कविता

प्रेम

२७ जेष्ठ २०८२
Radhadevi Pandey
राधादेवी पाण्डे

तिम्रो दिलको कुनाभित्र अटाउँला
तारे भीर पार गरी ठूलो रोड जाउँला
मीठो पिठो जे भए नि राम्रै गरी लिउँला
ईश्वर कृपा खुशी तिमीलाई दिउला । १ ।

बिहानी को मिर्मिरेमा तिम्रै पाउ परी
प्रेमको थुप्रो समालेर राखी मुटुभरि
भगवान्‌को बास थियो यो मेरो शिर
सुर्य–चन्द्र जस्तै मानी शिरोपर धरी । २ ।

मेरो मुटु भूल अब राख राम्रो गरी
वैरी आई लैजान्छ कि त्यै खरानी पारी
भित्री भाव देखिँदैन फिता नापेसरी
भेल आयो खोला पर्खी जाउँला म तरी । ३ ।

प्रेम माया के हो यसलाई मनन् गरी
यसको गुण दोष हुन्छ भन मेरो हरि
बुभ्‌mनै कठिन छ है धेरै अलमल परी
किन आउँछ वैशाख–जेष्ठ अनि चर्को हुरी । ४ ।

गोङ्गबुँ गणेशस्थान, काठमाडौं। 

प्रतिक्रिया दिनुहोस्: