
काठमाडौं, २०८२ जेठ ३ गते शनिबार । साहित्य सन्ध्याको नियमित मासिक ४६३ औँ शृङ्खलामा ‘सङ्घीय लोकतान्त्रिक व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रता’ विषयमा र ‘नेपाली राजनीतिमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान’का विषयमा परिचर्चा गरियो र विशेष कविगोष्ठी गरी सम्पन्न गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र सचिव जयन्ती स्पन्दनको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा प्रा.जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’ उपस्थित हुनुहुन्थ्यो ।
‘सङ्घीय लोकतान्त्रिक व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रता’ विषयमा विशद चर्चा गर्नुहुँदै साहित्य सन्ध्याको प्रारम्भिक कालका अभियन्ता तथा वरिष्ठ पत्रकार एवम् समारोहका विशेष अतिथि तीर्थ कोइरालाले अभिव्यक्ति स्वतन्त्रताले देशको शिष्टता मापन हुन्छ । अभिव्यक्ति स्वतन्त्रताले व्यक्तिको चिन्तनलाई अभिव्यक्त गर्दछ । अभिव्यक्ति स्वतन्त्रताका नाममा जे पायो त्यही लेख्ने र बोल्ने गर्ने हो भने समाजलाई सकारत्मकतातिरभन्दा अराजकतातिर लैजाने खतरा रहन्छ । अभिव्यक्ति स्वतन्त्रता सङ्घीय लोकतान्त्रिक व्यवस्थाको मेरुदण्ड हो तर यसको सही सदुपयोग आवश्यक हुन्छ, भन्ने धारणा राख्नुभयो ।
‘नेपाली राजनीतिमा जननेता मदन भण्डारी तथा जीवराज आश्रितको योगदान’ विषयमा विशद परिचर्चा गर्नुहुँदै प्रमुख अतिथि प्रा.जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’ले नेपाली राजनीतिमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै मुलुकको आवश्यकतानुसारको राजनीतिक वैचारिकताका साथ नेपाली राजनीतिको नेतृत्व गर्ने हैसियत बनाइसकेका जननेता मदन भण्डारी र जीवराज आश्रित दुर्घटनाका कारण आजकै दिनमा कीर्तिशेष हुनुभएको हुँदा आजको दिन कालो दिन हो, भन्नुहुँदै बनारसमा ‘छात्रप्रवाह’ पत्रिकाको सम्पादन गर्दै साहित्यका माध्यमबाट कम्युनिस्ट विचारधारा प्रवर्धन गर्ने, अन्धविश्वास तथा ईश्वरवादको विरोध गर्ने र वर्गसङ्घर्षका पक्षमा वकालत गर्ने काम एकैपटक मदन भण्डारीले गर्नुभएको छ । अनुज पुस्तालाई जिम्मेवार बनाउने, सम्मान गर्ने अनि अग्रज पुस्तालाई आदरभाव गर्ने र सबैलाई मिलाएर लैजान सक्नुका साथै नेतृत्वकौशलसमेत रहेका, परिस्थितिको विश्लेषण गर्नसक्ने क्षमताका धनी मदन भण्डारी नेपाली राजनीतिका अत्यन्त सशक्त र सफल राजनीतिज्ञ भएको धारणा राख्नुभयो । प्रमुख अतिथि प्रा.उपाध्यायले वाचित रचनामाथि समीक्षात्मक विचारसमेत राख्नुभएको थियो ।
समारोहमा ओमप्रसाद कोइराला, डम्बर पहाडी, वासुदेव अधिकारी, नर्मदेश्वरी सत्याल, डा.मनोज जोशी, नवराज श्रेष्ठ, गोपाल नेपाल, पोषरमण चापागाईँ, बेनीबहादुर थापा, बलराम विष्ट, ड्युना अधिकारी, प्रदेशिका अधिकारी, परिमा अधिकारी, भीष्मराज काफ्ले, गोपीचन्द्र कार्की, सञ्जय सोती, डा.गोविन्दप्रसाद आचार्य, खेमराज निरौला, लीलाराज दाहाल, अर्जुन अन्योल, प्रशान्त खरेल, गोपालकुमार मैनाली र रूपक अलङ्कारले आआफ्ना कविता, गीत, गजल वाचन गर्नुभएको थियो ।
सभाध्यक्ष राम विनयले बगिरहेको पानी एकै स्थानमा जमिरह्यो र गतिशील हुनपाएन भने अर्थात् चलायमान भएन भने दूषित हुन्छ, त्यही कुरा मानिसको जीवन र सोचाइमा पनि लागू हुन्छ, सामाजिक रूपान्तरणका लागि लागू हुन्छ । यसलाई नियमितरूपमा धोईपखाली गरिरहनुपर्ने हुन्छ । निरन्तर बगिरहेको जीवननदीलाई स्वच्छ पार्न यस प्रकारको वैचारिक विमर्श चाहिन्छ । त्यसैले साहित्य सन्ध्याले नियमितरूपमा परिचर्चा कार्यक्रम चलाइरहेको छ, भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्: