शिक्षक आन्दोलनमा हेम सरिता पाठक फाउन्डेसनको ऐक्यबद्धता

२६ चैत्र २०८१

२०८१ चैत २५, काठमाडौं । अमेरिकाको टेक्ससमा रहेको हेम सरिता पाठक फाउन्डेसनले आज ‘नयाँ शिक्षा ऐन जारी हुनुपर्ने’ मागसहित राजधानीमा चलिरहेको शिक्षक आन्दोलनमा तेह्रथुमबाट सहभागी हुन आउनुभएका ३५ बढी सहभागी शिक्षकलाई स्वागत कार्यक्रमको आयोजना गर्‍यो ।

फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठक र संरक्षक सरिता पाठक तथा अध्यक्ष जेनी पाठक र उपाध्यक्ष बोनस खनालको विशेष उपस्थितिमा डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौमा आयोजित सो कार्यक्रममा प्रमुख संरक्षक पाठकले शिक्षकको यस आन्दोलनमा फाउन्डेसनको ऐक्यबद्धता रहेको जिकिर गर्दै न्यायोचित मागको लागि जारी आन्दोलनले निर्णायक भूमिका खेल्नेमा आफू विश्वस्त रहेको उल्लेख गर्नुभयो । साथै उहाँले तेह्रथुमका जेहेन्दार गरीब विद्यार्थीको लागि वार्षिक दुई लाखको छात्रवृत्ति प्रदान गर्ने घोषणा पनि गर्नु भयो ।

प्रमुख संरक्षक पाठकले तेह्रथुमको एक विद्यालयलाई विशेष सहयोग गर्ने घोषणा गर्दै फाउन्डेसनको परिचय गराउनु भएको थियो ।

हेम सरिता पाठक फाउन्डेसन नेपालका अध्यक्ष राधेश्याम लेकालीले सहजीकरण गर्नुभएको सो कार्यक्रममा महासंघ जिल्ला समिति, तेह्रथुमका अध्यक्ष अविनारायण पराजुली, उपाध्यक्ष केदार कटुवाल, महिला उपाध्यक्ष डम्माकुमारी दाहाल, सदस्य हिमबहादुर थापा, जिल्ला समिति अध्यक्ष नेत्रप्रसाद कट्टेल, तेह्रथुम सरोकार मञ्च, काठमाडौंका अध्यक्ष डिल्ली ढुंगेल लगायतले आन्दोलनको महत्व, औचित्य र अवस्थाबारे बोल्नु भएको थियो ।

शिक्षक आन्दोलन सुरु भएको अक दशक नाघिसक्यो । यसबीच नेपाल सरकारले तीनपटक सम्झौता गरिसकेको छ । तर सम्झौता कार्यान्वयन भने गरेको छैन । व्यवस्था परिवर्तनमा शिक्षकहरुले वहन गरेको जिम्मेवारी गणतन्त्र आएपछि दलहरुले बिर्सिसकेका छन् ।

कार्यक्रममा फाउन्डेसनका कार्यसमितिका पदाधिकारी, सदस्य र तेह्रथुमबाट आउनु भएका शिक्षकहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: