लघुकथा

समुन्नत रीतिरिवाज

२७ जेष्ठ २०८२
ड़ा गार्गी शर्मा

पार्कका वाइरन र उनकी श्रीमती लुसीले आफ्नो सानो छोरालाई घुमाउन ल्याएका रहेछन् । उनीहरूलाई देखेर ‘नमस्ते वाइरन दाइभाउज्यू’ भन्दै हात जोड्छिन् उमा । अनि फेरि भन्छिन्, ‘आज तपाईंहरूसँग भेट भएर धेरै खुशी लाग्यो ।’
वाइरन लुसी दुवै जिल्ल परेर हेर्दै भन्छन्, ‘मैले तपाईंलाई त चिनिन, अनि फेरि किन मलाई दाइ भनेको ? म त तपाईंको दाइभाइ कोही पनि हैन त !’ उमा अप्ठ्यारो मान्दै भन्छिन्, ‘तपाईं हाम्रो घर नजिकै बस्नुहुन्छ हैन र ! हाम्रो छिमेकी हुनुहुन्छ । तपाईं मभन्दा उमेरले ठूलै देखिनुभएकोले मैले तपाईंलाई दाइ भने र उहाँ (लुसी) लाई भाउजू भनेको हुँ’, भन्नुहुन्न र ?
वाइरन भन्छन्, ‘हाम्रो देहमा, हाम्रो समाजमा यस्तो चलन छैन । हाम्रो कसैलाई पनि यस्तो नाता लगाएर बोलाउने, बोल्ने चलन छैन । हामी आफ्नै दाजुभाउजू, बाआमा, दिदीबहिनीलाई मात्र नाताले बोलाउँछौँ । अरू त जतिसुकै ठूलो भएपनि नाम लिएरै मात्र बोलाउँछौँ ।’
उमा सोध्छिन्, ‘आफूभन्दा ठूलोलाई पनि नामै लिएर बोलाउने ?’ वाइरन अप्ठ्यारो नमानीकन भन्छन्, ‘हो, दशवर्षे बच्चाले असीवर्षे बूढालाई बोेलाउन परे पनि उसको नामै लिन्छन्, दाजु, दिदी भन्ने चलन नै छैन ।’
आम्मै ! कस्तो चलन रहेछ, भन्दै उमा जिल्ल पर्छिन् र भन्छिन्, ‘हामी त त्यस्ता सत्तरी, असी वर्षकालाई त ससम्मान बुबा, काका, मामा आदि भनेर सम्मान गर्छौँ । साथीका बुबाआमालई अथवा उनका परिवारलाई सम्बोधन गर्नु परे उनले जे जे भनेर सम्बोधन गर्छिन्, हामी पनि त्यही त्यही भन्छौँ ।’ वाइरन झन् झिल्ल पर्दै सोध्छन्, ‘उनीहरू रिसाउँदैनन् ? हामीबीच त यस्ता नचाहिँदा नाता लगाइन्न ।’ उमा केही सम्झेझैँ गरेर भन्छिन्, ‘हुन त मैले अलि अलि सुनेकी छु, आफ्नै विमाता अथवा झड्केला बुबालाई पनि नामै लिएर कुरा गर्छन् रे ! हामी त विमातालाई पनि आमा नै भन्छौँ, झड्केलो बुबालाई पनि बुबा नै भन्छौँ । हुन त हाम्रो समाजमा तपाईंहरूको जस्तो सम्बन्ध विच्छेद गर्ने धेरै प्रचलन छैन । त्यसैले धेरै विमाता अथवा सौतेनी आमाहरू हुँदैनन्, बुबाहरू त झन् अति नै कम हुन्छन् । तपाईंहरूको मानवीय संसार अति नै साँघुरो रहेछ । हामी त विश्व नै आफ्नो घर अनि सबै मानवजाति एकै परिवार हुन् भन्ने सोच्दछौँ, त्यसैले आफूभन्दा ठूलालाई त्यही अनुरूप आमाबुबा, दाजुभाजू, मामामाइज्यू आदिको दर्जा दिन्छौँ र सानालाई भाइबहिनी, छोराछोरी, बाबुनानी आदि भन्दछौँ ।’
वाइरन र लुसी एकैसाथ सोध्छन्, ‘अनि उनीहरू रिसाउँदैनन् ?’ उमा संझाउँछिन्, ‘यसमा रिसाउनुपर्ने के काम छ ? बरु ठूलालाई तपाईंहरूले जस्तो नाम लिएर बोलायो भने त कस्तो छाडा रहेछ, अनुशासन नभएको, आमाबाबुले किन यस्तो बनाएको होला भन्छन् ।’ हाम्रो धर्म, संस्कृति भन्छ, ‘सम्पूर्ण मानवजाति हामी एकै परिवारका हौँ, एकै पिताका सन्तान हौँ । कसैलाई दुःख, आपद पर्दा आफूले सकेको सहयोग गर, नसके मीठो बोली वचनले दुखेको घाउमा मलम लगाऊ ।’ मीठो बोली वचन, मीठो सम्बोधनले आत्मीयता बढाउँछ ।
वाइरन, लुसी दुवैलाई यो भावना अथवा यस्तो रीतिरिवाज राम्रो लाग्छ र भन्छन्, हामीमा यस्तो चलन कहिले आउला र ! आज हामीले नयाँ कुरा सुन्यौँ, साह्रै घत लाग्यो । धन्यवाद उमा ! सके हामी पनि यो रीतिरिवाज अपनाउँने छौँ, तर हामीले मात्र गरेर हाम्रो यति विशाल समुदायमा के परिवर्तन ल्याउन सकौँला र ! तैपनि तपाईंहरूको अर्थात् नेपाली चलन र रीतिरिवाजको हृदयदेखि नै प्रशंसा गर्दछौँ । जय नेपाली !

म्हेपी, काठमाडौं। 

नोट : प्रा.डा.गार्गी  जनस्तरबाट विद्वत्‌रत्न को उपाधिले विभूषित हुनुहुन्छ। 

प्रतिक्रिया दिनुहोस्: