शान्तमुरारिको गीति कविता ‘ड्याजलिङ पर्ल’ को विमोचन

११ फाल्गुन २०८१

काठमाडौं, फागुन १० गते शनिबार । इतिहासविद हेमन्त राना, साहित्यकार डा.दयाराम श्रेष्ठ र गायक डा.राम पौडेलद्वारा संयुक्त रूपमा कवि शान्तमुरारिद्वारा लिखित अङ्ग्रेजी गीति कविताहरूको पुस्तक ‘ड्याजलिङ पर्ल’ अर्थात् ‘चम्केको मोती’ को ललितपुरको बखुन्डोल स्थित ब्ल्याक पिपर क्याफे एन्ड पब मा विमोचन भएको छ । उक्त विमोचन कार्यक्रममा शान्तमुरारि स्वयम्‌को सभापतित्व रहेको थियो ।

सामान्यतया चर्चित नेताहरूद्वारा पुस्तकको विमोचन गराउने परिपाटीलाई एक छेउमा राखेर विद्वत वर्गबाट गराउनु सान्दर्भिक ठानी शान्तमुरारिले आफ्नो कृति आफ्नै पुज्य गुरुहरू विद्वानत्रय हेमन्त राना, डा. दयाराम श्रेष्ठ र डा. राम पौडेलबाट गराएका छन् ।

पुस्तक विमोचनको अवसरमा कर्णेल विष्णु थापाले शुभकामना मन्तव्य दिनुभएको थियो ।

ललितकला क्याम्पस, भोटाहिटी, काठमाडौंका क्याम्पस प्रमुख डा.यामप्रसाद शर्माले समीक्षात्मक मन्तव्य राख्दै कविताहरूमा कवि शान्तमुरारिले हिमाल, पहाड, वनजङ्गल, खोलानाला तथा अन्य प्राकृतिक सम्पदाहरूलाई देशको विकास तथा समृद्घिका लागि खर्चिनुपर्छ भनी जोड दिएका छन्, भन्दै कवितामा कतै देशमा व्याप्त बेथितिप्रति चिन्ता पनि व्यक्त गरेका छन्, भन्नुभयो । डा. शर्माले कविताहरू दर्शन, विज्ञान, प्रकृति र सौन्दर्यशास्त्रको सम्मिश्रण रहेको पनि बताउनुभयो । उहाँले शान्तमुरारिका उत्कृष्ट कविताहरू पढ्नु एक नव भूमिको साहसिक यात्रा हुने कुरामा जोड दिनुभएको थियो । जीवनका रोमाञ्चक र उज्याला पक्षहरूलाई कविले आफ्नो कृतिमा कैद गरेका छन्, भन्दै ड़ा.शर्माले पुस्तकप्रति टिप्पणी गर्नुभएको थियो ।

त्यसैगरी समीक्षक डा. संजीव थापाले उक्त पुस्तक एक नवीन तथा छुट्टै विशेषता बोकेको पुस्तकको रूपमा रहेको विश्लेषण गर्नुभयो । थापाले विकासका पक्षहरूको कुुरा गर्दा शान्तमुरारिले कृषिलाई राष्ट्र उत्थानको प्रथम तथा सर्वोत्तम मार्गको रूपमा लिनुपर्ने कुरा आफ्नो कवितामा व्यक्त गरेका छन्, भन्ने टिप्पणी गर्नुभयो । डा. थापाले अधिकांश कविताहरू रोमाञ्चक र विशिष्ट रहेका भन्दै पुस्तकलाई अन्तर्राष्ट्रियकरण गरिनुपर्ने कुरामा जोड दिनुभयो ।

समारोहमा डा.राम पौडेल, डा.दयाराम श्रेष्ठ र हेमन्त रानाले पनि शान्तमुरारिको उक्त कृतिमाथि आ–आफ्नो धारणा राख्नुभएको थियो ।

नेपाली साहित्यमा ‘मुस्कुराउने फूल : गजल तथा गीत सङ्ग्रह’ सार्वजनिक गरिसकेका मातातीर्थ, चन्द्रागिरि–८, काठमाडौंका शान्तमुरारि अर्थात् अनुप रिजालले हाल प्रकाशन गरेको ‘ड्याजलिङ पर्ल’ उनको दोस्रो कृति हो । कृतिकार शान्तमुरारिको यो पुस्तक अङ्ग्रेजी साहित्यमा भने पहिलो पुस्तक हो । यस पुस्तकमा उनले मानव जीवनका उकाली ओराली, सुख–दुःख, प्रकृति र वातावरण, मानवता आदि विषयमा कलम चलाएको देखिन्छ । स्रष्टाले सामाजिक, राजनीतिक र आर्थिक रूपान्तरणको माध्यमबाट विश्वको उत्थान र सुधारका लागि घचघच्याउन कविता मार्फत जनता, नेता तथा नेतृहरूलाई अनुरोध गरेको देखिन्छ । सर्जकले सगरमाथा र गौतम बुद्घको जन्मस्थल, नेपाललाई विश्वमाझ चिनाउन भरमज्दुर प्रयास गरेको देखिन्छ । ‘ड्याजलिङ पर्ल’ मा कवि शान्तमुरारिले जम्मा ७८ वटा गीति कविताहरू अर्थात् लिरिकल पोयम्स लिपिबद्घ गरेका छन् । कविताहरूमध्ये ७ वटा वातावरण र प्रकृति, ४ वटा देशभक्ति, ३ वटा काल्पनिक महामानव, २ वटा नेपालको चिनारी, एउटा कृषि सम्बन्धी र बाँकी ६१ वटा कविताहरू अन्य विषय र स्वादका रहेका छन् । उनका धेरै जस्ता सिर्जनाहरू रोमाञ्चक छन् भने केही रचनाहरूले मानव जीवनका सुख–दुःखहरूलाई प्रतिबिम्बित गरेका पनि पाइन्छ । कवि शान्तमुरारिका देशभक्ति कविताहरूमा ‘देशका लागि गर देशकै लागि मर’ भन्ने उच्च भाव भेटिन्छ ।

कार्यक्रमको संयोजन, व्यवस्थापन र सञ्चालन समाजसेवी सुरेन्द्र व्यञ्जनकारले गर्नुभएको थियो ।  समारोहमा पत्रकार, डाक्टर,  सैनिक अधिकृतहरू,  वरिष्ठ व्यक्तित्वहरू, व्यवसायीहरू तथा साहित्य अनुरागीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: