
२०८१ चैत ५, काठमाडौं। प्रसिद्ध निबन्धकार शंकर लामिछानेको ९८ औं जन्मजयन्ती तथा पुरस्कार/सम्मान कार्यक्रम प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्व डालो रेस्टुरेन्ट अनामनगर काठमाडौमा सम्पन्न भएको छ। सो अवसरमा प्रतिष्ठानद्वारा प्रकाशित “शंकर सन्दर्भ” ग्रन्थको लोकार्पण पनि गरियो।
प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति केके कर्माचार्यले निबन्धकार विजय चालिसेलाई “शंकर लामिछाने पुरस्कार” प्रदान गर्नुभयो । सो पुरस्कारअन्तर्गत नगद रू ५० हजार रहेको छ। चालिसेलाई दोसल्ला र ढाका टोपीसहित सम्मानपत्र अर्पण गरिएको थियो।
यसैगरी सोही कार्यक्रममा निबन्धकार पवन आलोकलाई “शंकर लामिछाने सम्मान” प्रदान गरिएको थियो। आलोकलाई रू २५ हजार नगदसहित दोसल्ला, प्रमाणपत्र र ढाका टोपी लगाई सम्मान अर्पण गरिएको थियो।
कार्यक्रममा लोकार्पित “शंकर सन्दर्भ” पुस्तकका सम्पादक पारसप्रकाश नेपाललाई पनि सम्मान गरिएको थियो।
प्रमुख अतिथि केके कर्माचार्यले योग्य व्यक्तिलाई योग्य पुरस्कार प्रदान गरिएकोमा खुसी प्रकट गर्नुभयो।
कार्यक्रममा पुरस्कृत एवम् सम्मानित स्रष्टाहरूका योगदानबारे समालोचक प्रमोद प्रधानले चर्चा गर्नुभएको थियो ।
कार्यक्रमको शुरुआतमा अध्यक्ष लेकालीले संस्थाको परिचय र पुरस्कार सम्मान प्राप्त गर्नु हुने लगायत उपस्थित सभालाई स्वागत गर्नुभएको थियो।
कार्यक्रममा पुरस्कार-सम्मान प्राप्त स्रष्टाहरूले पनि आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठानका संरक्षक सविता ढुंगानाले संस्थाका गतिविधिमा प्रकाश पार्नुभएको थियो।
दयारामभक्त माथेमाको सम्झनामा स्थापित दया फाउन्डेसनका किपा माथेमाले सभालाई सम्बोधन गर्नुभयो । यसैगरी आख्यानकार पद्मावती सिंहले उपस्थित सभालाई धन्यवाद व्यक्त गरेकी थिइन्।
प्रतिक्रिया दिनुहोस्: