
काठमाठडौं, २०८१ फागुन २६, सोमबार । सरदार रुद्रराज पाण्डेको १२५औँ जन्मजयन्तीको अवसरमा रुद्रराज साहित्य सेवा समितिबाट आयोजित कार्यक्रममा विद्वत्रत्न प्रा.डा.गार्गी शर्मा ‘रुद्रराज साहित्य पुरस्कार–२०८१ बाट सम्मानित गरिएको छ । त्यस अवसरमा एसईई–२०८० मा भानु मा.वि.बाट उत्कृष्ट नतिजा ल्याउन सफल हुनुभएकी लिरिमा श्रेष्ठलाई ‘रुद्रराज’ पुरस्कार र कक्षा १० मा अध्ययनरत उत्कृष्ट विद्यार्थी खेम बोहोरालाई ‘रुद्रराज’ छात्रवृत्ति प्रदान गरिएको थियो ।
रुद्रराज साहित्य सेवा समितिका अध्यक्ष डा.बद्रीराज पाण्डेको सभापतित्व र दिव्य शताब्दी पुरुष डा.गौरीशङ्कर लाल दासको प्रमुख आतिथ्यमा सरदार पाण्डेको १२५औँ जन्मजयन्ती तथा सम्मान कार्यक्रम सम्पन्न भएको थियो । दीप प्रज्ज्वलनको साथै सरदार रुद्रराज पाण्डेको तस्वीरमा माल्यार्पणबाट सुरु भएको कार्यक्रममा उपस्थित अतिथिहरूलाई सुधा पन्त, शुभा पन्त र शोभा शर्माले खादा र माला अर्पण गर्नुभएको थियो । कार्यक्रमको उद्घोषण तथा सञ्चालन कवि यादव भट्टराईले गर्नुभएको थियो ।
समितिका महासचिव डा.निल पाण्डेले अतिथिहरूमा स्वागत मन्तव्य राख्नुभएको थियो । साहित्यकार हिरण्यकुमारी पाठकले सम्मानित व्यक्तित्व विद्वत्रत्न प्रा.डा.शर्माको व्यक्तित्व बारे परिचय दिनुभएको थियो । साहित्यकार पाठक व्यक्तित्व छनोट समितिको संयोजक पनि हुनुहुन्थ्यो ।
कार्यक्रममा सम्मानित व्यक्तित्व विद्वत्रत्न प्रा.डा.गार्गी शर्मा, विशिष्ट अतिथि डा.गोविन्द टण्डन, रुद्रराज साहित्य सेवा समितिका संरक्षक ई.कृष्णराज पाण्डे, प्रमुख अतिथि दिव्य शताब्दी पुरुष डा.गौरीशङ्कर लाल दासले ृसरदार रुद्रराज पाण्डेको व्यक्तित्व, कृतित्व र रुद्रराज साहित्य सेवा समितिले साहित्य र सामाजिक सेवाका क्षेत्रमा पुर्याएको योगदानका बारेमा चर्चा गर्दै आआफ्ना धारणा राख्नुभएको थियो ।
अन्त्यमा कार्यक्रमका सभापति डा.बद्रीराज पाण्डेले सहभागी, सहयोगीको साथै उपस्थित अतिथिहरूमा धन्यवाद ज्ञापनसहित सभा समापनको घोषणा गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्: