काठमाडौं, फागुन ७ गते बुधबार । इडन ब्रिज एकेडेमी, टोखा नगरपालिका वडा नं. ४, कृष्णमन्दिरचोक, धापासीले टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीको प्रमुख आतिथ्यमा खेलकुद सप्ताह समापन तथा पुरस्कार वितरण र खेल प्रतिभा सम्मान कार्यक्रमको आयोजना गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
खेलकुद सप्ताह समापन समारोहको अवसरमा आधारभूत तहका विद्यार्थी भाइबहिनीहरूले विभिन्न खेलकुदका प्रतिस्पर्धाहरू प्रदर्शन गरेका थिए । ती प्रतिस्पर्धाहरूमा उत्कष्ट हुने विद्यार्थीहरूलाई प्रमुख अतिथि मेयर अधिकारीले शिल्ड, मेडल र प्रमाण–पत्रहरू प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल सेपाकताक्रो खेलको महिला राष्ट्रिय टिमकी क्याप्टेन, अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता सुमित्रा डंगोललाई ‘खेलरत्न सम्मान – २०८१’ र तेक्वान्दो आईटीएफका अन्तर्राष्ट्रि खेलाडी तथा रेफ्री र इडन ब्रिज एकेडेमीका तेक्वान्दो खेल प्रशिक्षक, तेस्रो डान कर्साङ दोर्जे स्याङ्बो तामाङलाई ‘खेल विशेष सम्मान – २०८१’ बाट नगद पुरस्कारसहित सम्मान तथा अभिनन्दन गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख मेयर अधिकारीले इडन ब्रिज एकेडेमी टोखा नगरपालिकाको मापन तथा अनुगमन र मूल्याङ्कनमा उत्कृष्ट रहेको छ भन्नुहुँदै यस विद्यालयले आफ्ना क्रियाकलापबाट देश विदेशमा समेत नाम राख्न सफल भएको छ, भन्नुभयो । उहाँले यो विद्यालय पढाइ, खेलकुद र अतिरिक्त क्रियाकलापको संगम स्थल बनेकोमा खुशी व्यक्त गर्दै यो अझै समृद्ध र सफल बन्दै जाओस् भन्ने शुभकामनासमेत दिनुभयो ।

टोखा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठले प्रिन्सिपललगायत सिङ्गो टिम नै अनुभवी र सक्षम रहेको यस विद्यालयले यस नगरपालिकामा उत्कृष्टता हासिल गरेका छ, यो हामी सबै नगरबासीहरूको खुशीको कुरा हो भन्नुहुँदै यो कुरा विद्यालयले प्राप्त गरेको शिल्ड, पदक र प्रमाणपत्रले बताउँछ, भन्नुभयो ।
कार्यक्रममा आफ्नो धारणा राख्दै प्याब्सन काठमाडौं जिल्ला कार्य समितिकी निवर्तमान उपाध्यक्ष तथा वर्तमान सल्लाहकार रीता राईले इडन ब्रिज एकेडमी यो क्षेत्रको मात्र नभई काठमाडौंकै उत्कृष्ट विद्यालय हो भन्नुहुँदै किताबी र कोरा ज्ञान मात्र नभइ ससाना विद्यार्थी भाइबहिनीहरूलाई आवश्यक हुने सैद्धान्तिक र व्यवहारिक ज्ञानको साथै सामूहिक भावनाको विकास गराउने खेलकुदलाई पनि विद्यालयले प्राथमिकतामा राखेर सञ्चालन गरिरहेको छ, भन्ने बताउनुभयो ।

उपस्थित अतिथिहरूमा स्वागत मन्तव्य राख्दै विद्यालयका प्रिन्सिपल प्रेम कुमार राईले मनमा उत्साह, उमङ्ग भएपछि काममा जाँगर आउँछ, त्यही जाँगरले कामलाई सहज र सफल बनाउँछ भन्दै यो विद्यालय अतिरिक्त क्रियाकलापको साथै एकेडेमिक क्षेत्रमा पनि उत्कृष्ट रहँदै टोखा नगरपालिकाभित्र उत्कृष्ट १० भित्रका विभिन्न स्थानहरू प्राप्त गरिरहेको छ, भन्ने बताउनुभयो । प्रिन्सिपल राईले खेलकुद, नृत्य, ट्यालेन्ट, तेक्वान्दो, वक्तृत्व, हाजिरीजवाफ, वादविवाद आदि कुनै पनि बाह्य प्रतिस्पर्धामा जाँदा यो विद्यालयले खाली हात फर्कनु परेको छैन, भन्नुभयो । उहाँले ‘सार्थक शिक्षा, सार्थक जीवन’ भन्ने नाराका साथ विद्यालयले आफ्ना क्रियाकलापहरू अगाडि बढाइरहेकोले हामीमा ऊर्जा थपिरहेको छ, काममा सफलता मिलिरहेको छ, भन्ने बताउनुभयो ।
कार्यक्रममा काठमाडौं प्याब्सनका अध्यक्ष नवराज भट्ट, पत्रकार उमेश पाण्डे, काठमाडौं प्याब्सनका सचिव श्रीकृष्ण भण्डारी, साहित्यकार रेणु अधिकारी मौनता, काठमाडौं प्याब्सनका सहसचिव नारायण रोक्का, बूढानीलकण्ठ नगर प्याब्सनका अध्यक्ष राधेश्याम श्रेष्ठ, टोखा नगर प्याब्सनका अध्यक्ष अरुण के.सी., नेपाल जितकुण्डो मार्सल आर्ट संघका महासचिव शिव बहादुर थापा, इडन ब्रिज एकेडेमीका विद्यालय व्यवस्थापन समितिका सदस्य चिरञ्जीवी अधिकारी, भगवती महिला समूहकी अध्यक्ष चिजमाया पण्डित, लामपाखा महिला समूहकी अध्यक्ष आशा लामा, पत्रकार राजिव भट्टराईलगायत विशेष अतिथिको रूपमा उपस्थित रहनुभएको थियो । त्यस अवसरमा शिक्षक, विद्यार्थी, अभिभावक, विभिन्न संघसस्थाका प्रतिनिधि र समाजसेवीहरूको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थी भाइबहिनीहरूका १८ वटा विभिन्न खेलहरू सञ्चालन गरिएको थियो । त्यस अवसरमा विद्यार्थी भाइबहिनीहरूले मार्चपास, गीत, सङ्गीत र नृत्यहरूको साथै मार्सल आर्टको सामुहिक ड्रिल पनि प्रस्तुत गरेका थिए ।

                                    
                                    
                                    
                                    
प्रतिक्रिया दिनुहोस्: