पलाञ्चोक भगवतीको मूर्तिको सौन्दर्य हराउँदा राजनको मन एकाएक मोहित हुन्छ । उनको आँखा त्यही मूर्तिमा ठोकिन्छ र उनी सम्मोहित भएझैं गरी बोल्छन्, ‘सर, यो मूर्ति कति सुन्दर छ, हेर्नुस् त ! यो त हामीलाई नै नियालेर मुस्कुराएझैं लाग्छ । आँखाहरू झिमिक झिमिक गरेको, जीवन्त भगवती नै अगाडि उभिएको अनुभूति हुन्छ । तपाईंलाई पनि त्यस्तै लागेन? के तपाईंले यो मुस्कान देख्नुभएन ?’
उनका शिक्षक ध्रुवराज शान्त स्वरमा जवाफ दिन्छन्, ‘मलाई त त्यस्तो लागेन, राजन । तर यो मूर्तिको महिमा निर्विवाद छ । नेपालका उत्कृष्ट मूर्तिहरूमध्ये यो एक हो । के तिमीलाई थाहा छ, यो मूर्ति बनेपछि तत्कालीन शासक यति भावविह्वल भएछन् कि उनले यस्तो कला कहीँ कतै दोहोरिन नपाओस् भन्ने ठाने । उनको शासनको कीर्ति र अद्वितीय कलामा कुनै धक्का नलागोस् भनेर मूर्तिकारलाई जीवनभर पुग्ने पारिश्रमिक दिएर उनको दाहिने हात काटिदिएछन् ।’
राजनको अनुहारमा आश्चर्य र असन्तुष्टि मिसिएको भाव देखिन्छ । उनी तत्काल बोल्छन्, ‘सर, यो त गलत भयो नि ! किन यस्तो क्रूर हुनुपरेको ?’
ध्रुवराज गम्भीर हुँदै सम्झाउँछन्, ‘राजन ! इतिहासमा शक्ति र अहङ्कारले मात्तिएका शासकहरूको कथा यस्तै हुन्छ । मानवता र विवेकले ठाउँ नपाउने यस्ता शासकहरूको एकमात्र उद्देश्य हुन्छ,आफ्नो युगको वैभवलाई अद्वितीय बनाइराख्नु । यदि यस्तो कला अरू ठाउँमा पनि बन्यो भने उनको शासकीय महानतामा आँच आउँछ भन्ने ठान्थे ।’ तर यो मूर्तिकारको प्रतिभा पनि कम थिएन । दाहिने हात गुमाएपछि पनि उनले हिम्मत हारेनन् । उनले सोचे, ‘हात नभए पनि मेरो कला जीवित छ र बाँकी रहेको देब्रे हातले अर्को उत्कृष्ट मूर्ति बनाए, जुन आज नक्साल भगवतीको नामले प्रख्यात छ ।’
राजन अझै चाख मानेर सुनिरहन्छन् । शिक्षक थप्छन्, ‘तर शासकको अहङ्कारले त्यो पनि सहन सकेन । उनले मूर्तिकारको देब्रे हात पनि काटिदिए । तैपनि, त्यो कलाकारको आत्मबल कहिल्यै टुटेन । उनले आफ्नो कला र सीपप्रति अटल विश्वास राखे । दुवै हात गुमाएर पनि उनले हार मानेनन् । पत्थर र छिनो भएपछि हातको के जरुरत भन्दै खुट्टाले अर्को मूर्ति बनाए, जुन अहिले शोभा भगवतीको नाममा चिनिन्छ । यस्तो अदम्य साहस र प्रतिभा सायदै कहीँ भेटिन्छ ।’
राजनको जिज्ञासा झन् बढ्छ । उनी सोध्छन्, ‘त्यसपछि पनि उनले अरू मूर्ति बनाए कि बनाएनन्, सर ?’ ध्रुवराज अलिकति रोकिएर भन्छन्, ‘त्यो त इतिहासका पानाहरूमा स्पष्ट उल्लेख छैन । तर उनको यो कथाले हामीलाई एउटा ठूलो पाठ सिकाउँछ, कलाकारको आत्मा कुनै शारीरिक बन्धनले रोकिँदैन ।’
राजनको मनमा असन्तुष्टि र आक्रोश मिसिन्छ । उनी भन्छन्, ‘कस्तो अत्याचारी शासक रहेछन् ! यस्तो क्रूरता त हाम्रो देशमा मात्रै भएको होला, होइन सर ? कि अरू देशमा पनि यस्तै हुन्छ ?’
शिक्षक गहिरो सास फेर्दै जवाफ दिन्छन्, ‘शक्ति र महत्वाकांक्षाको नशाले मानिसको विवेक हराउँछ, राजन । यो कुनै देश विशेषको कथा होइन । उदाहरणका लागि, भारतको ताजमहल हेरन ! त्यो विश्वकै अद्वितीय संरचना बनाउने धेरै कलाकारहरूको हात पनि शासकले काटिदिएको थियो भन्ने इतिहासमा उल्लेख छ । कारण उही थियो, त्यस्तो कला फेरि कतै दोहोरिन नपाओस ्। तर यस्तो क्रूरताले कलाकारको प्रतिभा मेट्न सक्दैन, बरु उनीहरूको कीर्ति झन् अमर हुन्छ ।’
राजन मनमनै दुःखित हुन्छन् । उनी भन्छन्, ‘कलाकारहरूमाथि यस्तो अन्याय किन हुन्छ, सर ? धन्य हो, अहिले हाम्रो युगमा यस्ता अप्रिय घटना सुनिँदैन ।’
ध्रुवराज हल्का मुस्कानसहित भन्छन्, ‘यस्ता क्रूर घटना आजकाल कमै सुनिन्छ । तर कलाकारको अपमान पूरै रोकिएको छैन । तिमीले पनि सुनेकै हुनुपर्छ, आन्दोलनका नाममा कति कवि, कलाकार र राजनीतिज्ञका सालिकहरू भत्काइए । कतै एउटा सालिक हटाएर त्यही ठाउँमा अर्को राखियो । यो कस्तो अबुझपन हो ! सालिक भत्काउनु भनेको त्यसलाई बनाउने कलाकारको सम्मानमाथि प्रहार गर्नु होइन र ? जसको नाममा सालिक छ, उसको इतिहास त मेटिँदैन । असल वा खराब, उसका कर्महरू इतिहासमा लेखिएकै हुन्छन् । सालिक हटाउँदैमा तथ्य मेटिँदैन । यो त केवल कलाकारको सिर्जना माथिको अपमान हो । किन आफ्ना प्रिय व्यक्तिको सालिक राख्न अरू ठाउँ छैन र ! नेपाल यति सानो देश त होइन, जहाँ नयाँ सालिक राख्ने ठाउँ नपाइयोस् !’
राजन अलमल्ल पर्छन् । उनी सोध्छन्, ‘सर, तपाईं हामीलाई सधैं राम्रा चित्र बनाउन प्रेरणा दिनुहुन्छ । तर यस्ता अपमान र अप्रिय घटनाहरूको कथा सुन्दा मलाई त डर लाग्न थाल्यो ।’
ध्रुवराज भन्छन्, ‘डराउनु पर्दैन । हाम्रा हात, खुट्टा चलुन्जेल, आफ्नो सीप र शक्तिले भ्याएसम्म राम्रो काम गर्नुपर्छ । बाँच्नुको अर्थ नै सत्यको बाटोमा लागेर सिर्जनामा समर्पित हुनु हो । इतिहासले हामीलाई सिकाएको छ कलाकारको सिर्जना सधैं अमर रहन्छ ।’
म्हेपी, काठमाडौं।
प्रा डा शर्मा जनस्तरको ‘विद्वत रत्न’ को उपाधिबाट विभूषित तथा अभिनन्दित हुनुहुन्छ।
प्रतिक्रिया दिनुहोस्: