पारामाउण्टमा प्रि–प्राइमरीको दीक्षान्त सम्पन्न

२३ बैशाख २०८२

काठमाडौं, वैशाख २२ गते सोमबार । पारामाउण्ट एकेडेमी/पीए कलेजले टोखा नगरपालिका वडा नं.८ बानियाँटारले संविधान सभाका सदस्य तथा नेपाली काँग्रेसका नेता जगदीश्वरनरसिंह के.सी.को प्रमुख आतिथ्य र विद्यालयका प्रिन्सिपल मुकुन्दप्रसाद सिटौलाको सभापतित्वमा प्रि–प्राइमरी तहको दीक्षान्त समारोह सम्पन्न गरेको छ ।

विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश्वरनरसिंह के.सी.ले यस विद्यालयलले प्रि–प्राइमरी स्तरको समेत दीक्षान्त समारोह आयोजना गरेर राम्रो कामको सुरुवात गरेको बताउनुभयो । प्रमुख अतिथि के.सी.ले विद्यालयमा आयोजना गरिने यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूमा उत्साह र जाँगर भर्ने, शिक्षक तथा कर्मचारीहरूलाई सधैँ क्रियाशील बनाइराख्ने र अभिभावकहरूमा आफ्ना नानीबाबुहरूले प्राप्त गरेका सिप र क्षमताको साथै विद्यालयका विविध गतिविधि बारेमा जानकारी हुने कुरा बताउनुभयो । उहाँले विद्यालयका बारेमा कुनै जिज्ञासा वा गुनासाहरू भए प्रिन्सिपल वा व्यवस्थापन समितिमा आएर निर्धक्क भन्न पनि आग्रह गर्नुभयो ।

कार्यक्रमका सभाध्यक्ष तथा आयोजक पारामाउण्ट एकेडेमी/पीए कलेजका प्रिन्सिपल मुकुन्दप्रसाद पाण्डेले विद्यालय २२ औँ वर्षमा पुगेको अवसरमा साना विद्यार्थी भाइबहिनीहरूमा हौसला, उमङ्ग, जोस, जाँगर ल्याउन आज हामीलाई विशेष साइत जुरेको बताउनुभयो । प्रिन्सिपल पाण्डेले अभिभावकहरूको निरन्तरको यो लामो मायाँ, साथ र सहयोगले आज हामी हाम्रा ससाना भाइबहिनीहरूलाई एउटा फड्को मार्ने, एउटा पुल तार्ने काम गरिरहेका छौँ, भन्नुभयो । उहाँले विद्यालयलाई यहाँसम्म ल्याइपुर्‍याउन विद्यालयका शिक्षक/शिक्षिका साथीहरू, मर्कचारी मित्रहरू र विद्यार्थी भाइबहिनीहरूको पनि अनवरत रूपमा महत्वपूर्ण भूमिका र सहयोग, सद्भाव रहेको छ, भन्नुहुँदै सहयोगी सबैमा हार्दिक धन्यवाद पनि व्यक्त गर्नुभयो । सभापति पाण्डेले विद्यार्थी भाइबहिनीहरूमा अङ्ग्रेजी भाषालाई अझ स्तरीय र राम्रो बनाउन यसै शैक्षिक सत्रदेखि अङ्ग्रेजी भाषाका दुईवटा पाठ्यपुस्तक पनि थप गरिने बताउनुभयो ।

कार्यक्रममा शिक्षक सरन कुमार तामाङले उपस्थित अतिथिहरूमा स्वागत मन्तव्य राख्नुभएको थियो भने मोहनकृष्ण श्रेष्ठले विद्यालयको शैक्षिक गतिविधिका बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा पत्रकार उमेश पाण्डे, पत्रकार हरि भेटुवाल र इन्स्पायर एजुकेशनकी प्रशिक्षक जेनिफर गौतमलगायत अतिथिको साथै अभिभावकहरूको पनि बाक्लो स्थति रहेको थियो ।

त्यस अवसरमा ससाना विद्यार्थी भाइबहिनीहरूले विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए भने शिक्षिकाहरूले पनि सामूहिक नृत्यहरू प्रदर्शन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्: