लघुकथा

विपत्ति

३२ जेष्ठ २०८२
भूमिका गैरे तिमिल्सिना

‘मनसुनी वर्षा सुरु भएसँगै प्रकृतिको वितण्डा पनि सुरू भयो । कहाँ कहाँ, के के हुने हो ? यो वर्ष पनि के के सुन्नुपर्ने हो ?’ बूढाले भने ।
मैले दिक्क मान्दै भनेँ, ‘तीनदिन लगातार झरी पर्छ रे ! खोलानाला, नदीको छेउछाउका घरहरूमा पानीको बहाव बढी भए सुरक्षित स्थानमा जानू र सतर्क रहनू भनेर समाचारले फुकी राखेको छ । झरी परेको बेला मौका छोपेर कतै पाखो बारीमा रोपाइँ गर्दै छन् भने कतै बिजोग भएको छ ।’
बूढाले चिन्ता व्यक्त गरे, ‘अरूको के कुरा गर्छेस् ? आफ्नै हेर्न । राति पनि ढुक्कले सुत्नु छैन । भिज्ने सामानहरू कसरी हुन्छ ? बरू सुरक्षित गरौँ ।’
‘माथि खाट उल्टो बाँधेर खाद्यान्न र बिग्रने जति सामान खाटमाथि राखौँ ।’ बूढीले सुझाइन् र दुवै सामान राख्न कस्सिए ।
राति ठूलै पानी पर्‍यो । खोलो डरलाग्दो भयो । बाढी र पहिरोसँगै मिसिएर आउन थाल्यो । दुवै बूढा बूढी सुरक्षाको लागि नजिकैको विद्यालयतिर लागे ।
एकैछिनमा एउटाले खवर ल्यायो, ‘तपाईंको त घरबारी सबै पहिरोले लग्यो ।’

गैंडाकोट–४, नवलपुर। 

प्रतिक्रिया दिनुहोस्: