
काठमाडौं चैत्र ५ गते । विशिष्ट आख्यानकार परशु प्रधानको स्मृतिमा स्थापित ‘परशु–कल्पना स्रष्टा सम्मान–२०८१’ प्रदान गरिएको छ । आख्यानकारहरू ध्रुव सापकोटा र गणेश रसिकलाई संयुक्त रूपमा उक्त सम्मान प्रदान गरिएको हो । नेपाल स्रष्टा समाज, केन्द्रीय समितिले मङ्गलबार काठमाडौँमा आख्यानकारद्वयलाई जनही ५० हजार १०१ रुपियाँको राशिसहित सम्मानपत्र प्रदान गरेको हो । नेपाली साहित्यको आख्यान क्षेत्रमा पाँच दशकभन्दा बढी समयदेखि योगदान दिएबापत सापकोटा र रसिकलाई सम्मान अर्पण गरिएको हो ।
कार्यक्रममा प्रा.डा.कृष्णप्रसाद दाहालले परशु प्रधान नेपाली साहित्यको वृहस्पति भएको बताउँदै नेपाली साहित्यमा उहाँलाई जता राखे पनि चम्किने उल्लेख गर्नुभयो ।
नेपाल स्रष्टा समाजका संरक्षक तथा पुरस्कार छनोट समितिका संयोजक पवन आलोकले आफू परशु प्रधानको प्रेरणाले साहित्यमा आएको बताउनुभयो ।
समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले परशु प्रधान अरूलाई पनि अगाडि सार्ने साहित्यकार भएको बताउनुभयो । ‘उहाँले आफूले सिर्जना मात्रै गर्नुभएन’, रोदनले भन्नुभयो, ‘उहाँले अगाडि सारेका प्रतिभा अहिले नेपाली साहित्यमा कुन स्थानमा छन् भनेर भनिरहनु पर्दैन ।’
परशु प्रधानका छोरा प्रतीक प्रधानले नेपाली साहित्यमा योगदान दिने सही व्यक्तिलाई सम्मान गर्ने प्रयास गरेको बताउनुभयो ।
कार्यक्रममा साहित्यकार छविरमण सिलवाल, विधान आचार्य, लता के.सी., सानुराजा अञ्जान, त्रिचन्द्र श्रेष्ठ प्रतिक्षा, अरुण खत्री नदी, वासुदेव गुरागाई, किशोर पहाडी, हिरण्यकुमारी पाठक लगायतको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस्: