
काठमाडौँ, वैशाख १० गते । प्रज्ञा-प्रतिष्ठानले ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार र ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’ २०८१ को घोषणा गरेको छ । वरिष्ठ साहित्यिक पत्रकार मोहन दुवाललाई ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार’ र वीरबहादुर चन्दलाई ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’ प्रदान गर्ने घोषणा प्रज्ञा-प्रतिष्ठानले गरेको हो।
वरिष्ठ साहित्यिक पत्रकार दुवालले बीसको दशकदेखि साहित्यिक पत्रकारिता गर्दै आउनुभएको हो ।उहाँको प्रधान सम्पादकत्वमा जनमत साहित्यिक मासिक काभ्रेबाट विगत ४० वर्षदेखि प्रकाशित हुँदै आएको छ। देश विदेशमा समेत प्रसिद्व जनमत नेपाली भाषाको उत्कृष्ट साहित्यिक पत्रिकामा पर्दछ। स्रष्टा-द्रष्टा र सङ्गठक लगायतका बहुक्षेत्रमा विशेष योगदान गरेका दुवाल जनमत वाङ्मय प्रतिष्ठान तथा नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष समेत हुनुहुन्छ ।
वरिष्ठ साहित्यिक पत्रकार वीरबहादुर चन्द ‘विश्राम’ले तीसको दशकदेखि साहित्यिक पत्रकारिता गर्दै आउनुभएको हो । उहाँको प्रधान सम्पादकत्वमा डोट्याली भाषाको साहित्यिक मासिक ‘गुगुल्डी’सुदुरपश्चिमको कन्चनपुरबाट विगत २८ वर्षदेखि प्रकाशित हुँदै आएको छ। नेपाली डोट्याली भाषामा ‘गुगुल्डी’ लोकप्रिय रहेको छ। साहित्यिक सर्जक र सांस्कृतिक सङ्गठक जस्तो महत्त्वपूर्ण भूमिकामा रहेका चन्द गुगुल्डी वाङ्ममय प्रतिष्ठानका अध्यक्ष रहेका छन् ।
प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको अध्यक्षतामा बसेको बैठकले उक्त पुरस्कारको घोषणा गरेको हो । उक्त पुरस्कारको राशि जनही ५०,०००/ (पचास हजार ) रुपैयाँ रहेको कुरा प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्: