमालेको मात्र होइन कि मुलुकको परिवर्तन देख्न चाहने सबै सबैको दर्शन हो । जबजको सही कार्यान्वयनका लागि सबैको सक्रियता आवश्यक हुन्छ । पहलकदमी लिने र प्रतिस्पर्धाका माध्यमबाट नेतृत्व लिने व्यवहारिक सिद्धान्त पनि हो जबज, भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्: