
काठमाडौं, जेठ ६ गते शनिबार । विश्व कीर्तिमानी सर्जक डा. डी. आर उपाध्यायको १७ औँ उपन्यास’आसक्ति’को आज लोकार्पण भएको छ। साहित्यिक पत्रकार सङ्घद्वारा डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा आयोजना गरिएको लोकार्पण कार्यक्रममा प्रमुख अतिथि माननीय डा. अमरेशकुमार सिंह, संघका अध्यक्ष राधेश्याम लेकाली, कलाकार मदनदास श्रेष्ठ, कवि शैलेन्द्र साकार लगायतले सो उपन्यासको लोकार्पण गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै माननीय डा.अमरेश कुमार सिंहले जुन देशमा कलम अवरुद्ध हुन्छ, साहित्य अवरुद्ध हुन्छ त्यस देशमा स्वतन्त्रता हुँदैन भन्नुहुँदै राजनीतिक वितृष्णा तथा विसंगतिलाई साहित्यकारहरूले कलमको माध्यमद्वारा व्यक्त गर्नुपर्छ भन्नुभयो। उहाँले राजनीति गर्नेले झुट बोले पनि साहित्यकारले झुट बोल्दैनन् त्यसैले साहित्यकारहरूलाई कलम नरोक्न आग्रहसमेत गर्नुभयो । आजको समाज विभक्त छ, जनता विभक्त छन्, कर्मचारी विभक्त छन् यस प्रकारको विभाजनमा लेखक तथा साहित्यकारहरू कलमको माध्यमबाट पृथ्वीनारायण शाह जस्तै भई एकीकरणको अभियानमा लाग्नुपर्ने बताउँदै डा.सिंहले आशाको संचार जगाइदिन समेत आग्रह गर्नुभएको थियो।
सभापतिको आसनबाट बोल्दै सापस अध्यक्ष राधेश्याम लेकालीले सर्जक डा. डी. आर उपाध्यायको व्यक्तित्व तथा कृतित्वमाथि संक्षेपमा प्रकाश पार्नुभयो। डा. उपाध्यायले आठ वटा विभिन्न देशहरूबाट विद्यावारिधि उपाधि हासिल गरेको, १५० भन्दा बढी सम्मान प्राप्त गरेको, १५३ वटा विश्व कीर्तिमान प्राप्त गरेको, विश्वको सर्वाेच्च उचाइमा बसेर गीत रचना गरेको, तीन दर्जन गीति एल्बम निकालेको, सयौँ लेख प्रकाशन गरेको आदि कुरा बताउँदै लेकालीले त्यसैले उनलाई विश्व कीर्तिमानी भनिएको कुरा समेत प्रष्ट्याउनुभएको थियो।
लोकार्पित कृति’आसक्ति’का भूमिका लेखकसमेत रहेका काव्यकार खेमनाथ दाहालले उपाध्यायको उपन्यास “आसक्ति ऋणम् कृत्वा घृतम् पिवेत” उखानसँग मिल्न गएको बताए। उपन्यासभित्रका पात्रका बारेमा क्रुरता र ममता दुवै भाव रहेको उल्लेख गर्दै एकातिर भौतिक सुख सुविधाको इच्छा र अर्कोतिर सत् पनि रहेको प्रसङ्ग कोट्याउनुभएको थियो ।
कार्यक्रममा उपन्यासका सर्जक डा. उपाध्यायले पनि आफ्ना कृतिका बारेमा संक्षेपमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा कलाकार मदनदास श्रेष्ठ, खनाल सेवा समितिका महासचिव माधव खनाल, गीतकार सङ्घका अध्यक्ष वसन्त वित्यासी, गायक सन्तोष श्रेष्ठ तथा कलाकार उत्तम केसीले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा गायक सागर अधिकारीले डा. उपाध्यायद्वारा रचित आफ्नै साथीबाट … … बोलको गीत गाएर सुनाएका थिए।
कार्यक्रममा प्रवाशमा बसेर नेपाली भाषा र साहित्यको सेवा गरेका साधक विनोद खड्कालाई सम्मान गरिएको थियो।
अनामनगरस्थित डालो रेष्टुरेन्टमा भएको सो कार्यक्रमको सहजीकरण तथा सञ्चालन कृष्ण भुषालले गरेका थिए।
प्रतिक्रिया दिनुहोस्: