जनतासँग जनप्रतिनिधि एवं जनसंवाद कार्यक्रम

२६ फाल्गुन २०८१

काठमाडौं, फागुन २५ गते आइतबार । नेकपा एमाले टोखा नगर वडा नं. ८ र ११ वडा कमिटी क्षेत्र नं. ६ ले ‘जनतासँग जनप्रतिनिधि एवं जनसंवाद कार्यक्रम–२०८१’ को आयोजना गरेको छ । ८ नं. वडा कमिटीकी अध्यक्ष सुशीला लोहनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा एमालका केन्द्रिय कमिटी सदस्य नारायण सिलवालको प्रमुख उपस्थिति रहेको थियो ।

जनसंवाद कार्यक्रममा टोखा नगरपालिका वडा नं. ८ र ११ का सहित नगरपालिकाभित्रका अधिकांश वडाबाट विभिन्न संघसंस्था, महिला समूह, युवासंघका प्रतिनिधिहरू, स्थानीय महिला तथा भद्रभलादमीहरू, जनप्रतिनिधि हरूको साथै सयौँको सङ्ख्यामा जनसमुदायहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित जनसमुदायहरूको विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्दै २२ जनाले नगरपालिकाभित्रका ढल, खानेपानी, विजुली बत्ती, सरसफाई, शान्तिसुरक्षा, शिक्षा, स्वास्थ्य, खेलकुद, वातावरण, भौतिकपूर्वाधार, संस्कृति, साहित्य, कला र ज्ञान–विज्ञान आदिमा देखिएका समस्या र नगरबासीले भोग्नुपरेका कठिनाइहरूका बारेमा उपस्थित जनप्रतिनिधिहरूसँग प्रश्न र जिज्ञासाहरू राखेका थिए ।

जनसंवाद कार्यक्रममा उपस्थित जनसमुदायहरूले देखे/भोगेका समस्या र कठिनाइहरूका बारेमा उनीहरूले राखेका प्रश्न र जिज्ञासाहरूको बारेमा टोखा नगरपालिका वडा नं.८ र ११ का वडा अध्यक्षहरू रमेश खत्री र घनश्याम खड्काले स्थानीय गाउँ, वडामा भए/गरेका कामकारबाही, वडाले गर्ने र गर्नसकिने कामका बारेमा बताउनुभएको थियो ।

त्यसैगरी टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले नगरपालिकाले गरेका काम र योजना, नगरमा भएका विकास निर्माण र प्रगतिका बारेमा बताउँदै सिङ्गो नगरपालिका जनताको साथमा रहेको बताउनुभयो ।

बागमती प्रदेश सरकारका भौतिकपूर्वाधार विकास मन्त्री अमन मास्केले प्रदेशले गरेका काम र आगामी योजनाको बारेमा प्रष्टपार्नुभएको थियो ।

संवाद कार्यक्रममा नेकपा एमालका केन्द्रिय कमिटी सदस्य नारायण सिलवालले समग्र देशका समस्याहरू, राष्ट्रिय–अन्तर्राष्ट्रिय सवालहरू, सरकारले गरिरहेका कामकारवाहीहरू र नेकपा (एमाले) बाट निर्वाचित जनप्रतिनिधिहरू र यसका सदस्य साथीहरूले जनताले भोगिरहेका समस्या र कठिनाइहरूमा गर्नुपर्ने सहयोग र भावी कार्यदिशाका बारे आफ्नो धारणा राख्नुभएको थियो ।

अन्त्यमा, कार्यक्रमकी सभापति सुशीला लोहनीले धन्यवादसहित सभा विसर्जनको घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्: